भर्खरै :

बक्सिङका खेलाडीहरूलाई स्वागत एवम् बधाई

बक्सिङका खेलाडीहरूलाई स्वागत एवम् बधाई

काठमाडौँ, २ पुस । यही ११ देखि १५ डिसेम्बर २०२३ सम्म पेनाङ, मलेसियामा भएको ३४ औँ पेस्टा इन्टरनेसनल बक्सिङ च्याम्पियनशीप खेलमा पदक जितेर फर्केका खेलाडीहरूलाई नेपाल बक्सिङ महासङ्घले अन्तर्राष्ट्रिय विमानस्थल गौशालामा स्वागत तथा बधाई कार्यक्रम ग¥यो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष राम अवालेले एसियन गेममा बक्सिङबाट पदक हासिल गर्न नसकेको निराशालाई यो प्रतियोगिताको पदकबाट आशा जगाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यो च्याम्पियनशीपबाट खेलाडीहरू उत्साहित हुने बताउनुभयो ।
महासङ्घका महासचिव मानबहादुर भण्डारीले कोच र व्यवस्थापकको सही छनोटले पनि मेडल हासिल गर्न सफल भएको बताउँदै नेपाल बक्सिङ महासङ्घले अन्तर्राष्ट्रिय सम्बन्धको कार्यमा महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो ।
कोषाध्यक्ष गौतम सुजखुले देशको नाम अन्तर्राष्ट्रिय जगतमा फैलाएर आएकोमा खेलाडीहरूलाई बधाई दिँदै खेलाडीहरू अनुशासित हुनुपर्ने बताउनुभयो ।
वाग्मती प्रदेश बक्सिङ सङ्घका सचिव रामकृष्ण प्रजापतिले खेलाडीहरूले देशको नाम विदेशमा उच्च राख्न सफल भएकोमा बधाई दिँदै प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा टीम व्यवस्थापक स्मृति विश्वासले पनि बोल्नुभएको थियो । कार्यक्रममा थ्री स्टार कोच एवम् एसियन मेडलिस्ट दीपक महर्जन, साफ गोल्डमेडल रामचन्द्र थापामगर, केन्द्रीय सदस्य बमबहादुर स्याङताङ र भक्तपुरका आशराम सुवालको सहभागिता थियो ।
खेलमा ५१ केजी तौलमा प्रबल उप्रेती र ५७ केजीमा छिरिङ वाङडी शेर्पाले रजक पदक, ५४ केजीमा सिंहबीर लिम्बु र शुलभ मालीले कास्य पदक हासिल गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *