भर्खरै :

विश्वको शान्ति र सुरक्षालाई खतरा

विश्वको शान्ति र सुरक्षालाई खतरा

(यसअघि रे म्यागभर्न, जेफ्री साख्स, म्याक्स ब्लुमेन्थल र ¥यान्डी क्रेडिकोले अमेरिकी सुरक्षा परिषद्लाई सम्बोधन गरिसकेका छन् । यसपालि डिसेम्बर ११ सोमबारका दिन राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई कर्नेल एन राइटले सम्बोधन गरिन् । एन राइट अमेरिकी सेनाकी पूर्वकर्नेल तथा अवकाश प्राप्त अमेरिकी कूटनीतिज्ञ हुन् । उनले द्वन्द्वग्रस्त क्षेत्रमा गरिने हतियारको पैठारी र द्वन्द्व समाधानमा त्यसले खेल्ने भूमिकाबारे बोलिन् । उनले आफ्नो मन्तव्य हाल गाजामाथि भइरहेको इजरायली बमबारीमा केन्द्रित गरेर लेखेकी थिइन् । तर, दुई घण्टाअघि नै उनलाई परिषद्को बैठक युक्रेनको विषयमा केन्द्रित रहने र उनले गाजाको विषयमा विचार राखे बैठकका अध्यक्षले उनको माइक बन्द गर्न लगाउने र बोल्ने अधिकारबाट वञ्चित गर्ने जानकारी गराइयो । उनले तत्काल आफ्नो मन्तव्यमा काँटछाँट गरिन् र बढी युक्रेनमा केन्द्रित गरिन् । बैठकमा उनले जे बोले पनि यहाँ हामी उनले तयार पारेको लिखित मन्तव्य प्रकाशित गर्दै छौँ ।)
आदरणीय अध्यक्षज्यू,
द्वन्द्वग्रस्त क्षेत्रमा हुने हतियार पैठारी तथा द्वन्द्व समाधानमा त्यसले पार्ने हानिकारक प्रभावबारे बोल्न पाउँदा म हर्षित छु ।
मैले अमेरिकी सेना र जगेडा सेनामा २९ वर्ष बिताएँ र कर्नेल पदमा छँदा अवकाश लिएँ । अमेरिकी सेनामा छँदा मैले उत्तर क्यारोलिनाको फोर्ट ब्रागस्थित जेएफके विशेष युद्धकला केन्द्रमा ‘जमिनी युद्धकला कानुन’ र ‘जेनेभा अभिसन्धि’ को विषयमा पढाएकी थिएँ । भियतनाम, लाओस, कम्बोडिया, ग्रेनाडा, पनामा र मध्य अमेरिकाका एल साल्भाडोर, होन्डुरस र निकारागुआमा अमेरिकाले युद्ध गरिरहँदा म अमेरिकी सेनामै थिएँ ।
अमेरिकी कूटनीतिज्ञको रूपमा मैले १६ वर्ष निकारागुआ, ग्रेनाडा, सोमालिया, उज्बेकिस्तान, किर्गिजस्तान, सियरा लियन, माइक्रोनेसिया र मङ्गोलियास्थित अमेरिकी दूतावासहरूमा काम गरेँ । सन् २००१ मा अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावास खोल्ने सानो टोलीमा म पनि थिएँ । पछिल्ला चार दूतावासमा म मिसनको उपप्रमुख थिएँ । सन् १९९३–१९९४ मा सोमालियाका लागि राष्ट्रसङ्घीय मिसन ‘उनोसोम’ मा म उपप्रमुख थिएँ । सोमालिया प्रहरी, न्याय र कारागार प्रणाली व्यवस्थापन गर्ने मिसनसहितको न्याय विभागकी म उपप्रमुख थिएँ ।
तर, बीस वर्षअघि अमेरिकाको इराक युद्धको विरोध गर्दै मैले २००३ मार्चमा अमेरिकी सरकारबाट राजीनामा दिएँ । किनभने, त्यस युद्धलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मान्यता दिन इन्कार गरेको थियो ।
विश्वका विभिन्न भेगका द्वन्द्वहरूसँग म परिचित छु र द्वन्द्व समाधानका लागि कूटनीतिमा भन्दा सैन्य प्रयासहरूमा भर पर्नु निम्छरो सोच हो । यो कुरा साबित गर्न पनि मैले यहाँ आफ्नो पृष्ठभूमि बताउनुप¥यो ।
म अमेरिकी सेनाकी पूर्वकर्नेल र पूर्वअमेरिकी कूटनीतिज्ञ मात्र होइन । आज अमेरिकी नागरिकको रूपमा पनि बोल्छु किनभने म सचेत अमेरिकी नागरिक हुँ । एक नागरिकको रूपमा मेरो देशले युद्ध भड्काउनका निम्ति प्रयोग र बेचबिखन गर्ने हतियारका लागि मैले कर चुक्ता गर्छु । यी हतियारले विश्वभरि सर्वसाधारणहरूलाई मार्ने गरेको मलाई हेक्का छ ।
द्वन्द्वग्रस्त क्षेत्रमा हतियार पैठारी गर्नुले द्वन्द्व समाधानमा नकारात्मक असर गरेकोमा शङ्का गर्नुपर्दैन । तथ्य त के हो भने हतियारको आपूर्तिले कुनै पनि द्वन्द्वलाई झन् लम्ब्याउने गरेको छ ।
द्वन्द्व कसरी टुङ्ग्याउने ? महत्वपूर्ण प्रश्न यो हो ।
सुरुमै बताइहालुँ, युद्ध अन्त्य गर्ने प्रक्रिया जहिल्यै युद्धविरामबाट सुरु हुन्छ । प्रक्रिया धेरै लामो हुनसक्छ । युद्धविराम नगरी प्रक्रिया चलाउँदा शान्ति सम्झौता अगाडि हजारौँ–लाखौँ सर्वसाधारणको हत्या हुनसक्छ ।
उदाहरणको लागि सन् १९५०–१९५३ को कोरिया युद्धमा सन् १९५१ देखि नै द्वन्द्वरत पक्षहरूबिच वार्ता सुरु भएको थियो । अन्तिम सम्झौता हुनुअघि ५७५ बैठकहरू बसे । सन् १९५३ मा एउटा टुङ्गोमा पुग्यो । तर सो अवधिमा उत्तर र दक्षिणका गरी ४० लाखभन्दा बढी कोरियालीहरूको ज्यान गयो । तीमध्ये कोही सैनिक र कोही सर्वसाधारण थिए । मारिनेमा ५ लाख चिनियाँ सैनिक, ३५ हजार अमेरिकी सैनिक र दसौँ हजार राष्ट्रसङ्घको सैन्य कमान्डका लडाकु थिए ।
आज पृथ्वीको अवस्था नाजुक छ । विश्वभरि मानिसहरू युक्रेनमा युद्धविरामको मागसहित दुई वर्षदेखि प्रदर्शन गर्दै छन्, गाजामा युद्धविरामको मागसहित साढे दुई महिनादेखि सडकमा छन् । उनीहरूको तर्फबाट म भन्न चाहन्छु :
रगतको होलि बन्द गर ! तत्काल युद्धविराम गर ! सम्झौता गर !
इजरायल–गाजा द्वन्द्वका यी ७० दिनमा १८ हजारभन्दा बढी प्यालेस्टिनीहरूको गाजामा हत्या भयो । ७ हजारभन्दा बढी बालबालिका र ४ हजारभन्दा बढी महिला मारिए । ६ हजारभन्दा बढी अझै पनि भग्नावशेषले पुरिएको अनुमान छ । ४३ हजार मानिसहरू घाइते छन् । पश्चिम किनारामा २६० भन्दा बढी प्यालेस्टिनीहरू मारिए भने ३,३६५ जना घाइते भए । हजारौँ पश्चिम किनारावासीहरूलाई पक्राउ गरिएको छ । उनीहरूलाई अमानवीय र अपमानजनक दुव्र्यवहार गरिएको छ ।
अक्टोबर ७ मा हमासले गरेको भयावह आक्रमण तथा तत्पश्चात्को गाजामाथिको इजरायली जमिनी आक्रमणको सिलसिलामा इजरायलीहरू मारिए । इजरायली सेनाका अनुसार इजरायलमा १,१४७ सर्वसाधारण र ४१८ सैनिक मारिएका थिए । इजरायली सेनालाई हमासले हमला गर्ने कुरा थाहा थियो र जानाजान उसले प्रतिरोध नगरेको अहिले हामीलाई थाहा भइसकेको छ ।
यस युद्धमा एकचोटि मात्र ६ दिने युद्धविराम गरिएको छ । युद्धबन्दी र प्यालेस्टिनी नाबालक कैदीहरू साटासाट गर्नका लागि युद्धविराम भयो । ती प्यालेस्टिनीहरूलाई बिना अभियोग कैदमा राखिएको थियो ।
छोटो समयका लागि गरिएको अस्थायी युद्धविरामका कारण गाजाको यातनागृहमा अलिकति औषधि, राहत र खाद्यान्नको आपूर्ति भयो । इजरायलले गाजावासीहरूलाई गाजाको एकतिहाइ भूभागमा विस्थापित हुन आदेश दिएको छ । ती २३ लाख जनताको लागि (राष्ट्रसङ्घको) राहत हात्तीको मुखमा जिरा थियो । विश्व स्वास्थ्य सङ्गठनले प्यालेस्टिनीहरू भोकभोकै बसिरहेको बताएको छ । इजरायलले गाजाका २३ लाख जनतामध्ये १० प्रतिशतलाई मात्र खान पुग्ने खाना आपूर्ति गर्न दियो । इजरायलले सन् २००६ मा जस्तै गाजावासीहरूलाई भोकै राखेको छ । सन् २००६ मा इजरायलले गाजामा आपूर्ति हुने आहारको क्यालोरी सीमित गरेर ‘गाजालाई डाइटमा राखेको’ बताएको थियो र बदनामी कमाएको थियो । त्यसको लागि पास्ता, आटा, मर्चा, चामल, नुन, चिनी, चना, मुङ, राज्मा, जैतुन, सिद्रा र धुलो दूध आदिको आपूर्तिमा इजरायलले रोक लगाएको थियो ।
साबुन, स्याम्पु, मञ्जन, टोइलेट पेपर, महिलाका स्वास्थ्य सामग्री, डाइपर, बालबालिकाले गर्ने सरसफाइका सामग्री, डिटर्जेन्ट र भाँडा माझ्ने साबुनको आपूर्तिमा पनि बन्देज लगाइएको थियो ।
सन् २०१२ मा ‘सेभ द चिल्ड्रेन’ र बेलायती संस्था ‘प्यालेस्टिनीहरूलाई मेडिकल सहायता’ ले एउटा संयुक्त प्रतिवेदन सार्वजनिक गरे । उक्त प्रतिवेदनले जनाएअनुसार गाजामाथिको इजरायलको दीर्घकालीन कब्जा र नाकाबन्दीबाट उत्पन्न बाल कुपोषणकै कारण ५ वर्षमुनिका १० प्रतिशत बालबालिकाको शारीरिक वृद्धिमा अवरोध पुगेको थियो । सोही अध्ययनअनुसार गाजाका ५८.६ प्रतिशत स्कुले बालबालिकामा रक्तअल्पता थियो । १२ महिनादेखि ९ वर्षसम्मका ६८ प्रतिशत बालबालिका तथा ३७ प्रतिशत गर्भवती महिला पनि रक्तअल्पताको शिकार थिए ।
गाजामा प्यालेस्टिनीहरूका लागि कतै पनि सुरक्षित स्थल बचेको छैन । इजरायलले जताततैबम, रकेट र अन्य हतियार प्रहार गर्दै छ । यी हतियार संरा अमेरिकाले त्यहाँ पठाएको हो ।
हमासलाई नष्ट गर्ने नाममा गाजाका सर्वसाधारणलाई तारो बनाउनु र मेडिकल, शैक्षिक, आवासीय र व्यापारिक क्षेत्रहरूलाई ध्वस्त पार्नु नरसंहारको मानक नमुना हो । यो कार्य तुरुन्तै रोकिनुपर्छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले बडापत्रको ९९ सयौँ धारा प्रयोग गरेर चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “इजरायली प्रतिरक्षा बलको निरन्तरको बमबारी तथा बासलगायत जीवनयापनका अन्य अत्यावश्यक सामानको अभावमा मलाई लाग्छ, छिट्टै समाज व्यवस्था पूर्ण रूपमा नष्ट हुनेछ । त्यसले गर्दा सीमित मानवीय सहयोग उपलब्ध गराउनसमेत असम्भव हुन जानेछ ।” उहाँले सम्भावित महामारीको पनि चेतावनी दिनुभयो ।
गत साता अमेरिकी विदेशमन्त्री ब्लिङकेनले गाजामा “सर्वसाधारणलाई बचाउने सोच र हामीले मैदानमा देखिएको वास्तविक परिणाममा… खाडल रहेको” बताए । तैपनि शुक्रबार (डिसेम्बर ८) यही कोठामा संरा अमेरिकाले गाजाका सर्वसाधारणलाई जोगाउने उद्देश्यले मानवीय युद्धविरामको गराउन लागि बसेको सुरक्षा परिषद्को बैठकमा संरा अमेरिकाले विरोधमा विशेषाधिकार प्रयोग ग¥यो । त्यो विशेषाधिकारको बचाउ गर्न सकिन्न । त्यो गलत थियो ।
गाजामा युद्धविरामको लागि भएको पहलमा अमेरिकी विशेषाधिकार एउटा नैतिक पराजय र खतरनाक चाल थियो । त्यस विशेषाधिकारले इजरायलले गाजामा गरिरहेको प्यालेस्टिनीहरूको नरसंहारलाई निरन्तरता दिने माहोल बनायो ।
अमेरिकी सरकारले प्रयोग गरेको विशेषाधिकारमा अमेरिकी नागरिकहरूको धारणा प्रतिबिम्बित भएको छैन । अमेरिकी नागरिकहरू गाजाको नरहत्या रोक्न चाहन्छन् । गाजामा इजरायलले गरिरहेको प्यालेस्टिनीहरूको नरसंहारमा संरक्षण र सहयोग दिइरहेको बाइडेन सरकारको रवैया अमेरिकी जनताको भावनासँग मिल्दैन ।
अमेरिकी सरकार इजरायल र आफ्नो मूल्यमान्यता एउटै भएको बताउँछ ।
अस्पताल, विद्यालय, विश्वविद्यालय, आवास क्षेत्र, खानेपानीको आपूर्ति, विद्युत् सञ्जाल, ढल निकासीमाथि बमबारी गर्नु अमेरिकी मूल्यमान्यताभित्र पर्दैन । जीवितहरूलाई अपमान गरेर ७५ प्रतिशतभन्दा बढी गाजावासीहरूलाई आफ्नो घरमा फर्किनै असम्भव पार्ने यस्तो व्यवहार अमेरिकी मूल्य होइन । गाजा यातनागृहमा चलिरहेको नरसंहार अमेरिकी मूल्यमान्यता होइन । अमेरिकी संसद्लाई नै छलेर प्यालेस्टिनी सर्वसाधारणमाथि गरिने बमबारीका लागि साढे १० करोड डलरको विनाशकारी गोलाबारुद इजरायल पठाउनु अमेरिकी मूल्यमान्यताभित्र पर्दैन । (अमेरिकी सरकारले हालै मात्र १३,९८१ वटा ट्याङ्कका विस्फोटक गोली इजरायल पठाउँदै छ ।
अमेरिकी सरकार, राष्ट्रपति, ह्वाइट हाउस प्रशासन, विदेश मन्त्रालय, सांसदहरूले एक हदसम्म सबैलाई ‘आत्मरक्षा’ को अधिकार छ भन्ने बिर्सेजस्तो देखिन्छ । इजरायललाई मात्र यो शब्द प्रयोग गर्ने अधिकार छैन ।
७५ वर्षदेखिको कब्जा, नाकाबन्दी, लुटपाट, एक्ल्याइ, जमिनको खोसाइ; घर, अस्पताल, विश्वविद्यालय, विद्यालयमाथिको बमबारी एवम् बिना कसुरजेल चलान जस्ता कार्यको विरोधमा प्यालेस्टिनी जनतालाई आत्मरक्षाको अधिकार छ ।
मेरो विचार यहुदीविरोधी होइन । बरु इजरायली सरकार तथा मेरो आफ्नै अमेरिकी सरकारका गतिविधिको तथ्यपरक बुझाइ हो । यो यहुदीहरूको विरोध होइन । बरु गाजा र पश्चिम किनारमा इजरायल र संरा अमेरिकाले प्यालेस्टिनी जनताविरुद्ध गरिरहेका आपराधिक गतिविधिको नालिबेली हो ।
आज संरा अमेरिकाले विश्वका दुई मुख्य द्वन्द्वमा हतियार पठाइरहेको छ । एउटा इजरायल–गाजामा र अर्को रुस–युक्रेन द्वन्द्वमा । अमेरिकाले इजरायली सेनालाई प्रतिवर्ष ३ अर्ब ८० करोड डलर बराबरको सहयोग गर्दै आएको छ । बाइडेन सरकारले अमेरिकी संसद्समक्ष फेरि १४ अर्ब डलरको सहयोग अनुमोदन गर्न भनेको छ । ती बमलाई गाजाका सर्वसाधारणमाथि नखसाल्नु भनेको देखिन्न ।
२०२३ डिसेम्बर ७ मा नयाँ बेलायती विदेशमन्त्री डेभिड क्यामरुनसँगको एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अमेरिकी विदेशमन्त्री टोनी ब्लिङ्केनले विगत दुई वर्षमा संरा अमेरिकाले युक्रेनलाई ७० अर्ब डलरको सहयोग दिएको र अन्य युरोपेली देशहरूले ११० अर्ब डलर दिएको बताए । बाइडेनले भने, “युक्रेनको प्रतिरक्षामा हामीले गरेको लगानी हेर्नुहुन्छ भने हामीले दिएको रक्षा सहायताको ९० प्रतिशत संरा अमेरिकामै हाम्रा उद्योगीहरूले खर्च गरेका छन् । हाम्रो उत्पादन कार्यमा खर्च भएको यो रकमले अमेरिकामा रोजगारी सिर्जना भएको छ, हाम्रो अर्थतन्त्रमा वृद्धि आएको छ । त्यसैले यो पनि एउटा जीत–जीतको अवस्था हो । यसलाई हामीले अझै अघि बढाउनुपर्छ ।”
वास्तवमा यो द्वन्द्वग्रस्त क्षेत्रका सर्वसाधारणको निम्ति ‘जीत–जीत’ होइन । अमेरिकी सैन्य–उद्योग गिरोहका लागि, नेता र अवकास लिएपछि हतियार उद्योगहरूका वरिष्ठ पदहरू खाने अवकास प्राप्त सरकारी अधिकारीहरूका लागि जीत–जीत हो !
अन्त्यमा म एउटा कविता वाचन गर्छु । गाजाका अभिभावकहरू अहिले आफ्ना छोराछोरीका खुट्टाहरूमा तिनको नाम लेख्न विवश छन् । इजरायली बमबारीमा परेर मृत्यु भएको खण्डमा पहिचानका लागि उनीहरू शरीरमा नाम लेखिरहेका छन् । कविताले गाजावासीहरूको यही दुःख अभिव्यक्त गरेको छ ।
हुन त यो कविता गाजाका बालबालिकाको लागि लेखिएको हो । तर मैले देखेका सबै द्वन्द्वग्रस्त क्षेत्रका बालबालिकाको स्थिति पनि योभन्दा फरक छैन ।
…………………….
मेरो खुट्टामा मेरो नाम लेख्नू आमा
– जीना अजाम

मेरो खुट्टामा मेरो नाम लेख्नू आमा
कालो पर्मनेन्ट मार्करले लेख्नू
पानी परे पनि त्यसको मसी बग्दैन
मेरो खुट्टामा मेरो नाम लेख्नू आमा
भाइबहिनी–दाइदिदीको खुट्टामा पनि लेख्नू
अनि मात्र हामी एक हुनेछौँ
सबैजना तपाईँका छोराछोरी हुनेछौँ
मेरो खुट्टामा मेरो नाम लेख्नू आमा
बमले हाम्रो घर भत्के पनि
पर्खालले हाम्रो हड्डी र टाउको फोरे पनि
हाम्रा खुट्टाहरूले हाम्रो कथा बताउनेछन्
‘भाग्नलाई कतै ठाउँ थिएन’ भन्नेछन् ।

शान्तिपूर्ण र सुरक्षित वातावरणमा बाँच्न चाहने विश्वका सम्पूर्ण मानिसहरूको तर्फबाट म फेरि भन्छु :
रगतको होली खेल्न बन्द गर !
तत्काल युद्धविराम गर !
निःशस्त्रीकरणको लागि सम्झौता गर !
धन्यवाद !

स्रोत : पिस एन्ड प्लानेट न्युज 
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *