भर्खरै :

नेपालको वायु सेवामा कुन कुन देशको दादागिरी !

नेपालको वायु सेवामा कुन कुन देशको दादागिरी !

काठमाडौँ, ४ पुस । प्रतिनिधिसभाअन्तर्गतको परराष्ट्र सम्बन्ध तथा पर्यटन समितिको कार्य सम्पादन सहजीकरण उपसमितिको बुधबार बैठक बस्यो ।
बैठकमा युरोपेली सङ्घका देशहरूले नागरिक उड्डयन प्राधिकरणलाई कालोसूचीमा राखेर नेपालका हवाईजहाज र हेलिकप्टरसमेत उडानमा रोक लगाएको बारे छलफल भयो ।
बैठकमा आमन्त्रित सुगतरत्न कंसाकारले आफू नेपाल वायु सेवा निगममा ४ वर्ष महाप्रबन्धक, ६ वर्ष कार्यकारी अध्यक्ष र ४ वर्ष नागरिक उड्डयन प्राधिकरणको बोर्ड सदस्य भएको उल्लेख गर्दै युरोपमा उडाउन दुई वटा वाइडबडी जहाज खरिद भएलगत्तै युरोपेली सङ्घले नेपालको वायु सेवालाई कालोसूचीमा राखेको बताउनुभयो ।
नेपाली सेनाको पूर्वउपरथी तथा इन्जिनियर दीपकप्रकाश बास्कोटाले आफूले हवाई सुरक्षामा विद्यावारिधी गरेको उल्लेख गर्दै सरकारको हवाई सुरक्षा नीति नहुँदा युरोपेली सङ्घले कालोसूचीमा राखेको बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरणका बोर्ड सदस्य ई. अच्युतराज पहाडीले नेपाल वायु सेवा निगमलाई आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुई निकायमा विभाजन गर्नुपर्ने उल्लेख गर्दै विमान दुर्घटनाको छानबिन रिपोर्ट सार्वजनिक नभएको बताउनुभयो ।
३७ वर्ष पाइलट भएर २० हजार घण्टा हवाईजहाल उडाएका वरिष्ठ पाइलट युवराजकुमार भट्टराईले नेपालको वायु सेवालाई कालोसूचीमा राखेको युरोपेली सङ्घको दादागिरी भएको उल्लेख गर्नुभयो ।
अवकाश प्राप्त वरिष्ठ पाइलट दीपक शेरचनले भैरहवा विमानस्थलमा हवाई उडानको लागि इन्डियाले अनुमति नदिएको सुरक्षासम्बन्धी विषयमात्र नभएको नेपाललाई आफ्नो कब्जामा राख्ने नियत भएको उल्लेख गर्नुभयो ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सल्लाहकार भएका अरूण सुवेदीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईसीएओ) को रिपोर्टमा नेपालको नागरिक उड्डयन प्राधिकरणलाई नियमन र सुरक्षा गरी दुई भागमा विभाजन गर्ने व्यवस्था भएको उल्लेख गर्दै साम्राज्यवादी शक्तिले दादागिरी गर्नु स्वाभाविक भएको बताउनुभयो ।
नेपालको वायु सेवाबारे जानकार व्यक्तिहरूको विचार सुनेपछि सांसदहरूबिच १० वर्षसम्म युरोपेली सङ्घको कालोसूचीबाट नेपाल वायु सेवालाई बाहिर निकाल्न नसकेका प्रम, उड्डयनमन्त्री र सचिवहरू नै दोषी भएको चर्चा भयो । यसबाट अन्य कतिपय देशमा जस्तै नेपालमा पनि अमेरिकी र युरोपेली साम्राज्यवाद तथा भारतीय विस्तारवादको दादागिरी कायम भएको स्पष्ट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *