भर्खरै :

मजदुर–किसान हित कोषको प्रथम वार्षिकोत्सव

मजदुर–किसान हित कोषको प्रथम वार्षिकोत्सव

भक्तपुर, ७ पुस । “जनताको चेतनास्तर माथि नउठेसम्म भ्रष्ट, नैतिकहीन, देशद्रोही नेताहरू चुनावमा जितिरहेसम्म देश हारिरहनेछ । यसर्थ सम्पूर्ण कार्यकर्ताहरू पार्टी सङ्गठन विकास र विस्तारमा इमानदारीपूर्वक लाग्नुपर्छ ।”
उक्त भनाइ नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले मजदुर–किसान हित कोष, सूर्यविनायक –८ सिपाडोलको प्रथम वार्षिकोत्सव कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
शनिबार भएको उक्त कार्यक्रममा उहाँले जसरी हातहतियारको व्यापार गरेर आफ्नो अर्थतन्त्र धानेको संरा अमेरिकाले आफू बाँच्न विश्वमा अशान्ति, युद्ध र द्वन्द्व निम्त्याइरहेको छ त्यसरी नै नेपालका शासकहरू बाँच्नकै निम्ति जसरी पनि निर्वाचन जित्ने र सोको निम्ति तल्लोभन्दा तल्लो स्तरका हर्कत गरिरहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय परिस्थितिबारे उहाँले भन्नुभयो, “प्यालेस्टिनमा रहेको तेलखानी कब्जा गर्ने निहित स्वार्थ पूरा गर्न युद्धपिपासु संरा अमेरिकाले इजरायललाई मोहडा बनाएर प्यालेस्टिनमा बर्बर अमानवीय युद्ध र आक्रमण गराउँदै आएको छ । यो नरसंहारविरूद्ध विश्वका सम्पूर्ण न्यायप्रेमी जनताले विरोधको आवाज बुलन्द गर्नुपर्छ ।”
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले कुनै पनि पार्टीको नाम कम्युनिस्ट राख्दैमा साँचो अर्थमा कम्युनिस्ट नहुने भएकोले उसको आचरण र व्यवहारको कसीमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाले स्थापनाकालदेखि कम्युनिस्ट सिद्धान्तलाई व्यवहारमा अँगाल्दै देश र जनताको पक्षमा सडकदेखि सदनसम्म निरन्तर अग्रमोर्चामा रहेर सङ्घर्ष गर्दै आएको तथ्य प्रस्ट पार्नुभयो ।
मजदुर किसान हित कोषका अध्यक्ष श्यामसुन्दर सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोषका रोशन मचामसी, कृष्णप्रसाद बाटी र केदार कवांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *