भर्खरै :

उज्यालो नेपाल बन्ला र !

हरेक सरकार प्रमुखहरूले देशमा आकर्षक नारा फलाकेर जनताको विश्वास जित्ने प्रयास गर्छन् । तर, शासकहरूको त्यो आकर्षक नारा भनाइमा मात्र सीमित हुन्छ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व बैङ्क, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा बनेको केभी इनरूवा सबस्टेसनको उद्घाटन गर्दै आगामी डेढ वर्षमा नेपालका सम्पूर्ण बस्तीलाई उज्यालो बनाउने या बत्ती पु¥याउने विश्वास व्यक्त गरे । देशभरि उज्यालो पु¥याउने कुरा राम्रो हो, पु¥याउन सके देश र जनताको निम्ति फाइदा नै हुन्छ । तर, उनले त्यो विश्वास दिलाउनुअघि देशभरि बत्ती पु¥याउन के कति मेगावाट बिजुली चाहिन्छ ? त्यो कहिले कुन कुन योजनाबाट आपूर्ति हुन्छ ? त्यसको अनुसन्धान, खोजीनीति भएको हो कि होइन भन्ने कुरा थाहा पाउनुपर्छ । बिनाआधार, बिनायोजना देशभरि बत्ती पु¥याउँछु भनेर पुग्ने होइन । यस्ता आश्वासन प्रधानमन्त्री र शासकहरूले पहिले पनि बाँडेका थिए, तर पूरा भएन । यस्ता सबै सपना आकाशको फल आँखा तरी मर भनेझैँ भयो ।
नेपाल सरकारले केही वर्षअघि नै साक्षर मुलुक बनाउने घोषणा गरेको थियो । तर, अहिलेसम्म नेपाल साक्षर मुलुक बनेको छैन । नेपालजस्तै सानो देश प्रजातान्त्रिक जनगणतन्त्र कोरिया बुद्धिजीवीकरण गर्ने अभियानमा छ । सरकार प्रमुखहरूले आश्वासनमात्र बाँडेर जनतालाई धोका दिने होइन काम पनि गर्नुपर्छ । अनि मात्र सरकारप्रति जनताको विश्वास हुन्छ । केपी ओलीले प्रम भएको बेला ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न’ भनी भ्रष्टाचारमुक्त देश बनाउने सपना बाँडेका थिए । तर, भ्रष्टाचार रोक्न सकिएन । बरू एमालेकै नेता र मन्त्रीहरू भ्रष्टाचारमा फसे, मन्त्रीहरू जेलमा कोचिए, भ्रष्टाचार या अनियमितताको आरोपमा मन्त्रीले आफ्नो पदबाट राजीनामा दिए । शासक र ठुला दलका नेता, मन्त्री सांसदहरू भ्रष्टाचारमा फसेकै कारण ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई भ्रष्टाचारको सूचीमा राख्यो । नेपाल भ्रष्टाचारको देश भनेर बदनाम भयो । अनि देश कसरी भ्रष्टाचारमुक्त देश बन्छ ?
एक समय नेकाका नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाललाई सिङ्गापुर या विकसित देश बनाउने सपना बाँडे । त्यो सपना बाँडेको दुई दशकमा पनि नेपाल विकासशील देश पनि बनेन । एक समय विद्वानहरूको भेलामा देश वैज्ञानिकहरूको युगमा प्रवेश गरेको उद्घोष पनि शासकहरूले गरेका थिए । तर, व्यवहारतः देश वैज्ञानिक युगमा प्रवेश भएन । देशका शासकहरूले शोषणरहित समाज स्थापना गर्ने कुरा पनि उठाए । त्यो उद्घोष पनि अधुरो र अपुरो भयो । देशमा संसारकै सबभन्दा प्रजातान्त्रिक संविधान बनेको उद्घोष पनि शासकहरूले गरे । संविधानसभाले बनाएको यो पुँजीवादी संविधान के कारणले संसारकै उत्कृष्ट रह्यो ? सरकारले पुस्टि गर्न सकेन ।
प्रम दाहालकै पालामा पहिले दिनको १८ घण्टासम्म लोडसेडिङ भएको थियो । त्यसबेला देशै अन्धकार भएको थियो । कतिलाई लागेको थियो, देशमा अन्धकार युग सुरू भयो । सिङ्गापुर बनाउने सपना त कता हो कता संसारकै गरिब मुलुक बन्यो । साक्षर पनि नबनेको नेपाल कसरी वैज्ञानिकहरूको युग बन्ला ? देश शोषणरहित होइन शोषणसहितको समाज बन्यो । भ्रष्टाचारमुक्त देश होइन बढी भ्रष्टाचार भएको देश बन्यो । पुँजीवादी संविधान संसारकै उत्कृष्ट संविधान कसरी बन्छ ? वायु सेवा निगम युरोपेली युनियनको कालोसूचीमा छ । देशमा भ्रष्टाचार र अनियमितताको काण्डै काण्डको थुप्रो छ । यसरी बेथितिको थुप्रो रहेको देशमा सरकारको सुशासन, न्याय, प्रजातन्त्र, स्वतन्त्रता र विधिको शासन कुहिरोको काग बनेको छ । शासकहरूका मीठा मीठा र आकर्षक भनाइहरू फुस्रो र खोक्रो साबित भएका छन् । अतः देश कुनै शासक या नेताले फुकेर होइन गरेर बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *