भर्खरै :

सहकारीका गतिविधिहरू जीवन र समाजसँग जोडिनुपर्नेमा जोड

सहकारीका गतिविधिहरू जीवन र समाजसँग जोडिनुपर्नेमा जोड

भक्तपुर, ८ पुस । “सहकारीहरूले सामाजिक, सांस्कृतिक, आर्थिक, सम्पदा संरक्षण, साहित्य, स्वास्थ्य आदि क्षेत्रमा सहकार्य गर्दै सामूहिक हित गर्न सक्नु नै सामाजिक पुँजी हो । यो वित्तीय पुँजीभन्दा धेरै गुणा महत्वपूर्ण हुन्छ । सहकारीले आफ्ना गतिविधिहरू जीवन र समाजसँग जोडेमा मात्र नयाँ पुस्ता आकर्षित हुनेछ र सहकारीले समाजमा जरा टेक्न सक्षम हुन्छ ।
उक्त विचार वाग्मती प्रदेश सांसद तथा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नीलबाराही बचत तथा ऋण सहकारी संस्था लिको पच्चीसौँ वार्षिक साधारणसभामा राख्नुभएको थियो ।
उहाँले सहकारीहरूले नयाँपुस्तालाई अबदेखि विद्यालय, कलेज, विश्वविद्यालयका रूपमा प्रशिक्षित गर्नसकेमात्रै देशमा बुढाबुढीले छोराछोरीको लास कुर्नुपर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नुभयो ।
नाफामुखी सहकारीहरू सामाजिक उत्तरदायित्वबाट पन्छिएको तथ्यलाई चिरफार गर्नुपर्नेमा जोड दिँदै उहाँले भाषा, कला, साहित्य संरक्षणमा योगदान नदिने सहकारीहरूले ठगी धन्दा चलाइरहेको कुरा स्पष्ट पार्नुभयो ।
उहाँले डलरको भाउमा आउने गिरावटसँगै साम्राज्यवादी युद्धको अन्त्य हुने र एसियाली शक्तिको उदय हुने प्रस्ट्याउनुभयो ।
उक्त कार्यक्रममा मथिनपा वडा नं ८ का अध्यक्ष रमेश थापा श्रेष्ठले युवाहरूले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु आवश्यक रहेकोमा जोड दिँदै आदर निकेतन स्थापनाले वृद्ध अवस्थाका नागरिकहरूको स्वास्थ्य सबल हुनुका साथै आत्मबल उच्च रहने विचार राख्नुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजुले सहरी क्षेत्रका सहकारीहरूले कलेज पढ्ने विद्यार्थीहरूलाई प्रलोभन दिई दैनिक पैसा उठाउन लगाउने र सदस्यहरू बढी ब्याजको लोभमा फस्नाले विकृति बढ्दै गएको बताउनुभयो ।
सञ्चालक समितिका अध्यक्ष केदार खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मथिनपा, सहकारी शाखाका प्रमुख अभयेन्द्र रंजितकार, बोडे द्योमा जगत वृद्धाश्रमका अध्यक्ष प्रेमचन्द्र अदुवा, सुरेन्द्र था श्रेष्ठ, अम्बर दली श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *