भर्खरै :

सबैले आ–आफ्नो समीक्षा गरौँ !

हरेक व्यक्ति बिहान उठेर मुख धुने वा स्नान गरेजस्तै सामाजिक र राजनैतिक व्यक्तिहरूले पनि हरेक दिन, हरेक सप्ताह, महिना र वर्षको एकपटक आत्मसमीक्षाको आवश्यकता हुन्छ । आत्मसमीक्षाको कमीले नै व्यक्ति व्यक्ति आ–आफ्ना उपलब्धि र कमी कमजोरीबारे राम्रो जानकारी राख्न नसक्दा पूर्ण सफलता प्राप्त गर्न असफल भएको अनुभव गर्दै छन् वा ५०/६० प्रतिशत पनि जीवनमा आफूले चिताएको गर्न नसकेको अनुभव गर्छन् । हीनताबोध र असफलता बोध भएका नेता, कार्यकर्ता समाजसेवी र घरका मुलीहरूकै कारण नेपाली समाजमा निराशा व्याप्त भएर एजेन्टहरूको फकाइमा लागेर विदेश लाग्दै छन् ।
समाजको भविष्यका खम्बाहरू तयार गर्ने हाम्रा विद्यालयका शिक्षकहरू र महाविद्यालयका प्राध्यापकहरूले के आफ्नो स्वार्थलाई बिर्सेर कक्षामा देश र जनताको हितबारे गम्भीर भएर कक्षा सञ्चालन गरेका छन् ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । पेसागत विषयवस्तुमा मात्रै ध्यान दिँदा समाजको भविष्यबारे बिर्सेर अध्ययन र अध्यापन गर्दा देश लथालिङ्ग भएको अनुभव गरिँदै छ ।
त्यस्तै राजनैतिक कार्यकर्ताहरूले पनि आ–आफ्ना वर्गीय र पेसागत सङ्गठनका साथीहरूको सीप र समाजबारेको कर्तव्यबारे कक्षा सञ्चालन नगर्दा भोलि नेतृत्व सम्हाल्ने युवाहरू आपसमा पद र पैसालाई प्राथमिकता दिँदै सामूहिक भावनालाई अगाडि बढाउनुभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदै जानेछन् ।
कार्यकर्ताहरूले समाज र देशको भविष्यको निम्ति आवश्यक विषयमा नेतृत्वको ध्यानलाई आकर्षित गर्नुपर्नेमा व्यक्तिगत स्वार्थलाई मात्र अगाडि लाने गर्दा नेताहरूले निश्चित कार्यकर्तालाई मात्रै बन्दोबस्त गर्नेमा ध्यान गएको प्रस्ट हुन्छ । प्रधानमन्त्रीदेखि नगरका मेयर, गाउँपालिकाका वडा अध्यक्षसम्मको ध्यान आ–आफ्ना नातागोता र व्यक्ति व्यक्तिको पद र पैसाको विषयमा ध्यान दिएको मानिसहरू अनुभव गर्दै छन् । समाज र देशको व्यापक हितबारे सोच्ने काम पछि परेको देखिन्छ ।
एउटा अनुभवले बताउँछ, काठमाडौँ उपत्यकाका विद्यार्थीभन्दा बाहिरी जिल्लाबाट काठमाडौँ पढ्ने विद्यार्थीहरू बढी मेहनती देखिन्छन् । उपत्यकामा पनि सहरमा बस्नेहरू भन्दा काँठ–काँठमा बस्नेहरू बढी मेहनती देखिन्छन् । यही कुरो अध्ययन र अध्यापनमा पनि लागु हुन्छ । यसकारण, नगरका हरेक परिवार पुरानै सामाजिक झमेलामा जेलिएको हुँदा तुलनात्मकरूपले कम सक्रिय छन् कि भन्नेबारे बरोबर छलफल हुन्छ ।
विद्यार्थीहरू बोर्डिङ वा छात्रावासमा राखे परीक्षा फल राम्रो हुन्छ । सिपाहीहरूलाई ब्यारेकमा राखेर देशको रक्षाको मामलामा बढी सक्षम र योग्य भएजस्तै मन्त्री, सचिवहरू एवं सिंहदरबारका माथिल्ला कर्मचारीहरूलाई पनि परिवारभन्दा फरक निवास र आवासहरूको बन्दोबस्त भएको खण्डमा देश र जनताको काम बढी हुने र भ्रष्टाचार धेरै अंशमा नियन्त्रण हुने देखिन्छ । अनेक देशमा यस्तो बन्दोबस्त सुनिन्छ जुन देश हाम्रो भन्दा स्वच्छ र विकासउन्मुख छ ।
त्यस्तै जनस्तर र कार्यकर्ता स्तरमा पनि नयाँ ढङ्गले सोच्नुपर्ने र व्यवहारमा लागू गर्नुपर्ने देखिन्छ । सुनिन्छ कतिले दसौँ वर्ष कमाएका धनसम्पत्ति एउटै सामाजिक कार्य एवम् बिहाबारी आदिमा खर्च गर्छन्, भोजभतेर र अनेक अन्धविश्वासमा अनावश्यक खर्च गर्छन् । गाउँ, टोल, क्षेत्र वा इलाकामा वर्षको एकपटक सबै जोडीको विवाह समाजले नै गर्ने बन्दोबस्त गरेमा कसो होला भनी छलफल बरोबर हुन्छ । सामान्य खानामै एक दुइटा नयाँ परिकार थप्दा भोज भइहाल्यो भन्ने विचार पनि अनौपचारिकरूपमा चिन्तनमनन हुन्छ । त्यस्तै क्रिसमस जस्तो धार्मिक कार्यमा ‘त्यो के हो’ भन्नेबारे केही नबुझेका मानिसहरूलाई बिदा दिएर के फाइदा ? कार्यालयमा गए काम सकिनेमा बेकारमा, बाधा व्यवधान भयो भन्ने पनि छन् । यस्ता विषयमा हुने चर्चा, परिचर्चा र समीक्षाले फजुल खर्च घट्नेछ । छात्रछात्राहरूको पढाइमा बाधा हुँदैन, मुद्दा मामिला छिटो हुँदा जनताले छिटो न्याय पाउनेछन् ।
हो, व्यापारीवर्गलाई आर्थिक लाभ हुन्छ । भन्सार लाग्ने वस्तुहरूबाट सरकारको आम्दानी बढ्छ । तर, एक दिनको सरकारी बिदाले करोड होइन अर्बौँ रुपैयाँ खेर जान्छ । यस्ता विषयमा समाज र सरकारको ध्यान जानु हितकर हुन्छ । सबैले सोचौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *