भर्खरै :

सन्दर्भ : माओ त्सेतुङ जन्म दिवस – चिनियाँ साहित्य र माओ त्सेतुङ

सन्दर्भ : माओ त्सेतुङ जन्म दिवस – चिनियाँ साहित्य र माओ त्सेतुङ

नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका धेरैले सम्झने दिन हो, २६ डिसेम्बर । चिनियाँ क्रान्तिका शीर्षस्थ नेता माओ त्सेतुङको जन्मदिनमा नेपालमा पनि विभिन्न गतिविधि हुने गर्छ । सानो छँदा शिक्षकहरूले माओको ‘सन्तोष अध्ययनको शत्रु हो’ भन्ने भनाइ राख्दै पढाइमा ध्यान दिन जोड दिनुहुन्थ्यो । राजनीतिक कक्षाहरूमा सहभागी हुँदा ‘क्रान्तिकारीहरूको मृत्यु पहाडजत्तिकै ग¥हौँ हुन्छ भने प्रतिक्रियावादीहरूको मृत्यु प्वाँखभन्दा हलुका हुन्छ,’ ‘प्रतिक्रियावादीहरूले इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्न जतिसुकै प्रयास गरे पनि क्रान्तिले विजय पाइछाड्छ’ जस्ता माओका भनाइ पनि सुन्न थाल्यौँ ।
माओको नाम पढ्न नजान्दै मैले माओको तस्बिर देखेँहुँला ! मेरा मामाघरका भित्ताहरूमा विभिन्न देवीदेवताका तस्बिर झुन्ड्याइएका हुन्थे । तर, आफ्नो घरको बैठक (चोटा) मा माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङका तस्बिरहरू झुन्ड्याइएका हुन्थे । ती तस्बिरको लहरमा माओको तस्बिर पाँचौँ स्थानमा किन राखिएको होला भन्ने जिज्ञासा हुन्थ्यो । तस्बिरको सिरानमा लेखिएको ‘सर्वहारावर्गका महान् गुरु’ भन्ने पढ्न जान्ने भएपछि पनि सर्वहारावर्ग भन्नुको अर्थ बुझिन्नथ्यो, गुरुको अर्थ शिक्षक हो भन्ने थाहा भएर पनि ती कसरी गुरु भए भनी गम खाएर बसेका धमिला सम्झनाहरू मानसपटलमा आज पनि सल्बलाइरहन्छन् । ती गुरुहरूले कुन विद्यालय पढाउने होलान् भन्ने जिज्ञासा हुन्थ्यो । ‘हामी कम्युनिस्ट पार्टीको पक्षमा हौँ’ भन्ने आमाको मुखबाट सुने तापनि कम्युनिस्टको साङ्गोपाङ्गो अर्थ आमालाई पनि थाहा थिएन । आमाबाटै कम्युनिस्ट भनेका असल चरित्रका मानिस हुन्छन् भन्नेसम्म थाहा भयो । आमालाई माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ गरिबका पक्षपाती भन्नेसम्म थाहा थियो । एउटा नाबालकलाई आफ्नी आमाले जानेकोभन्दा बढी थाहा हुने कुरो पनि भएन ।
विक्रमको ३० को दशकको अन्त्यतिरको कुरा ! घरमा हिन्दी भाषाका ‘चीन–सचित्र’ का विभिन्न अङ्क राखिएका थिए । ‘चीन–सचित्र’ मा चीनको क्रान्तिपछि भएका विकास तथा अनेक निर्माणका रङ्गिन तस्बिरसहित समाचार प्रस्तुत गरिएको हुन्थ्यो । त्यो पत्रिका आकारमा आजकालका ‘ट्याब्लोइड’ साइजको तर ४०–५० पृष्ठको हुन्थ्यो । ती तस्बिरमा माओ त्सेतुङ पनि हुन्थे । फराकिलो ललाट भएका र विशेष सुटमा सजिएका माओ औधी आकर्षक लाग्थे ।
‘चम्किलो रातो तारा’
म एघार–बा¥ह वर्षको थिएँ हुँला । एकदिन घरको दराजमा राखिएको एउटा पुस्तकमा मेरो आँखा प¥यो । पाठ्यपुस्तकबाहेक अरू पुस्तक पढ्नुपर्छ भन्ने पनि थाहा नभएको बेला थियो । पुस्तकका केही पाना पढेपछि छोड्नै मन लागेन । अचम्म ! पुस्तकले मलाई फलामलाई चुम्बकले तानेझैँ तान्यो । पाठ्यपुस्तक पढ्दा त्यस्तो हुन्थेन त ! त्यो ली सि – तियानको ‘चम्किलो रातो तारा’ नामको पुस्तक थियो । आज सम्झँदा त्यस बालोपन्यासको बालपात्र तुङ चसँगै चिनियाँ क्रान्तिको इतिहासको पहिलो पाठ पढेको अनुभव हुन्छ । गाउँको जमिनदारबाट नृशंसतापूर्वक मारिएकी आमा र ‘लालसेना’ को ‘लङ मार्च’ को निम्ति बिदा भएका एक पिताको छोराका अदम्य साहसिक यात्राले नै माओको योगदानबारे मलाई कखरा सिकाएको हो कि भन्ने गम खान्छु कहिलेकाहीँ । आज पनि तुङ चको दुःखमा आफू आँसुमा लतपतिएको, उनको साहसमा उद्वेलित भएको मधुरो सम्झना आइरहन्छ । चिनियाँ जनमुक्ति सेनाका योद्धा बन्दासम्मको तुङ चको यात्राले कसैलाई पनि जीवनदेखि भाग्न दिन्न । यस्ता साहित्यले जीवन एक सङ्घर्षको अर्को नाम हो भन्ने सिकाउँछ ।
प्राथमिक तहमै छँदा चिनियाँ बालकथा ‘लिहुलान’ पढेको सम्झना ताजै छ । गरिब परिवारमा हुर्किएकी लिहुलानले आफ्नी सानी बहिनी लिएर सिला खोज्न जान्छिन् । सिला बेचेर नयाँ कपडा हालिदिने तिनकी आमाले वचन दिएकी थिइन् । दिनभरमा टिपिएको सिला कम भएकोले लिहुलानले पहिला बहिनीको निम्ति कपडा हालिदिन आमासँग भन्छिन् । यस्ता कथाले केटाकेटीलाई अरूको बारे पहिला सोच्नुपर्ने भावना सिकाउँछ । त्यस्तै ‘यो कसको रुमाल ?’ शीर्षकको चिनियाँ बालकथा पढ्न पाइन्थ्यो, विद्यालयमै । एकदिन विद्यालयमै नयाँ रुमाल हराएपछि एउटी बालिका रुमाल खोज्दै सबैतिर पुग्छिन् । अन्तमा एउटा रुमाल भेट्टाउँछिन् तर त्यो अरू कसैको हुन्छ । उनी ‘यो कसको रुमाल ?’ भन्दै कक्षा – कक्षामा पुग्छिन् । अन्तमा, ती बालिका रुमाल फर्काउन सफल हुन्छिन् । बालिकाले शिक्षकबाट पुरस्कार स्वरूप नयाँ रुमाल नै पाउँछिन् । केटाकेटीलाई इमानदार बनाउन यस्ता कथाले मद्दत गर्छ ।
लु सुनको नयाँ मोड
मैले पढेको विद्यालयमा चीनका प्रसिद्ध साहित्यकार लु सुनको जन्मदिवसको अवसर पारी साहित्य गोष्ठीहरू हुन्थे । साहित्य लेख्ने काइदा के हो भन्ने थाहा भइसकेको थिएन । विद्यार्थीले नै आयोजना गर्ने कार्यक्रम भएकोले केही न केही लेख्ने दबाब पथ्र्यो । अनि, कनीकुथी लेखिन्थ्यो । कतिपय अवस्थामा हामी ‘अक्कलसहितको नक्कल’ गरी साहित्य लेख्थ्यौँ, वाचन गथ्र्यौँ । भक्तपुरमै लु सुन दिवसकै अवसरमा बर्सेनि ‘बृहत् साहित्य गोष्ठी’ हुन्थ्यो । विक्रमको चालीसको दशकको सुरुआततिर लु सुन दिवसकै अवसरमा भक्तपुरमा आयोजित एक साहित्य गोष्ठीमा प्रहरी हस्तक्षेप भएको घटनाको झल्को आइरहन्छ । यसरी हामीजस्ता बालकहरूमा समेत पञ्चायती प्रहरी नकारात्मकताका उदाहरण बन्थ्यो ।
हाम्रो विद्यालयमा आयोजित कार्यक्रमका अतिथि वक्ताहरू लु सुनको जीवनीको एउटा अंश सुनाउन छुटाउन्नथे । लु सुनको जीवनको ‘टर्निङ प्वाइन्ट’ ले हामीजस्ता नवजवानहरूको जीवनदर्शनको मार्ग कोरेको अहिले अनुभव हुन्छ । लु सुनको त्यो कथा यस्तो थियो :
गरिब चिनियाँहरू बिरामी हुँदा उपचार नपाई अकालमा मर्थे, उपचारको निम्ति खर्च गर्दागर्दै कैयौँ चिनियाँ कङ्गाल हुन्थे । त्यही यथार्थले लु सुनलाई चिकित्साशास्त्र पढ्न उत्प्रेरित ग¥यो । जापानमा विद्यार्थी रहेकै बेला एकदिन जापानी कलेजका एक शिक्षकले युद्धसम्बन्धी एउटा वृत्तचित्र देखाए । तिनताका जापान र रुसबिच युद्ध चलिरहेको थियो । वृत्तचित्रमा एकजना चिनियाँ युवकलाई जापानविरुद्ध रुसको पक्षमा जासुसी गरेको झूटो आरोपमा पाता फर्काएर पिट्दै गरेको देखाइएको थियो । तर, मोटाघाटा तथा बलियाबाङ्गा चिनियाँ युवाहरू जापानीहरूको त्यो अत्याचार हेरेर पेट मिचिमिची हाँसिरहेका थिए । यस्तो परचक्री ठाउँमा आफ्नो देशका मान्छे कुटिँदा पनि खित्का छाडेर कसरी हाँस्न सकेका ! त्यो दृश्यले लु सुनको मनमा भयङ्कर आँधी ल्याइदियो, उनको मन छियाछिया बनायो । यही नै लु सुनको जीवनको नयाँ मोडको आधारशिला बन्यो । उनले चिकित्साशास्त्र पढ्न छोडेर साहित्य लेखनलाई जीवनको उद्देश्य बनाए । डाक्टर बनेर केही बिरामीको उपचार गर्न सकिएला तर साहित्यको माध्यमबाट करोडौँ चिनियाँ जनतालाई मुक्त गर्न सकिन्छ भन्ने निधो गरे लु सुनले ।
अनि लु सुनले लेखे, “पिछडिएका र निर्बल राष्ट्रका मानिसहरूको शरीर जतिसुकै बलियो र स्वस्थ किन नहोस्, तिनको उपयोग दण्ड दिनका लागि अथवा दण्ड दिएको रमिता हेर्नको लागि मात्र गरिँदो रहेछ ! यस्ता मानिसहरू रोगले आक्रान्त भएर मरे पनि त्यो दुःखदायी घटना हुँदैन । सबभन्दा महत्वपूर्ण कुरा त मानिसको भावनामा परिवर्तन ल्याउनु रहेछ ! यसका लागि सबैभन्दा उपयोगी साहित्य हुन्छ भन्ने मलाई लाग्यो ।”
लु सुनको बारे चर्चा हुँदा ‘आह क्युको साँचो कथा’ र ‘एक बौलाहाको डायरी’ जस्ता अमर आख्यानको चर्चा प्रायः छुट्दैनथ्यो । युवा अवस्थामा आह क्युको चरित्र र कथाको भावको गहिराइमा पुग्न नसक्दा दिक्क पनि मानेको छु । अनेक अपमान, विफलता, हन्डर खाएको एक गाउँले सर्वहारा किसान थियो आह क्यु ! क्रान्तिको पहारिलो घाम पर्दापर्दै झूटो आरोपमा समातेर गोली ठोकी मारिएको मान्छे, आह क्यु ! आह क्युबारे माओ भन्छन्, “जीवनका विभिन्न पक्षमा हामी आह क्युवादीहरू पाउँछौँ, कहिलेकाहीँ हामी आफैँमा पनि आह क्युवादका केही लक्षण भेट्टाउँछौँ ।”
‘युवाहरूको गीत’ गाउँदा
भक्तपुर नगरपालिकाले विक्रमको ४० को दशकको सुरुआततिरै याङ मोको ‘युवाहरूको गीत’ उपन्यास नेपाली भाषामा अनुवाद गरी प्रकाशित ग¥यो । पहिलो भागमात्र प्रकाशित भएकोले उतिबेला ‘युवाहरूको गीत’ पढ्ने धोको पूरा भएन । धेरै वर्षपछि अङ्ग्रेजी भाषामा उपन्यास पढ्दाको मज्जा छुट्टै भयो ।
सन् १९३१ मा चीनमाथि जापानी उपनिवेशको नङ्ग्रा गाडिएपछि चिनियाँ जनतामा एकखालको हतासा एवम् सन्नाटा छाएको थियो । त्यसबेला कोमिन्ताङको सरकार थियो । कोमिन्ताङ जापानी उपनिवेशवादकै चाटुकारी गर्दै थियो । जनता चरम शोषणमा पिल्सिएका थिए । मातृभूमिको रक्षाको निम्ति देशभक्त युवाहरू जुर्मुराए ।
‘युवाहरूको गीत’ का मुख्य पात्र लिन ताओ चिङ तत्कालीन जागरुक युवाहरूको एक प्रतिनिधि पात्र थिइन् । तत्कालीन चिनियाँ जनता स्वदेशी प्रतिक्रियावादीवर्ग र विदेशी साम्राज्यवादी शक्तिको पिल्साइमा परेका थिए । चिनियाँ युवाहरू दुवै प्रतिक्रयावादविरुद्ध सङ्घर्ष गर्दै थिए ।
पेइचिङको एक जमिनदारबाट बलात् रखौटी बनाइएकी, अनेक प्रताडना झेल्दै गरेकी ताओ चिङकी आमाले आत्महत्या गरिन् । सौतेनी आमाले कुनै धनाढ्य पुरुषको हातमा बेच्न खोजेपछि ताओ चिङ घरबाट भागिन् । पेइचिङमै एक विद्यार्थीसँग ताओ चिङको विवाह भयो तर श्रीमान्को प्रतिगामी चरित्रको कारण त्यो सम्बन्ध लामो समयसम्म टिकेन । अनेक कठिनाइको सामना गर्दै ताओ चिङ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूको सङ्गतमा पुगिन् । भूमिगत जीवन, काराबास, जालीफटाहाहरूका अनेक लाञ्छना भोग्दै क्रान्तिकारी जीवनका कठिन परीक्षामा ताओ चिङ उत्तीर्ण भइन् र युवाहरूको ‘रोल मोडल’ बनिन् ।
उपन्यासबारे याङ मोकै शब्द यस्ता थिए, “मिसिनगन र सङ्गीन, काराबास र यातना वा फाँसीसामु समेत एकरत्ती नदबी असङ्ख्य श्रेष्ठ तरुणहरू वैरीसँग दृढताका साथ लडे ! एकजना योद्धा ढल्थ्यो, अर्को एक जना उसको ठाउँमा खडा हुन्थ्यो ! देशको भविष्य उज्ज्वल छ भन्ने कुरामा ढुक्क हुँदै केही मानिस हाँसीहाँसी मरे, अरू धेरै मानिस ढालिएका मानिसहरूका रक्ताम्य पाइला टेक्दै अघि बढे ! यो उपन्यास एक तरुण बौद्धिकको समाजप्रति विद्रोहको हुङ्कार हो !” उपन्यासमा तत्कालीन चिनियाँ युवाहरूको चरित्र घामजत्तिकै छर्लङ्ग पारिएको छ ।
उपन्यासकार याङ मोको शब्दमा व्यक्त ‘प्रकाश अन्धकारभन्दा बलशाली हुन्छ, उच्चता नीचताभन्दा बलशाली हुन्छ, स्वार्थीपनमाथि निःस्वार्थपनको र दुःखमाथि सुखको विजय हुन्छ’ भन्ने भनाइ नै उपन्यासको सार हो । सन् १९५८ मा प्रकाशित ‘युवाहरूको गीत’ चिनियाँ बजारमा त ‘बेस्ट सेलर’ भयो नै, नेपाली युवामा पनि उत्तिकै चर्चित बन्यो । आज त्यस पुस्तकको चर्चा कमै हुन्छ तर त्यसको महत्व कम भएको छैन ।
‘पर्वत पन्छाउने मूर्ख बुढो मान्छे’ को आदर्श
विक्रमको ४० र ५० कै दशकमा भक्तपुरका राजनीतिक सभाहरूमा किसानहरूले बुझ्ने भाषामा ‘पर्वत पन्छाउने मूर्ख बुढो मान्छे’ को एउटा चिनियाँ लोककथा भन्ने गरिन्थ्यो । कथासार यस्तो थियो – धेरै समय पहिले उत्तरी चीनमा बस्ने एकजना बुढो मानिसको घर दक्षिणी मोहडाकोे थियो तर दैलो अगाडि ताइहाङ र वाङवु नाम गरेका दुईवटा ठूल्ठूला पर्वतहरू बाटो छेकेर उभिएका थिए । त्यसैले, तिनले आफ्ना दुई छोराहरू साथ लिएर ती दुवै पर्वतलाई भत्काउने दृढतासाथ पहाड खन्न सुरु गरे । तर, गाउँका मानिस खिसीट्युरी गर्दै भन्थे, “तिमीहरू यो कस्तो मूर्ख काम गर्दै छौ ? तिमीहरू यति थोरैले यी दुईवटा ठूल्ठूला पर्वत खनिसक्न बिलकुलै असम्भव छ ।” बुढो मान्छेले जवाफ दिन्थे, “म मरेँ भने मेरा छोराहरूले यो काम जारी राख्नेछन्, तिनी मरेपछि तिनका छोराहरूले र त्यसपछि तिनका नातिहरूले अनि नातिहरूपछि तिनका छोरानातिहरूले यसैगरी अनन्तसम्म यो काम जारी राख्नेछन् । अहिले जतिसुकै अग्ला भए पनि यी पर्वतहरू यहाँभन्दा बढ्न सक्दैनन् र हामी जति खन्दै जानेछौँ, यी त्यति नै होचा हुँदै जानेछन् । हामी यिनलाई पन्छाउन किन सक्दैनौँ ?” बुद्धिमान बुढो र छोराहरू आफ्नो काममा निरन्तर लागिरहे । अन्तमा ‘ईश्वर’ खुसी भए र ‘देवदूत’ हरूले ती दुई पर्वतलाई पिठ्यूँमा बोकेर अन्तै सारिदिए ।
चिनियाँ प्रगतिशीलहरूले यो लोककथामा नयाँ विश्लेषण थपिदिए । चिनियाँ जनता साम्राज्यवाद र सामन्तवादजस्ता दुई ठूला पर्वतले थिचिएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीले ती दुई पर्वत पन्छाउने सङ्कल्प ग¥यो । चिकपाको निम्ति चिनियाँ जनता नै ‘ईश्वर’ थिए । अन्तमा चिनियाँ जनताले जापानी उपनिवेशवाद र स्वदेशी प्रतिक्रियावादी शक्तिलाई परास्त गरे । यस्ता कथाले चिनियाँ ग्रामीण जनताको परिवर्तनको आशाको दियो बालिरह्यो ।
येनान गोष्ठीमा माओ
हाम्रो युवाकालमा साहित्य गोष्ठीहरूको आयोजना हामी आफैँले गर्न थाल्दाको सम्झनाको कुरा । त्यतिबेला नेमकिपाका अध्यक्ष रोहितले ‘साहित्य र कलासम्बन्धी येनान गोष्ठीमा माओको विचार’ पढ्न भन्नुभएको सम्झना छ । जापानी उपनिवेशवादविरुद्धको लडाइँमा साहित्यको योगदान कस्तो हुनसक्छ भन्ने सिलसिलामा माओले एउटा ऐतिहासिक प्रवचन दिनुभएको थियो, सन् १९४२ ताका । साहित्यले क्रान्तिको सेवा गर्नुपर्छ भन्ने माओको भनाइ थियो । बन्दुकले मात्र क्रान्ति सम्पन्न गर्न सकिन्न, कलमवीरहरू पनि उत्तिकै सक्रिय हुनुपर्छ भन्ने माओको विचार थियो । यसै सिलसिलामा लु सुनले ‘क्रान्तिकालको साहित्य’ शीर्षकको निबन्धमा लेख्नुभयो, “क्रान्तिकारीहरूले जब स्वयम् लेख्न थाल्नेछन् अनि मात्र क्रान्तिकारी साहित्य लेख्न सकिनेछ ।” माओले जस्तै अध्यक्ष रोहित सम्झाउनुहुुन्थ्यो, “साहित्य राजनीतिको हतियार हो”, “साहित्यले लाखौँ जनताको सेवा गर्नुपर्छ”, आदि । ‘चिनियाँ आकाशमा रातो तारा’ लेख्ने अमेरिकी पत्रकार एड्गर स्नो, अन्तर्राष्ट्रवादी भावनाअनुसार युद्ध चिकित्सकको रूपमा चिनियाँ क्रान्तिको सेवा गर्ने क्यानाडेली डाक्टर नर्मन बेथुन, भारतीय चिकित्सक कोटनिस, युद्ध जारी हुँदा भूमिगत अवस्थामा माओको अन्तर्वार्ता लिएर विश्वमा प्रचार गर्ने अर्का अमेरिकी पत्रकार अन्ना लुइसस्ट्रङ्ग आदिले नेपाली युवालाई माओ त्सेतुङको जस्तो साहस, गम्भीर चिन्तन, त्याग, समर्पण र बलिदानी भावना सिकाउँछ । यही भावना सिक्नु नै माओप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *