भर्खरै :

वागीश्वरी कलेजका स्नातक तहका विद्यार्थीहरुको शिविर नुवाकोटको लिखुमा सम्पन्न

वागीश्वरी कलेजका स्नातक तहका विद्यार्थीहरुको शिविर नुवाकोटको लिखुमा सम्पन्न

भक्तपुर, १२ भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तह दोस्रो वर्ष मानविकी सङ्कायका सामाजिक कार्यका विद्यार्थीहरूको तीन दिने सामुदायिक सिकाइ शिविर पुस ८ देखि १० गतेसम्म नुवाकोट जिल्लाको लिखु गाउँपालिकामा सम्पन्न भयो ।
शिविरको समापन कार्यक्रममा प्रमुख अतिथि लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले शिक्षा विकासको मेरुदण्ड भएकोले शिविरबाट प्राप्त व्यावहारिक शिक्षाले अध्ययनमा व्यापकता पाउँछ भन्नुभयो ।
विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि श्रेष्ठले वागीश्वरी मावि र कलेजले पाँच हजारभन्दा बढी विद्यार्थीहरूलाई शिक्षा दिइरहेको प्रसङ्गबाट आफू प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि सुवेदीले भोलिको समाजको योग्य नागरिक सामाजिक कार्यले टेवा पुग्ने भएकाले सबैले सामाजिक उत्ररदायित्व वहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
श्री जनज्ञान निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेले ऐतिहासिक जिल्ला नुवाकोटको अध्ययन भ्रमणबाट सिकेका कुरा शेयर गर्दा जीवन्तता पाउने कुरामा जोड दिनुभयो ।
शिविर संयोजक मङ्गलेश्वर ध्वजूको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वस्रोत व्यक्ति महेश्वर पाण्डे, शिविरका स्रोतव्यक्ति एवं ज्योतिकुञ्ज एकेडेमीका प्रधानाध्यापक रवीन्द्र डंगोल, सामाजिक कार्यका विषय शिक्षक सुन्दर ग्वाछा, विद्यार्थीहरू जस्मिना विश्वकर्मा, सरिना बाडे, प्रवीण स्याङतान, दिपिका न्यौपानेले पनि बोल्नुभएको थियो ।
शिविरमा विद्यार्थीहरूले स्काउट, योग, खेल, आत्मरक्षाका सीप तथा नृत्य आदि विषयमा प्रशिक्षण दिएका थिए भने शिक्षा, स्वास्थ्य स्थिति र पूर्वाधारलगायतका विषयमा सर्वेक्षण गरेका थिए । शिविरमा २४ जना विद्यार्थी र २ शिक्षक गरी जम्मा २६ जना सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *