भर्खरै :

कार्यकर्ताहरू विश्वका क्रान्तिकारीहरूको जीवनी, कम्युनिस्ट आन्दोलन र माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट प्रशिक्षित हुनु जरुरी

कार्यकर्ताहरू विश्वका क्रान्तिकारीहरूको जीवनी, कम्युनिस्ट आन्दोलन र माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट प्रशिक्षित हुनु जरुरी

भक्तपुर, १३ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ नगर समिति भक्तपुरको आयोजनामा शुक्रबार स्तालिन र माओ त्सेतुङको जन्मदिवस मनाइयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेमकिपा आफैँ एउटा विश्वविद्यालयजस्तै भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, पार्टी कार्यकर्ताहरूले विश्वका क्रान्तिकारीहरूको जीवनी र मजदुर तथा कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन गरेर आफूलाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट प्रशिक्षित गर्नु जरुरी छ ।”
स्तालिन र माओ त्सेतुङ संसारका मजदुर, किसान र कामदारवर्गको गुरु भएको उल्लेख गर्दै उहाँले विद्यालय र विश्वविद्यालयका गुरुहरूसँग विद्यार्थीहरूले सिकेजस्तै कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले स्तालिन र माओबाट सिक्नु जरुरी भएको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “चीनमा सन् १८५१ मा ताइपिङ किसान विद्रोह भयो† नेपालमा २००८–२००९ सालतिर किसान आन्दोलन भयो । चीनमा भन्दा नेपालमा एकसय वर्ष पछि किसान आन्दोलन भएको देखिन्छ । चीनमा सन् १९४९ को क्रान्तिले जमिनदारी प्रथा समाप्त भयो । नेपालमा बहुदल र गणतन्त्र आएको ३४ वर्ष भयो । तर, सामन्त र जमिनदारहरू शासक दलको संरक्षणमा छन् ।”
माओ त्सेतुङले विदेशी पुँजीका दलाल, सामन्त र जमिनदारहरू क्रान्तिको शत्रु हुने र मजदुर, किसान र कामदारवर्ग क्रान्तिको मित्र हुने वर्ग विश्लेषण गर्नुभएको स्पष्ट पार्दै सचिव सुवालले मध्यम पुँजीपतिवर्ग क्रान्तिप्रति द¥हो अडान नराख्ने, धुलमुल हुने हुँदा उनीहरूलाई क्रान्तितर्फ तान्नुपर्ने माओ त्सेतुङको वर्ग विश्लेषण रहेको बताउनुभयो ।
“एक मजदुरको छोरा स्तालिन अक्टोबर समाजवादी क्रान्तिमा लेनिनको भरपर्दो साथी बन्नुभयो भने लेनिनको मृत्युपछि रुसको समाजवादलाई अगाडि बढाउनुभयो । स्तालिनको मृत्युपछि नेतृत्वमा आएका ख्रुश्चेम, ब्रेझनेभ, गोर्वाचोभ, एल्सिन संशोधनवादी भएको हुँदा रुसमा पुँजीवादको पुनः स्थापना भयो र जनतालाई दुःख भयो”, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले बहुमत जनताको सेवा गर्नु नै राजनीतिक दलको कर्तव्य हो भन्नुभयो ।
चिनियाँ नेता माओ त्सेतुङ्गले हुनान किसान आन्दोलनमार्फत चीनका जमिनदारहरूले गरिरहेको जालसाजी र आर्थिक शोषणको विरोधमा किसानलाई सचेत पार्ने काम गरेको बताउनुभयो ।
अध्यक्ष माओले साम्राज्यवादी देश जापानविरुद्ध देशका साना शत्रुहरूसँग मिलेर आन्दोलन गरेको चर्चा गर्दै उहाँले चिनियाँ जनताले गरेको आन्दोलनबाट सिकेरै नेपालको भूमिसुधार जनताको पक्षमा उपयोग गरेको, बाली काट्ने आन्दोलन, गुठी जग्गा रैतानीको निम्ति आन्दोलन गरेको बताउनुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अधयक्ष नारायणबहादुर दुवालले पार्टीका हरेक कार्यकर्ता देश र जनताप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहाल देशको विकास र जनताको सेवाभन्दा पद जोगाउनेतर्फ लागेको चर्चा गर्दै उहाँले देशको ऋणको भार २३ खर्ब पुगिसकेको छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका विष्णुराम दुमरुले माओवादी भन्ने पार्टीले माओ त्सेतुङ विचारधाराअनुसार काम नगरी उल्टो माओवादी विचारधाराको बदनाम हुने कार्य गरेको धारणा राख्नुभयो ।
आयोज सङ्घका राम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णसागर बासीले माओको जीवनीबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *