भर्खरै :

ख्वप इन्जिनियरिङ कलेजका ७१ जना विद्यार्थीलाई रु. ३४ लाख बराबरको छात्रवृत्ति वितरण

ख्वप इन्जिनियरिङ कलेजका ७१ जना विद्यार्थीलाई रु. ३४ लाख बराबरको छात्रवृत्ति वितरण

भक्तपुर, १३ पुस । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा २०७६ र २०७७ को भर्ना समूहका विद्यार्थीहरूलाई शैक्षिक वर्ष २०७९/८० को गरिब तथा जेहेनदार विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ७१ जना विद्यार्थीहरूलाई रु. ३४ लाख बराबरको छात्रवृत्ति रकम वितरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कलेज स्थापनाको उद्देश्य र इतिहासबारे प्रस्ट पार्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकीजस्ता विभिन्न विषयहरूमा स्नातकोत्तरसम्मको शिक्षा प्रदान गरिरहेको बताउँदै नपाले ख्वप विश्वविद्यालयको स्थापनाको लागि निरन्तर पहल गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा शिशुस्याहार केन्द्रदेखि कलेजहरूसम्म सञ्चालन गर्ने देशकै एकमात्र नगरपालिका भएको बताउँदै नगरवासी विद्यार्थीलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नपर्ने व्यवस्था मिलाउँदै गरिब परिवारका विद्यार्थीलाई रु. ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्ने नीति अवलम्बन गर्दैै आइरहेको बताउनुभयो ।
छात्रवृत्ति रकमको सही सदुपयोग गरी देश र जनताप्रति उत्तरदायी भई काम गर्न मार्गनिर्देश गर्दै प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा पर्याप्त छात्रवृत्तिको व्यवस्था गर्दै आएको विचार राख्नुभयो ।
उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले विद्यार्थीहरूलाई कलेजको छात्रवृत्तिमा अध्ययन गर्न पाउनु आफैँमा सुनौलो अवसर भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *