भर्खरै :

“पुर्खाले सिर्जेको सम्पत्ति – हाम्रो कला र संस्कृति” / बहाबही चिनौँ – सम्पदा संरक्षण गरौँ

“पुर्खाले सिर्जेको सम्पत्ति – हाम्रो कला र संस्कृति” / बहाबही चिनौँ – सम्पदा संरक्षण गरौँ

१४. धर्मकीर्ति विहार

परिचय : भक्तपुर नगरको वडा नं. १०, क्वाठण्डौ टोलमा रहेको अर्को विहार धर्मकीर्ति विहार हो । स्थानीय जनताबिच याँबही (यंबि विहार) को रूपमा परिचित यस विहार वास्तुस्वरूपअनुसार चतुष्कोणाकारको रहेको छ । बिचमा चैत्य रहेको यस विहारको पूर्वमा नगांचा, दक्षिणमा क्वाठण्डौ पोखरी, पश्चिममा बेखाल टोल र उत्तरमा नगरकोट जाने बाटो रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : यस विहारको स्थापनाको बारेमा अहिलेसम्म कुनै अभिलेख प्राप्त भएको छैन । तर, यस विहारको नाममा ने.सं. ६९४ मा कीर्तिपुरका क्वाथःनायक जयकीर्ति भारोजुले आफ्नो विहारमा गर्ने सङ्घ महाभोजको निमन्त्रणा पत्रमा यस विहारको नाम श्री धर्मकीर्ति विहार भन्ने उल्लेख गरिएबाट यस विहार भक्तपुरको पुरानो विहार/बहीहरूमध्ये एक हो भन्न सकिन्छ । यस विहारमा ने.सं. ९०४ को शिलापत्र अद्यापि रहेको छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : धर्मकीर्ति विहार सङ्घका सदस्यहरू को हुन् भनी किटानका साथ भन्न नसकिए तापनि आजभन्दा ६०—७० वर्षसम्म यस विहारमा प्रशन्नशील महाविहारका विश्वकर्मा छेँ खलःले बही द्योः प्रदर्शन गर्ने गरेको यहाँका ज्येष्ठहरूको भनाइ रहेको छ । दुई तीनवटा चैत्यहरूबाहेक अरु सम्पदा यस विहारमा देखिँदैन । हाल यहाँ धर्मकीर्ति नाम रहेको तीनतले गुम्बा रहेको छ ।

१५. आदिपद्म महाविहार

परिचय : आदिपद्म महाविहार भक्तपुर नगरको वडा नं ९ को तौलाछेँ टोलमा रहेको छ । यस विहार प्रवज्जित (भिक्षु) गरिने पुराना महाविहारहरूमध्ये एक हो । यस आदिपद्म महाविहारलाई स्थानीय बासिन्दाहरूले ‘तोँ बाहाः’ भनेर पनि चिन्ने गर्दछन् । बाहाःको वास्तुकला अनुरूप यस बाहाःको चोक चतुष्कोणाकार रहेको छ । यो बहाःको पूर्वमा च्याम्हासिंह, पश्चिममा वाकुपति नारायणको मन्दिर दक्षिण पश्चिममा जेलाँ टोल र उत्तरमा सूर्यमढी डबली रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : आदिपद्म महाविहार स्थापना गर्ने दाता र स्थापना समय स्पष्ट उल्लेख भएको अभिलेख अहिलेसम्म प्राप्त भएको पाइँदैन । यस महाविहारको सबैभन्दा पुरानो स्पष्ट प्रमाणको रूपमा ने. सं. १०३ को अभिलेख रहेको छ । त्यसैगरी, ५०३ ताकाको गोपालराज वंशावलीअनुसार यस महाविहारलाई ‘यम्ब तुनुं विहार’ भनेर उल्लेख गरिएको छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : आदिपद्म महाविहारमा बुद्धाचार्य (शाक्य) सङ्घ रहेको छ । यस महाविहारको सङ्घमा करिब २५ परिवार रहेका छन् । यस महाविहारको सङ्घ सदस्यहरूमध्येबाट मनोनीत भई प्रशन्नशील महाविहारमा ‘चिनंजु’ (भण्डारी) भएर परम्परा चलाइआएका छन् । यस बाहाःका कुलपुत्रहरू यही विहारमा प्रवज्या गरे पनि हुन्छ र प्रशन्नशील महाविहारमा प्रवज्जित गरे पनि हुने प्रावधान रहेको छ । यहाँका सङ्घ सदस्यहरूले आलोपालो गरी बाहाःको क्वापाद्यो शाक्यमुनि बुद्ध, आगंदेवता चण्डमाहारोषणको बिहानको नित्यपूजा र बेलुका सन्या (दीप बाल्ने पूजा) आलोपालो गरी पूजा सञ्चालन गर्दै आइरहेका छन् । त्यसैगरी, सबै सङ्घ सदस्यहरू मिलेर सम्यक महादान पर्व र पञ्चदान पर्वमा प्रशन्नशील महाविहारको दीपङ्कर बुद्धको जात्रा गरी परम्परालाई निरन्तरता दिँदै आएका छन् ।
१६. खुशीबाहाः (शक्रवर्त विहार)

परिचय : भक्तपुर नगरको वडा नं.७, हनुमानघाटको पश्चिम प्राङ्गणमा खुसी बाहा रहेको छ । यस विहार परिसरमा लिच्छविकालीन शैलीको चैत्य, पद्यपाणी लोकेश्वर, चौधौँ पन्ध्रौँ शताब्दीको बज्रधातु चैत्य, महाङ्काल चैत्य र मूर्ति आदि सम्पदाहरू छरिएर रहेका छन् । राष्ट्रिय अभिलेखालयबाट प्रकाशित ने.सं.४९६ कार्तिक शुदि उल्लेख भएको एक तमसुक पत्रमा यस विहारको नाम रहेको छ । साथै कोथो विहार र याथूर विहारको नाम पनि उक्त तमसुक पत्रमा उल्लेख गरिएको छ ।

१७. धर्मउत्तर महाविहार (मुनि विहार)
परिचय : भक्तपुर नगरको वडा नं.७, खँचा टोलमा धर्मउत्तर महाविहार रहेको छ । स्थानीय जनताबिच ‘मुनि विहार’ को नामले परिचित यस विहार वास्तुस्वरूपअनुसार चतुष्कोणाकार रहेको छ । बिचमा चैत्य रहेको यस विहारको पूर्वमा महेश्वरी पीठ, दक्षिणमा हनुमानघाट, पश्चिममा गोल्मढी याता र उत्तरमा इनाचो टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : विहारमा प्राप्त शिलापत्रअनुसार यस धर्मउत्तर महाविहारको स्थापना ने.सं. ७७६ मा मुनि बुद्धाचार्यले गरेका हुन् । मुनि बुद्धाचार्यले नेपालको उत्तरमा पर्ने ल्हासा (तिब्बत) गई बौद्धधर्म अध्ययन गरी सोबाट प्रेरित भई धर्म गर्ने क्रममा स्थापना गरेको विहार भएर धर्मउत्तर भन्ने शब्द राखी विहारको नाम नै धर्मउत्तर महाविहार रहन गएको भन्ने कथन रहेको छ । विहारको सोही शिलापत्रमा ने.सं. ७८७ मा यस महाविहारमा शाक्यमुनि बुद्ध, दीपङ्कर बुद्ध, धर्मधातु चैत्य, गणेश महाङ्काल, चक्रसम्वर देवता स्थापना गरेको उल्लेख छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : यस धर्मउत्तर महाविहारका सङ्घ सदस्यहरू इन्द्रवर्ण महाविहार बुद्धाचार्य (शाक्य) हरू नै हुन् । प्रवज्जित कार्य गर्ने महाविहार भए तापनि यहाँ प्रवज्जित कार्य गरेको भने सुनिएको छैन । यस महाविहारमा सङ्घबाट बाहाको क्वापाद्यो, आगंद्योलाई नित्यपूजा र सन्या गर्ने (बत्ती दिने) कार्य गरेको बारे कुनै जानकारी पाइँदैन । यसरी वर्षौँसम्म विहारमा पूजाआजा गर्ने कार्य बन्द भएको कारणले गर्दा आजभन्दा ७० वर्ष जति अगाडि थेरवाद भिक्षुहरूलाई यस महाविहार हस्तान्तरण गरेको देखिन्छ । आजभोलि यस विहारमा थेरवाद परम्पराअनुसार सङ्घ परम्परा चलिआएको देखिन्छ । नेपालको प्रमुख उपोसथागार (भिक्षु बनाउने स्थल) को रूपमा परिचित छ ।

१८. इन्द्रवर्ण महाविहार
परिचय : भक्तपुर नगर वडा नं. ७ को इनाचो टोलमा अवस्थित प्रवज्जित (भिक्षु) गरिने एक परम्परागत महाविहार इन्द्रवर्ण महाविहार हो । यस महाविहारलाई स्थानीय जनता ‘इना बाहाः÷इनाचो बाहाः’ भनेर पनि चिन्ने गर्दछन् । यो बाहाःको वास्तुकलाअनुसार चतुष्कोण चोक बनाइएको छ । यस बाहाःको पूर्व दिशामा वाँचु टोल, दक्षिण दिशामा मुनिविहार हनुमानघाट, पश्चिम दिशामा गोल्मढी पलिखेल र उत्तर दिशामा तचपाल दत्तात्रय जाने मूलबाटो छन् ।
ऐतिहासिक पृष्ठभूमि : इन्द्रवर्ण महाविहारको स्थापना ने.सं.७४१ मा राजा ज्योति मल्लको शासन कालमा देवसिंह बुद्धाचार्य, जयसिंह बुद्धाचार्य व मेलुसिं बुद्धाचार्यहरूको समयमा भएको देखिन्छ । त्यसबेला श्री देवसिं बुद्धाचार्यले वंदिमस्थानको युलटोलको हरि नामको व्यक्तिसँग लम्बाइ ४२ हात र चौडाइ ३६ हातको जग्गा किनेका थिए । सोही जग्गामा यो विहार बनाइएको देखिन्छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : इन्द्रवर्ण महाविहारमा बुद्धाचार्य (शाक्य) सङ्घ छन् । यहाँका सङ्घ सदस्यहरूले आलोपालो गरी यस महाविहारमा गर्नुपर्ने बाहाःको क्वापाद्यो, आगंदेवताको बिहान गर्नुपर्ने नित्यपूजा र सन्ध्याकालमा गर्नुपर्ने सन्यापूजाहरू गरिआएका छन् । त्यस्तै नै आवश्यकताअनुसार बाहाःमा गर्दै आएका प्रवज्जित कार्यक्रमलाई समयअनुसार सामूहिकरूपले सम्पन्न गर्दै आएका छन् । यस्तै सङ्घबाट गुँला महिनामा गुँलाबाजा बजाएर भक्तपुर नगर र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्थापित बाहाः, चैत्य परिक्रमा गरिआएका छन् । यस बाहाःमा प्रत्येक वर्ष कतिं पुन्ही (कार्तिक पूर्णिमा) को दिनमा यस बाहाःको मूल चैत्यको बुसाधँ (वर्षबन्धन) गर्दै आएका छन् । यस महाविहारका प्रमुख सम्पदाहरू बाहाःको क्वापाद्यो अक्षोभ्य बुद्ध, गणेश महाङ्काल, बाहाःको मूल चैत्य, आगं देवता हेबज्र नैरात्मा हुन् ।

१९. मङ्गल धर्मद्वीप विहार (झौर बही)
परिचय : भक्तपुर नगरको वडा नं.७ स्थित गोल्मढी टोलमा मङ्गल धर्मद्वीप महाविहार रहेको छ । स्थानीय बासिन्दाहरूले झौरबहीको रूपमा चिनिएको यो बहीको वास्तुकला वर्गाकार चोक र चारैतिर चतुर्शाला पद्धतिमा घर निर्माण गरिएको छ । प्रत्येक वर्ष गुँला महिनामा पर्ने पञ्चदान पर्व र सम्यक महादान पर्वमा जात्रा गरिने दीपङ्कर मूर्ति यस विहारमा रहेको छ । यो बहीको पूर्व दिशामा पलिखेल, दक्षिण दिशामा सुकुलढोका जाने मूल बाटो, पश्चिम दिशामा गोल्मढी ढुङ्गेधारा र उत्तर दिशामा चोर्चा टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : मङ्गल धर्मद्वीप विहार (झौरबही) स्थापना भएको समयको अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । तर, यस बहीमा भएको एक शिलापत्रमा राजा विश्व मल्लको समयको ने.सं. ६७६ को फागुन महिनामा चतुर्ब्रह्म महाविहारको सङ्घले यस बहीको जीर्णोद्धार गरेर, बाहाः पूजा गरेको र पञ्च तथागत जात्राको व्यवस्था गरिएको उल्लेख भएको छ ।
विहारको सङ्घ, गतिविधि र सम्पदाहरू : मङ्गल धर्मद्वीप विहारका सङ्घहरू चतुर्ब्रह्म महाविहारको तधिछेँ खलक रहेको छ । सङ्घ सदस्यहरूले दिनदिनै बिहान नित्यपूजा र सन्ध्याकालमा बत्ती चढाउने कार्य गर्दै आएको छ । त्यसैगरी, पञ्चदान पर्व र सम्यक महादान पर्वमा पनि दीपङ्कर बुद्धको जात्रा गर्दै आइरहेको छ । यस बहीको मूल सम्पदाहरूमा बहीको क्वापाद्यो शाक्यमुनि बुद्ध, दीपङ्कर बुद्ध मूल चैत्य र आगमदेवताको रूपमा बज्रदेवी रहेका छन् ।

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *