भर्खरै :

प्रजग कोरियाली नेता किमद्वारा सेनालाई सम्भावित ‘युद्ध’ को तयारी गर्न निर्देशन

प्रजग कोरियाली नेता किमद्वारा सेनालाई सम्भावित ‘युद्ध’ को तयारी गर्न निर्देशन

सियोल, १५ पुस (एएफपी) । प्रजग कोरियाको राष्ट्रिय मामिला आयोगका अध्यक्ष मार्सल किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायःद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको प्रजग कोरियाली सञ्चारमाध्यमहरूले आइतबार जनाएका छन् ।
नेता किमले सन् २०२४ को लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयको लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणको क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गर्नुभएको थियो ।
बैठकले आगामी वर्षमा थप तीन वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण गर्ने र इलेक्ट्रोनिक युद्ध क्षमता विकास गर्ने, साथै आणविक र क्षेप्यास्त्र बललाई सुदृढ पार्नेलगायत थप सैन्य विकासको योजना घोषणा गरेको ‘कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)’ ले जनाएको छ ।
प्योङयाङले यसै वर्ष सफलतापूर्वक टोही उपग्रह प्रक्षेपण गरी आफ्नो संविधानमा आणविक शक्तिको रूपमा आफ्नो स्थान स्थापित गरेको घोषणा गरेको छ । प्रजग कोरियाले आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण गरेको छ ।
केसीएनएका अनुसार शनिबार सम्पन्न बैठकमा किमले संयुक्त राज्य अमेरिका ‘विभिन्न प्रकारका सैन्य खतरा’ खडा गरेको आरोप लगाउनुभएको थियो र आफ्नो सेनालाई ‘युद्ध प्रतिक्रियाका लागि अत्यधिक क्षमता’ कायम राख्न आदेश दिनुभएको थियो ।
किमले भन्नुभयो, “कोरियाली प्रायःद्वीपमा शत्रुहरूले हामीमाथि आक्रमण गर्न दुस्साहसी कदम चालेका कारण कुनै पनि बेला युद्ध भड्किन सक्छ भन्ने कुराको पुष्टि हो ।”
प्योङयाङलाई रोक्नका लागि वासिङ्टनले यसै महिनाको सुरुमा दक्षिण कोरियाको बन्दरगाह सहर बुसानमा आणविक शक्तिसम्पन्न पनडुब्बी तैनाथ गर्नुका साथै सियोल र टोकियोसँगको अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।
यसअघि प्रजग कोरियाले कोरियाली प्रायःद्वीपमा संयुक्त अभ्यासमा वासिङ्टनका बी–५२ बमवर्षकजस्ता रणनीतिक हतियार तैनाथ गर्नुलाई ‘जानाजानी आणविक युद्ध उत्तेजक कदम’ को संज्ञा दिएको थियो ।
किमले भन्नुभयो, “हामीले सम्भावित आणविक सङ्कटको शीघ्र जवाफ दिनुपर्छ र आपत्कालीन अवस्थामा आणविक शक्तिलगायत सबै भौतिक साधन र शक्ति परिचालन गरेर दक्षिण कोरियाको सम्पूर्ण भूभागलाई शान्त पार्ने तयारीलाई तीव्रता दिनुपर्छ ।
बैठकमा किमले दक्षिण कोरियासँग अब मेलमिलाप र पुनः मिलनको प्रयास नगर्ने बताउँदै सियोल र वासिङ्टनका कारण उत्पन्न ‘अनियन्त्रित सङ्कटको स्थिति’ रहेको बताउनुभएको थियो ।
प्योङयाङको जासुसी भू–उपग्रह प्रक्षेपणसँगै अन्तरकोरियाली सम्बन्ध यस वर्ष निकै बिग्रिएको छ, जसका कारण सियोलले सन् २०१८ मा भएको सैन्य सम्झौतालाई आंशिकरूपमा स्थगन गरेको छ ।
“मलाई विश्वास छ कि यो एक गल्ती हो जुन हामीले अब हामीलाई ‘मुख्य शत्रु’ को रूपमा घोषणा गर्ने शक्तिलाई मेलमिलाप र एकीकरणका लागि समकक्षीको रूपमा सोचेको थियो,” नेता किमलाई उद्धृत गर्दै केसीएनएले भनेको छ ।
किमले सीमापार मामिला हेर्ने विभागहरूको पुनः गठनका लागि ‘आधारभूतरूपमा दिशा परिवर्तन गर्न’ उपायहरू कोर्न आदेश दिनुभयो ।
सियोलस्थित इवा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक लीफ इस्लेले प्रजग कोरियाको महत्वपूर्ण सैन्य क्षमतामा जोड दिइएको बताउनुभयो ।
योङयाङले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो । उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको थियो ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले उत्तर कोरियाले सन् २००६ मा पहिलो पटक आणविक परीक्षण गरेदेखि नै आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न आग्रह गर्दै थुप्रै प्रस्ताव पारित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *