भर्खरै :

योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रामा सहभागी हुँदा

योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रामा सहभागी हुँदा

भक्तपुर नगरपालिकाले ‘बहाबही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नाराका साथ नगरभरका १९ वटा बहाबहीको सम्पदा यात्रा सम्पन्न गरेको छ । टौमढी पाँचतले मन्दिरबाट बिहान ११ बजे सुरु भएको यात्रा करिब ४ घण्टापछि याता गोल्मढीमा पुगेर टुङ्गियो । यात्रालाई रोचक र रसिलो बनाउन योमरी उत्सव पनि सँगै जोडिएको थियो । चार घण्टाको यात्रा गर्ने मार्गका ठाउँठाउँमा स्थानीयले बिक्रीका लागि ताजा योमरी राखेका थिए । योमरीको साथमा सम्येबजी, स्थानीय उत्पादन ताइचिन चिउरा, जुजु धौ (दही), तोरीको तेल, हाकुपटासी, मूर्तिकलालगायतका वस्तुहरू पनि बिक्रीमा राखिएका थिए ।
सम्पदा यात्रा उत्सवलाई थप उत्सवमय बनाउन शाक्य, बज्राचार्यहरूको गुँलाबाजा, मानन्धरहरूको ङकघलं बाजासहित केही दाफा भजनहरू सघाएका थिए । ठाउँठाउँमा स्कूलका विद्यार्थीहरूको बाल नृत्य, दाफा भजन, बाजा आदिले पनि यात्राको रौनक बढाएको देखिन्थ्यो ।
नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भएको उक्त यात्रा अखण्डशील महाविहार जेतवर्ण महाविहार, बौद्ध समकृत विहार, जयकीर्ति महाविहार, ज्येष्ठ वर्ण महाविहार, लोकेश्वर महाविहार, चतुब्र्रह्म महाविहार, यालाछेँ बही, सुवर्ण विहार, मञ्जुवर्ण महाविहार, प्रशन्नशील महाविहार, मूल दीपङ्कर विहार, कुलरत्न महाविहार, धर्मकीर्ति विहार, आदिपद्म महाविहार , खुशीबाहा (शक्रवर्त विहार), धर्मउत्तर महाविहार (मुनिविहार), इन्द्रवर्ण महाविहार र मङ्गल धर्मद्विप विहार (झौरबही) हुँदै यातामा पुगेर टुङ्गिएको थियो ।
यात्रा सबैतिर एकतर्फी बनाउन साँघुरा बाटाहरू उपयोग गरिएको थियो । हजारौँको सङ्ख्यामा भएका पदयात्रीहरू साँघुरा गल्लीहरूबाट समेत जानु पर्दा स्वभावैले यात्रा स्थान लम्बिएको थियो । पदयात्रीहरू बौद्धमार्गीहरूबाहेकका धेरैले यो बहीमा पहिलो पटक पुगेको भन्ने प्रतिक्रिया दिइरहेका थिए । पदयात्री केही शिक्षकहरू भन्दै थिए, “विद्यार्थीहरूलाई अबको स्थानीय सम्पदा अवलोकन यही बहाबही गर्नुपर्छ ।”
थथुबही अगाडि नः पुखुको पश्चिम किनारमा स्थानीय उत्पादनहरू चिउरा, हाकुपटासी, जुत्ता, थैली, तोरीको तेललगायतका वस्तुहरू बिक्रीमा राखिएका थिए भने यालाछँेमा भिन्तुना साकोसले बाँसुरी बाजा बजाई स्वागत गरिरहेको थियो भने अर्को छेउमा प्रभात ई. स्कूलका विद्यार्थीहरूले नाचेर पदयात्रालाई रमाइलो बनाइरहेका थिए । प्रभात स्कूलले यालाछेँबाहेक चोछेँ र थालाछेँमा पनि नृत्य प्रस्तुत गरिरहेको थियो ।


सूर्यमढी वडा पनि उत्सवमय देखिन्थ्यो । डबलीमा कलाकारहरू नौ बाजा बजाउँदै थिए भने पाटीमा ज्येष्ठ नागरिकहरू कसीमला पाँय् प्रदर्शन गर्दै थिए । अर्को पाटीमा दाफा भजन हुँदै थियो । डबलीको दक्षिणतर्फ सम्येबजी र योमरी बिक्री हुँदै थियो ।
यात्रा माहेश्वरी उकालोमा पुग्दा स्थानीयहरूले त्यहाँ पनि योमरीले स्वागत गर्दै थिए । त्यस्तै मुनिविहारमा चिरवस्त्रधारी श्रवणेरहरूको धर्मदेशना ध्वनि निकै कर्णप्रिय थियो । सोही विहारको माथिल्लो बुद्ध मूर्तिअगाडि राखिएको त्रिपिटक प्रदर्शनले यात्रा थप आकर्षक बनेको थियो ।
थोरै भए पनि विदेशी पर्यटकहरू पनि सम्मिलित उक्त पद यात्रा गोल्मढी गलसीमा पुग्दा लाखे नाच र देवी नाचले रौनक दिइरहेको थियो । अन्तमा यात्रा समापन स्थल याता त स्वभावैले झकिझकाउ हुने नै भयो । स्थानीय उत्पादनका स्टलहरू चारैतिर राखिएका थिए भने याताको केन्द्रमा मञ्च बनाइएको थियो । मञ्च अगाडि बुद्ध मूर्तिहरूले मञ्च अत्यन्त आकर्षक बनेको थियो ।
त्यहाँको अर्को आकर्षण कृति हस्तकला पनि थियो । यात्राको क्रममा थालाछेँ बहीको चैत्य ‘मुचलन्द बुद्ध’ धेरैको लागि नौलो नाम सुनियो, पढियो । शारदा माविभित्र एउटा चैत्य छ भन्ने त थाहा थियो तर त्यो मुचलन्द बुद्ध भन्ने प्रचार यही यात्रामा धेरैले थाहा पाए ।
भक्तपुरमा २४ बहा भए पनि अहिले १९ बहाको मात्र यात्रा गरिएको छ । थप पाँच बहा कहाँ कहाँ र कुन कुन भन्ने जिज्ञासा यात्राले बढाएको छ । यात्रामा देखिएका बहाहरूमध्ये कुलरत्न महाविहार र खुशीबहाको स्थिति जीर्ण देखियो । यी दुईबाहेक अरू कुनै न कुनै ढङ्गले व्यवस्थितरूपमा सञ्चालन भइरहेको देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *