बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले वर्षाैँदेखि रिक्त मावि तहको स्थायी शिक्षक पदपूर्तिको लागि गत पुस ८ गते विज्ञापन आह्वान गरेको छ । देशका सातवटै प्रदेशबाट कुल ४३६ रिक्त पदको लागि विज्ञापन भएकोमा विज्ञान विषय १२४, गणित ८५, अङ्ग्रेजी ७९, नेपाली ६७, सामाजिक ५३, अर्थशास्त्र ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरण ३ र कम्प्युटर विज्ञान ३ रहेको छ ।
रिक्त दरबन्दी समयमै पदपूर्ति हुनुपथ्र्याे; ढिलो भए पनि पदपूर्ति हुँदै छ भन्ने विज्ञापन आह्वानले शिक्षामा सकारात्मक सन्देश सञ्चार भएको छ । तर, यतिकै आधारमा विद्यालय तहको शिक्षण स्तर बढ्ने भयो भने उत्साहित भइरहाल्नुपर्ने स्थिति छैन किनभने ४३६ पद त केबल रिक्त पद मात्र हुन् । विद्यालयको आवश्यकताको आधारमा विज्ञापन आह्वान गर्ने हो भने ५० हजारभन्दा बढी पदको विज्ञापन हुनुपथ्र्याे ।
विद्यालय तहमा शिक्षक दरबन्दीबारे अध्ययन गर्न केही वर्षअघि पूर्व शिक्षा सचिव महाश्रम शर्माको संयोजकत्वमा सरकारले एक कार्य दल गठन गरेको थियो । उक्त कार्यदलले सरकारलाई बेलैमा प्रतिवेदन पनि बुझायो तर सरकारले उक्त रिपोर्ट सार्वजनिक गर्ने आँट गरेन । यद्यपि, अनौपचारिकरूपमा प्रतिवेदनको सार सार्वजनिक भएको छ । बताइएअनुसार कार्यदलले देशभरमा विद्यालयको आधारमा ६२ हजारभन्दा बढी शिक्षक आवश्यक भएको औँल्याएको थियो ।
यसैबिचमा केही रिक्त शिक्षक पदपूर्ति भए पनि अझै पचासौँ हजार शिक्षक आवश्यक छ । जहिलेसम्म आवश्यकताको आधारमा शिक्षक दरबन्दी थप गरिँदैन तहिलेसम्म रिक्त पदपूर्तिको टालटुलले सिकाइको स्तर उठिहाल्ने अपेक्षा गर्न सकिँदैन । यद्यपि, नहुने मामाभन्दा कानो मामा निको, रिक्त हुनुभन्दा पदपूर्ति हुनु राम्रै मान्नुपर्छ ।
रिक्त पदपूर्तिमा पनि जालझेल हुने गर्दछ । कुनै निश्चित ठाउँमा रिक्त पदको विज्ञापन नगरी अन्यत्र विज्ञापन खोल्दा विज्ञापन नखोलेको ठाउँका शिक्षकहरू आफ्नो घरपायकभन्दा धेरै टाढा टाढाको विज्ञापनमा आवेदन दिन बाध्य हुनुपरेको छ । यसको ज्वलन्त उदाहरण यसअघि शिक्षक सेवा आयोगले काठमाडौँ उपत्यकामा कुनै पदमा नखोल्दा उपत्यकाका शिक्षकहरू उपत्यका बाहिरका जिल्लाहरू आवेदन दिन बाध्य भएका थिए । परिणामतः उपत्यकावासी शिक्षकहरू उपत्यकाबाहिर जान बाध्य भए । यो कुनै संयोगले मात्र हुन गएको मानिँदैन बरु योजनाबद्ध तरिकाले नै बदनियतका साथ भएका भनेर पनि हेरिएको छ ।
शिक्षामा गरिने यस्तो बदनियतको परिणाम सकारात्मक हुनेछैन । समाजका सम्पूर्ण धमिलो स्थितिलाई सङ्लो पार्ने साधन नै शिक्षा हो । शिक्षामै धमिलो कदम चालिन्छ भने त्यसको परिणाम पनि धमिलै हुने निश्चित छ । कहीँ कसैबाट बदनियत नहोस् !
Leave a Reply