यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
केही मानिसहरू ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका साथीहरूसँग सोध्ने गर्छन् । आखिर तिमीहरू किन विदेशका कुरा बढी लेख्छौ र तिनीहरूको पक्षमा किन लेख्छौ ?
यी प्रश्न या जिज्ञासाले मानवीय भावनासँग सरोकार राख्छ । तिनीहरूलाई धन्यवाद !
संसार एउटै छ । हामी सबै आज विशाल सागरमा एउटै कमजोर डुङ्गामा छौँ । हिजो कोरोनाले हामी सबैलाई पीडित बनायो । भोलि तात्तिँदै गइरहेको पृथ्वीका मानिसहरूले एकै परिवारले जस्तै सबैले एउटै पीडा भोग्ने छौँ । गर्मीले गर्दा नयाँ नयाँ रोगले हामी पीडित हुनेछौँ । पृथ्वीको तापक्रमको वृद्धिले हाम्रो बालीनाली सुख्खा हुनेछ, डढेलोले सखाप पार्नेछ र हिमाल सुक्नेछ । नदीनालाहरू सुक्नेछन्, चारैतिर हाहाकार मच्चिनेछ !
यस्तो विश्वव्यापी हाहाकारमा एकले अर्को देशलाई मद्दत गर्न पनि सजिलो हुनेछैन । कोभिडको बेला जस्तै ‘लकडाउन’ वा ‘बन्दाबन्दी’ मा आपसमा जोगिनुपर्ने स्थिति निम्तिनेछ ।
अन्न पानीको शरीर । त्यसैको निम्ति एक आपसमा लुटमार हुन बेर छैन । त्यसबेला गरिब–गरिबको बिचमा झगडा हुनेछैन । बरु गरिब र धनीको बिचमा ठुलो बैमनस्य हुनेछ, लडाइँ र झगडा हुनेछ ।
त्यस सम्भावित परिस्थितिलाई नरम बनाउन मानिस र संसारका सबै जातजाति र भाषाभाषीहरू मानवीय भावनालाई जागृत गराउनु आवश्यक छ । विश्व मानवता र मानवीय प्रेम तथा सम्मानले साझा भविष्यको उज्यालोको कल्पनाले बाँडीचुँडी खाने विश्व संस्कृतिको समयमै विकास गराउनु जरुरी छ ।
यस्तो अवस्थामा हामीले हामीभन्दा सम्पन्नहरूको हेर्ने र नक्कल गर्ने होइन, हामीभन्दा कमजोर मानिसहरू कसरी बाँचिरहेका छन् र कसरी तिनीहरूलाई सहयोग गरौँ भन्ने भावनालाई उत्साहित गर्दै जानुपर्नेछ ।
त्यसकारण, ‘श्रमिक’ र ‘मजदुर’ नेपालका हाम्रा पाठक र जनतालाई विश्वव्यापी दृष्टिकोण अँगाल्ने संस्कृतिलाई विकास गराउन प्रयत्नरत छन् । अरुलाई पर्दा हामीले दिएको हातले उठ्न नसक्नेहरूलाई ठुलो साहस र उत्साह प्रदान गर्नेछ । भोलि हामीलाई पर्दा मित्रहरूले हाम्रो पक्षमा हात दिनेछन्, न्यानो माया दिनेछन् । यसकारण, ‘श्रमिक’ र ‘मजदुर’ लाई अझ प्रचारप्रसारमा लान प्रयासरत छौँ ।
हामी उठ्यौँ
२०१५–१६ सालमै हामीले बेलायती क्रान्ति र मजदुर आन्दोलनको पाठ पढ्याँै; अमेरिकी स्वतन्त्रता आन्दोलन र मेको मजदुर आन्दोलनलाई अध्ययन ग¥र्यौँ; फ्रान्सेली राज्यक्रान्तिलाई बुझ्यौँ र अनेक साम्यवादी र समाजवादी विचारसँग परिचित भयौँ । पेरिस कम्युनदेखि सन् १९१७ को रुसी अक्टोबर क्रान्तिबारे हामीले बुझ्न खोज्यौँ ।
२०१७ सालको हाराहारीमा हामीले चिनियाँ क्रान्ति र कोरियाली युद्ध सन् १९५०–५३ को फोटो प्रदर्शनीहरूबाट साम्राज्यवादी देश, उपनिवेश र अर्धउपनिवेश देशहरूको पीडा र लाचारी बुझ्याँै ।
२०१७ साल र भूमिसुधारको समयमा किसानहरूको रात्रि कक्षा सुरु भयो । नेमकिपाका किसान कार्यकर्ताहरू खेतखेतमा गएर आ–आफ्नो जोताहा हकको निम्ति कार्यरत रहे । किसानको बाली जोगाउन साँढे धपाउने आन्दोलन, भर्पाई आन्दोलन र बचत कोषमा हुनसक्ने भ्रष्टाचारविरोधी कार्यमा सचेत गराइयो । सहकारी संस्थामा भएको भ्रष्टाचारविरोधी सङ्घर्षमा लाग्दा दुई÷चार वर्ष किसान कार्यकर्ताहरूले दुःखकष्ट भोगे ।
सुस्ता रक्षा आन्दोलनमा किसान जनता सहभागी भए । भारतीय विस्तारवादको दबाबमा भएको सरकारी दमन कार्यको विरोधमा सङ्घर्ष चालु रह्यो । त्यसपछि भियतनाम, कम्बोडिया र लावसले अमेरिकी साम्राज्यवादविरुद्ध गरेको सङ्घर्षबाट जनताले राजनैतिक शिक्षा प्राप्त गरे ।
सोभियत संशोधनवादको विरोधमा चिनियाँ कम्युनिस्ट पार्टीसहित संसारका क्रान्तिकारी मजदुर र कम्युनिस्ट दलहरूबिचको खुला सैद्धान्तिक सङ्घर्षबाट नेपालीहरू शिक्षित हुँदै गए । प्रतिक्रियावादी सङ्घ संस्थामा कामदारवर्गलाई पुँजीवादी प्रभावबाट जोगाउन निर्वाचनलाई उपयोग गर्दै निःस्वार्थरूपले जनताको सेवा गर्ने माओ त्सेतुङ विचारधारा र किसान आन्दोलनले जनताको सेवा गर्ने बाटोमा निरन्तरता पाउँदै गयो ।
समय बलवान छ, सडक र धुलोमा लडेका किसानहरूले आफ्नो जीउमा धुलो टक्टक्याए, घाउमा पट्टी लगाए र पुनः उठेर अघि बढ्ने काम गरे । यस्ता सङ्घर्षले निरन्तरता पाउनेछ ।
Leave a Reply