भर्खरै :

“सार्वजनिक र धार्मिक स्थल संरक्षण हुनुपर्छ”

“सार्वजनिक र धार्मिक स्थल संरक्षण हुनुपर्छ”

भक्तपुर, १९ पुस । च्वङा गणेशस्थान विकास संस्थाको आठौँ वार्षिक कार्यक्रम तथा तेस्रो अधिवेशन नेमकिपाका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा च्वङा गणेश मन्दिर परिसरमा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले सार्वजनिक र धार्मिकस्थल संरक्षणमा जनता सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “धर्म अन्धविश्वास होइन, मानिसको कर्तव्य हो । धर्मले गलत काम गर्न छुट दिँदैन । धार्मिकस्थल सार्वजनिकस्थल नै हो, यसको संरक्षण गर्नु सबैको कर्तव्य हो ।”
च्वङा गणेशको मन्दिर पहिरो जाने खतरामा पुगेपछि भक्तपुर नगरपालिकाले २०४५ साल यता पहिरो नजाने गरी निर्माण सुरू गरेको र यसमा स्थानीय जनताको उल्लेखनीय योगदान रहेको सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुवाकोटको १९ रोपनी सार्वजनिक जग्गा, बोडेको कमलपोखरी, झौखेल मुगुथलीको कमलपोखरी, थँबहीको कमलपोखरी र सार्वजनिक बगैँचा मालपोत तथा नापीका कर्मचारीहरूको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको खारेज हुनुपर्छ ।”
सांसद सुवालले भन्नुभयो, “च्वङा पा परापूर्वकालदेखि नै सार्वजनिकस्थल हो । जनताको सांस्कृतिक भावनासँग जोडिएको च्वङा पा २०४२ सालमा नेपाल सरकारको निर्णयमा नेपाली सेनाको नाममा दर्ता गरिएको हो । नेपाली सेना र नेपाली जनताबिच मनमुताव ल्याउन च्वङा पा सार्वजनिकस्थल नेपाली सेनाको नाममा दर्ता गरिएको हुनुपर्छ । नेपाली सेनाको नाममा गएको सार्वजनिक र सांस्कृतिक स्थलहरू च्वङा पा, दुग्ध विकास संस्थान भएको ठाउँ, रानीपोखरी, तः पोखरीलगायत क्षेत्र पुनः सार्वजनिक गर्नु जरूरी छ ।”
उहाँले भन्नुभयो, “नेपाली सेना देशको रक्षाको लागि हो । अमेरिकी सरकारको सहयोगमा युक्रेनले रूसविरूद्ध युद्ध ग¥यो भने इजरायलले प्यालेस्टिनविरूद्ध जातीय नरसंहार ग¥यो । कतिपय देशका जनता अमेरिकी राष्ट्रपति बाइडेन र इजरायलका प्रधानमन्त्री नेतन्याहुको पुतला बनाई दुवैको हातमा रगत लटपटिएको देखाई प्यालेस्टिन र युक्रेनविरूद्धको लडाइँलाई रोक्न दबाबका साथ आवाज उठाउँदै छन् । नेपालमा अन्य पार्टीले नगरे पनि नेपाल मजदुर किसान पार्टीले युक्रेन र प्यालेस्टिनमा अमेरिकी सहयोगमा भइरहेको लडाइँको निन्दा एवं भत्र्सना गरिरहेको छ ।”
एमसीसी सम्झौताको कारण नेपालमा पनि पश्चिमा साम्राज्यवादले युद्ध थोप्ने खतरा रहेको हुँदा नेमकिपाले युद्धको विरोध गरेको सांसद सुवालले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सम्पदा संरक्षणको विषयमा नयाँ पुस्तालाई सुसूचित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सस्थाका अध्यक्ष लक्ष्मी नारायण राजलवटको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भनपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव शारदाभक्त वैद्य र कोषाध्यक्ष गणेशभक्त कोजूले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
भेलाले लक्ष्मीनारायण राजलवटकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *