भर्खरै :

‘जन कलाकार’ थिए बलराज साहनी

‘जन कलाकार’ थिए बलराज साहनी

लेखक परिचय

ख्वाजा अहमद अब्बास (७ जून १९१४ – १ जून १९८७)

ख्वाजा अहमद अब्बास (७ जून १९१४ – १ जून १९८७) एक भारतीय फिल्म निर्देशक, पटकथा लेखक, उपन्यासकार र उर्दू, हिन्दी र अङ्ग्रेजी भाषामा पोख्त पत्रकार थिए । उनले भारतमा चारवटा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । अन्तर्राष्ट्रियरूपमा उनका फिल्महरूले कान्स फिल्म फेस्टिभलमा पाल्मे डी’ओर (गोल्डेन पाम ग्रैंड प्राइज) (तीन पाल्मे डी’ओर नामङ्कनहरूमध्ये) र कार्लोभी भेरी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा क्रिस्टल ग्लोब जितेका थिए । निर्देशक र पटकथा लेखकको रूपमा उनलाई भारतीय समानान्तर वा नव–यथार्थवादी सिनेमाका अग्रगामीहरूमध्ये एक मानिन्छ ।
निर्देशकको हैसियतमा उनले हिन्दुस्तानी फिल्म बनाए । सन् १९४३ को बङ्गालको अकालको बारेमा उनको फिल्म ‘धरती के लाल’ (१९४६) भारतीय सिनेमाको पहिलो सामाजिक–यथार्थवादी फिल्महरूमध्ये एक थियो र त्यसले सोभियत सङ्घमा भारतीय फिल्महरूको लागि विदेशी बजार खोलेको थियो । परदेसी (१९५७) पाल्मे डी’ओरका लागि मनोनीत भएका थिए । शहर और सपना (१९६३) ले सर्वोत्कृष्ट फिचर फिल्मको लागि राष्ट्रिय चलचित्र पुरस्कार जित्यो, जबकि सात हिन्दुस्तानी (१९६९) र दो बुँद पानी (१९७२) दुवैले राष्ट्रिय एकतामा उत्कृष्ट फिचर फिल्मको लागि राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए ।
पटकथा लेखकको रूपमा उनले धरती के लाल (१९४६), नीचा नगर (१९४६) जस्ता धेरै नव–यथार्थवादी फिल्महरू लेखे । जसले पहिलो कान्स फिल्म फेस्टिभलमा पाल्मे डी’ओर जित्यो, नया संसार (१९४१), जगते रहो (१९५६), र सात हिन्दुस्तानी (१९६९) उनका अविस्मरणीय फिल्महरू हुन् ।
उनी राज कपूरका फिल्महरू लेख्नका लागि पनि चिनिन्छन्, जसमा पाल्मे डी’ओरमा मनोनयन भएका आवारा (१९५१), साथै श्री–४२० (१९५५), मेरा नाम जोकर (१९७०), बबी (१९७३) र हेन्ना (१९९१) विशेष चर्चित छन् ।
उनको स्तम्भ ‘अन्तिम पृष्ठ’ भारतीय पत्रकारिताको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने अखबारका स्तम्भहरूमध्ये एक थियो । यो १९३५ मा ‘बम्बई क्रोनिकल’ मा सुरु भएको थियो र ‘बम्बई क्रोनिकल’ बन्द भएपछि ‘ब्लिट्ज’ मा सारियो । त्यसमा १९८७ मा उनको मृत्युसम्म जारी रहेको थियो । उनलाई सन् १९६९ मा भारत सरकारले पद्मश्रीबाट सम्मानित गरेको थियो ।

दुर्भाग्यपूर्वक हाम्रो देशमा जान्ने मान्ने चित्रकार, अभिनेता तथा गायकहरूलाई ‘जनकलाकार’ पदवी दिने चलन छैन । उनीहरूलाई पनि इन्जिनियर, डाक्टर, ठेकेदार, सामाजिक कार्यकर्ताहरू र यहाँसम्म कि बिलकुल अन्जान मानिसहरूको लहरमा सँगै पद्मश्री तथा पद्मभूषणको पदवी दिने गरिन्छ । सिर्जनात्मक र कलात्मक क्षेत्रका गतिविधिमा कलाकारहरूले गरेको अद्भूत योगदानबारे यी उपाधीले कुनै अलग पहिचान जनाउँदैन ।
कुनै पनि हालतमा यदि भारतमा ‘जन कलाकार’ को उपाधी दिने व्यवस्था भयो र त्यो उपाधी पाउन लायक वा हकदार कुनै कलाकार छन् भने उनी बलराज साहनी नै हुन् । उनले आफ्नो जिन्दगीका सुनौला वर्षहरू भारतीय रङ्गमञ्च तथा सिनेमालाई घनघोर व्यापारिकताको निसासिँदो जालोबाट बचाउन समर्पित गरे । रङ्गमञ्च तथा सिनेमामा आम जनताका जीवनको मुख्य समस्या र जीवनदायी सम्बन्ध स्थापित गर्न समर्पित भए ।
आम जनताका बिचबाट विभिन्न पात्रहरूको बलराज साहनीले सहजै वा सरलतापूर्वक भूमिका निर्वाह गरेकोमा धेरै मानिसहरू अचम्म मान्थे । चाहे त्यो ‘धरती के लाल’ मा कङ्गाल बनेका किसानको छोरा होस् या चाहे त्यो ‘हम लोग’ मा कुन्थित र क्रोधित नवजवान होस् या चाहे त्यो ‘दो विघा जमिन’ मा हाते रिक्सा चलाउने किसान होस् या चाहे त्यो ‘काबुलीवाला’ मा मेवा बेच्ने पठान होस् या फेरि इप्टाको नाटक ‘आखिरी शमा’ मा मिर्जा गालिबको बौद्धिक रूपान्तरण नै किन नहोस् । यी पात्रहरूलाई जीवन्त बनाउन बलराज साहनीले जनता र जीवनलाई कति सघन अध्ययन गरे । तयारीको लागि कति वर्ष शोध गरे र त्यस्तो परिस्थितिमा डुबेर ती पात्रहरूको असली रूप उतार्न कति मिहिनेत गरे ? धेरैलाई अनुमान नहुन सक्छ । बलराज साहनी कुनै यथार्थबाट उछिटिएको बुद्धिजीवी तथा कलाकार थिएनन् । उनीद्वारा अभिनित पात्रबाट उनको सामान्य जनतासँग घनिष्ठ नाता रहेको थाहा पाउन सकिन्छ । सामान्य व्यक्तिसँग उनको गहिरो परिचय स्वतन्त्रताको लागि तथा सामाजिक न्यायको लागि जनताका सङ्घर्षमा उनको सहभागिताबाट स्थापित भएको थियो । उनी जुलुुस, जनसभा तथा टे«ड युनियन गतिविधिमा सहभागी भए । पुलिसको नृशंस लाठी तथा बन्दुकको सामना गर्ने ठाउँमा सहभागी बने । गोर्कीलाई जस्तै जिन्दगी उनको लागि एक विशाल विश्वविद्यालय थियो । जीवन र जनताका यी अनन्त अध्येता, बलराज साहनीको लागि जेल जीवनले ‘स्नातकोत्तर’ प्रशिक्षणको काम ग¥यो ।
भारतीय जननाट्य मञ्च सङ्घ जसलाई इप्टा नामबाट धेरै चिन्ने गरिन्छ । त्यो संस्थाको जन्म दोस्रो विश्वयुद्ध तथा बङ्गालको भीषण अनिकालको बिचबाट भएको थियो । बलराज साहनी यसका सुरुका कार्यकर्ताहरूमध्ये थिए । एक अभिनेताको रूपमा, एक निर्देशकको हैसियतमा पनि इप्टाको भण्डारमा उनको उच्च योगदान रहेको थियो । म त अहिले पनि उनलाई इप्टाका एक समर्पित तथा निःस्वार्थ जनताका असली कार्यकर्ताको रूपमा याद गर्दछु । बाँकी अरुभन्दा बढी सक्रिय उनी एक सङ्गठनकर्ता थिए । कुनै पनि ठाउँमा हुने आफ्नो नाटकको लागि वा जुन पनि लक्ष्यको निम्ति आफ्नो पूरै ध्यान लगाइरहेका हुन्थे । चाहे त्यो फासीवादविरोधी जनयुद्ध होस् या नृशंस दङ्गाको पृष्ठभूमिमा हिन्दू–मुस्लिम एकताको सवालमा होस् अथवा चाहे त्यो निग्रो र अफ्रिकी जनताका मुक्तिमा होस् या साम्राज्यवादविरुद्ध भियतनामका युद्धमा होस् बलराज साहनी सधैँ सबै जनताका मनमा गहिरो भावना जगाउँथे । आफ्नो लक्ष्यप्रति सबैको हार्दिकता जगाउँथे ।
दङ्गाको बेलामा त उनी यस्तो काम गर्थे जस्तो कि उनको शिरमा कुनै भुत चढेको होस् । नाटक लेख्थे र अरुलाई पनि (मलाई पनि) लेखाउँथे । ती नाटकहरू पूर्वाभ्यास (रिहर्सल) गर्दथे । बजार, बस्ती, सडक, चौपारीको बालुवामा र कहिले कहिले त सभागृहमा पनि अर्थात् हरेक ठाउँमा उनी नाटकहरू प्रस्तुत गर्ने गर्दथे । (मेरो नाटक ‘जुवैदा’ को आफूले निर्देशन गर्ने क्रममा त बलराजले विशाल जहाङ्गीर हलमा उपस्थित दर्शकहरूलाई बिजुलीजस्तै दौडाएका थिए । जब नाटकको क्रममा उनले हलको बिचकै बाटो हुँदै मञ्चमा जन्तीका जन्ती उतारेका थिए । जसमा अगाडि अगाडि बैन्ड बाजाका साथसाथै सेतो घोडामा सवार दुलाहासम्म सबै कुरा थिए ।)
जे भने पनि उनको सबैभन्दा लोकप्रिय ऐतिहासिक सफलता फिल्ममा उनको कामकै शिलशिलाबाट प्राप्त भएको हो । यी भूमिकामा पनि जनताका जीवनको साथ उनको तदारुकता सम्पूर्ण तथा प्रश्नहरूमाथि थियो । उनले जुन भूमिका निर्वाह गरे त्यसलाई निकै उदारतापूर्वक यथार्थवादबाट सम्पन्न बनाए ।
१९४५ मा इप्टाले ‘धरती के लाल’ फिल्म बनायो । जसमा साराका सारा गैरव्यावसायिक अभिनेता–अभिनेत्री थिए । त्यसको लागि बीबीसीमा दुई वर्ष काम गरी केही समयअघि मात्रै लन्डनबाट फर्केका अग्लो, बलियो र सुन्दर बलराजले आपूmलाई आधा पेट मात्र खाएर बङ्गाली किसानकै रूपमा बदले । उनी आफैँ अनिकालमा परी मरेका किसानहरूमध्ये एक जस्तो देखिए । उनी महिनौँसम्म एक छाक मात्र खाएर निर्वाह गर्दथे । उनको अर्धनग्न शरीर आफैँ भोकले मर्न लागेको प्रमाण दिन चाहन्थे । हरेक दिन क्यामराको अगाडि जानु पहिला उनी आफ्नो धोती, पूरै शरीर र मुखमा पनि फोहर पानी छर्कने गर्दथे । उनी हरेक रूपमा दरिद्र देखिन चाहन्थे ।
‘दो विघा जमिन’ विमल रायको अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गरेको गाथा थियो । यो एक गरिब किसान जीवको गाथा थियो । जो कलकत्तामा हाते रिक्सा चलाएर यति धेरै पैसा कमाएर जम्मा गर्न चाहन्थे कि जसले साहुको जालबाट आफ्नो दुई विघा जमिन छुटाएर लिन सकियोस् । यो भूमिकामा अभिनय गर्नको लागि बलराज कैयौँ हप्तासम्म कलकत्तामा रिक्सा तान्नेहरूको बस्तीमा बसे । त्यहाँ उनले रिक्सा तान्नको लागि आफूलाई प्रशिक्षित मात्र गरेनन् बरु रिक्सा तान्नेहरूको व्यवहार आचरण पनि सिके । सबैभन्दा महत्वपूर्ण रिक्सा चलाउनेहरू जस्तै हेर्न र देखिन सिके । यो चलचित्रमा सबैभन्दा प्रसिद्ध एउटा दृश्य थियो । हाते रिक्सामा एक जना मोटी सवारी बसेकी थिइन् । मोटी आइमाईले बग्गीलाई उछिनियो भने दस रूपैयाँ इनाम दिने भनिन् । बग्गीलाई घोडाले तानेको थियो । मोटी आइमाईको हाँसोमा परपीडाको भाव लुकेको थियो । कलकत्ताको तातो पिच सडकमा घोडाको बग्गीलाई बलराजले हाते रिक्सा तानी दौडेर जिते ।
विमल रायले मलाई बताएका थिए । उनी त्यो दुरीको सुटिङमा बलराजको ठाउँमा व्यावसायिक हाते रिक्सा चालकलाई राख्न चाहन्थे । तर, बलराजले आफ्नो रूपमा नक्कली अर्को मानिसलाई राख्ने कुरा सुन्न पनि चाहेनन् । उनले नक्कलको सहाराबिना यथार्थवादी तरिकाबाट यो दृश्यमा अभिनय गरेका थिए । बरु यो दौडमा करिब करिब बलराजको प्राण फुस्केको होस् । यसरी उनले एक यस्तो दृश्य दिए जसलाई यथार्थवादी अभिनयको शानदार जितको रूपमा सधैँभरि सम्झना गर्न सकिन्छ । वास्तवमा यो सम्झनेभन्दा माथिल्लो कुरा थियो । यो त शोषित र वञ्चितहरूको जिन्दगीको सामाजिक यथार्थको एक मानवीय दस्ताबेज हो । वास्तवमा त्यही भूमिकाले एक महान् अभिनेताको रूपमा उनको सर्वोच्चता पनि स्थापित गरिदियो । उनलाई यो देशका करोडौँ कामदारहरूको आँखाको नानी बनाइदियो । त्यसपछि सधैँ उनलाई जनताका आफ्ना अभिनेताका रूपमा पहिचान हासिल भयो । अनि सम्मान र माया पाइरह्यो ।
‘काबुलीवाला’ मा रवीन्द्रनाथ टैगोरले रचेका निकै सोझो पठानको मायालु पात्रलाई साकार बनाउन बलराजले रावलपिन्डीमा बिताएका आफ्नो बालापनका स्मृतिहरूलाई फेरि जागृत पारेका थिए । जहाँ सिमान्त क्षेत्रबाट आउने पठान सजिलै दैनिक जीवनको अंश बन्न जान्छ । यसको अतिरिक्त उनले स्थानीय पठानहरूसँग सम्पर्क गरी उनीहरूको बोलचाल सिके । उनीहरूका प्यारो सारङ्गी बजाउन सिके । पश्तो (पश्चिम भारतदेखि अफगानिस्तानसम्म बोलिने एक प्राचनि आर्य भाषा) का गीत पनि गाउन सिके । उनले पठानहरूको हिन्दुस्तानी बोलचालका ध्वनि र त्यसको लालित्य सिके । नाटकको डबु र सिनेमाको पर्दा दुवैमा उनले पठानको यही भूमिका निभाएका थिए । दुवैमा कुन रूपमा प्रस्तुत गरिएको चरित्राङ्कन दोस्रोभन्दा अघि बढेर जितेको मान्न सकिन्छ भन्ने छुट्याउन गा¥हो बनाइदियो । वर्षौँसम्म उनी जहाँ गए पनि उनलाई मनपराउनेहरू उनलाई स्वागत गर्न काबुलीवालाको बोल्ने तरिकाको उनको नक्कल गर्ने गर्दथे ।
इप्टाको अन्तिम नाटक ‘शमा’ को मञ्चमा मिर्जा गालिबको चरित्र तथा त्यसको व्यक्तित्वको पुनसंरचना बलराजको अर्को महान् सफलता थियो । यो दुःखको कुरा हो कि यो पात्रलाई सिनेमाको पर्दामा प्रस्तुत गर्ने योजना कार्यान्वयन हुन सकेन । यो देशका करोडौँ मानिस उनको यो प्रस्तुति हेर्न वञ्चित रहे । फेरि हजारौँ मानिसहरूले त यो नाटक र डबुमा उनको प्रस्तुति हेरे ।

कवि मिर्जा गालिव

यो पात्रको प्रस्तुतिलाई पूर्णता दिन बलराज साहनी एक पन्जाबी बने । जो एक पन्जाबी हुनुमा गर्व गर्दथे । बलराजलाई एउटा सहुलियत थियो । उनको उर्दू उच्चारण शुद्ध र स्पष्ट थियो । उनले आफ्ना साथीहरूसँग गाउँले उर्दू राम्ररी सिके । उनी यस बोली यसरी नै बोल्न सक्थे जसरी सायद गालिब बोल्थे । मुशाइरा शैलीमा सायरी पढ्ने सुन्दर कला उनले हासिल गरेका थिए । गालिब पात्रमा उनको प्रस्तुति यति विश्वसनीय तथा जीवन्त थियो कि गालिबका एक महान् पारखी तथा गालिब साहित्यका विद्वान्ले भने, “निश्चित छ कि महान् सायर मैले कहीँ देखेको थिइनँ । तर, म यति जान्दछु कि गालिब यस्तै देखिन्थे, यस्तै सायरी पढ्थे र नाटकमा चित्रित विभिन्न अवस्थामा उनको यस्तै नै प्रतिक्रिया रह्यो होला ।”
तर, एक अभिनेता कुनै किसान, कवि, पठान आदिको भूमिका मात्र गर्दैन । पेसाले उसको अरु धेरै फरकफरक पात्रको अभिनय गर्न माग गर्दछ । बलराजद्वारा प्रस्तुत पात्रहरूमा मलाई उनको एक अङ्ग्रेज–भारतीय डाक्टर (राही), जेलर (हलचल), घुमी घुमी तमासा देखाउने (परदेशी), फरार कैदी (पिञ्जरे के पन्छी), एक इमानदार मानिस जो नाजायज रक्स्याहा बन्न जान्छ (दामन और आग) करोडपति व्यापारी (प्यार का रिश्ता) र पुलिस इन्सपेक्टर (हंसते जख्म) का प्रस्तुति विशेष याद आउँछ । आफ्नो अन्तिम चलचित्र ‘गरम हवा’ मा उनले आगराका एक जुत्ता व्यापारीको भूमिका निर्वाह गरे । जो विभाजनको विभीषिकाको शिकार बने र पनि पाकिस्तान जानको लागि तयार भएनन् । जुन चलचित्र निकै नै उद्देश्यपूर्ण र राजनीतिकरूपमा सार्थक बनेको थियो ।
यी अलग अलग भूमिकाहरूमध्ये हरेकमा उनी आफ्नो अभिनय कला कौशलको छाप छोड्थे । मानव व्यवहारको सहानुभूतिपूर्ण दृश्य र यथार्थवादको लागि गहिरो लगाव थियो । पात्रप्रति चरित्र र व्यक्तित्वका एक एक नशा नशाप्रति आश्चर्यजनक इमानदारीता भरिएको थियो ।
बलराज साहनीले कुनै चलचित्र संस्थानमा प्रशिक्षण पाएका थिएनन् । उनी अङ्ग्रेजी साहित्यका विद्यार्थी थिए । फेरि उनले अभिनयको असाधारण कौशल कहाँबाट पाए ? जीवनको विद्यालयबाट नै उनले मानिस, उनको दुर्बलता, मुर्खता, उनको कमजोरी, उनको शक्ति, उनको तौरतरिका तथा उनको व्यवहार, आचरण सजाउने तरिकाबारे हृदयदेखि नै हेर्न सिके ।
उनको वामपन्थी सहानुभूति तथा सम्बद्धताले नै उनलाई इप्टामा हामीहरूको समीपमा ल्याएको थियो । इप्टा त्यतिबेला भर्खरै गठन भएको थियो । उनी पूरै तनमनले इप्टाको काममा सक्रिय भए । उनी अभिनय गर्थे । नाटक निर्देशन गर्थे । मञ्चन गर्थे । त्यो पनि कुनै वातानुकुलित भव्य सभागृहमा होइन बरु घुमी घुमी गीत गाउने गाइने जस्तै चौपारीको बालुवा वा मुम्बईको झुपडपट्टिमा जहाँ चार टेबल जोडेर अस्थायी डबु बनाइन्थ्यो र सडक बन्द गरेर दर्शकहरू सडकमै बस्थे ।
आखिरमा उनलाई र हामीलाई आफ्नो समयको ज्वलन्त समस्याहरूबारे केन्द्रित आफ्नो नाटक भव्य सभागृहमै मञ्चन गर्ने अवसर पनि मिल्यो । तर, हामीले कहिल्यै पनि आफ्नो सुरुको उद्देश्य र सुन्दरताको सुगन्ध र सामान्य मानिसको मूल सम्पर्क टुट्न दिएनौँ । जनताप्रति तथा एक सोद्देश्य जन संस्कृतिप्रति प्रतिबद्धता नै बलराज साहनीको लागि प्रेरणा पनि थियो र हार्दिक भावना पनि ।
उनी एक अभिनेता थिए तर अभिनेता मात्र थिएनन् । उनको असाधारण प्रतिभाको अभिव्यक्ति विभिन्न क्षेत्रमा देखिएका थिए । उनी एक वामपन्थी पक्षधर तथा प्रगतिशील वचनवद्धताको राजनीतिक तथा सामाजिक कार्यकर्ता थिए । जब उनी कम्युनिस्ट पार्टीका औपचारिक सदस्य थिएनन्, त्यतिबेला पनि उनको दृष्टिकोण बदलेको थिएन । उनी एक विवेकवादी तथा अज्ञेयतावादी थिए । उनमा विश्वासप्रति यति दृढता थियो कि आखिरी समयसम्म आफ्नो विश्वासमा अडिग रहे ।
जतिबेला उनकी छोरीको मृत्यु भयो उनी इन्दिरा काङ्ग्रेसको चुनाव प्रचारको लागि मध्य प्रदेशमा थिए । यसप्रकार जतिबेला भिवंडीमा दङ्गा मच्यो उनी भिवंडी गए । एक मुस्लिम गल्लीमा मुसलमानहरूको साथमा दुई हप्ता बसे । धर्मनिरपेक्ष भारतमा त्यसको भरोसा कायम गर्न सकियोस् भन्ने चाहन्थे । राम्रो कामको प्रचार गर्नको लागि उनी लगातार देशभर यात्रा गरिरहन्थे । इप्टाको लागि तथा जुहू आर्ट थिएटरका लागि उनी नाटक लेख्थे । त्यसलाई अभियन गर्थे । त्यसको निर्देशन गर्थे । यहाँसम्म कि यी नाटकको लागि आवश्यक पैसा खर्च पनि गर्दथे ।
उनी चलचित्रबाट पैसा त कमाउँथे । तर, ती पैसा आफ्नो लागि यश आरामको लागि खर्च गर्नुको बदला कमाइको धेरै पैसा उनी अनेक राम्रो कामको लागि दिन्थे । उनी ती काम निश्चित गर्न खोज्थे जुन काममा उनको प्रतिबद्धता थियो । उनीसँग मेरो अन्तिम भेटघाट यस्तै होस्टल स्थापना गर्ने योजनाको शिलशिलाममा भएको थियो । जहाँ मुस्लिम (अरब) र भारतीय विद्यार्थी सँगसँगै बस्न सक्थे । जुन दिन उनको निधन भयो त्यो दिन पनि हृदयघाट हुनु घण्टाभरअघि मेरो उनीसँग टेलिफोनमा कुरा भएको थियो । उनी निकै जोसका साथ हैदरावादमा बालिका मेमोरियल अस्पताल निर्माण गर्नेबारे नै चर्चा गरिरहेका थिए ।
एक सुन्दर जिन्दगीको लागि जनताका सङ्घर्षमा सक्रिय सहभागीताको अनुभवबाट नै उनको तेजस्वी व्यक्तित्व भरिएको थियो । उनले ती विविध पात्रहरूमाथि अत्यन्त गहिरो र सहानुभूतिपूर्ण पकड हासिल गरेका थिए । जसलाई उनले कुशलतापूर्वक तथा हार्दिक मानवीय भावनाका साथ सजीव तुल्याएका थिए ।
उनको बहुप्रतिभाशाली व्यक्तित्वको प्रस्फुटन खाली अभिनय कलामा मात्र सीमित थिएन । उनी एक लेखक थिए । पहिला उनले हिन्दीमा कथाहरू लेखेका थिए । पछि गएर आफ्नो प्यारो पन्जाबी भाषामा लेखे । जसको विकासको लागि उनले भावपूर्ण समर्पणका साथ काम गरेका थिए । पाकिस्तानको दुई हप्ते यात्राबारे उनको यात्रा दैनिकी बितेको समयमा संलग्न हुन अत्यन्त आकर्षक शक्ति भरिएको एक दस्ताबेज हो । जसलाई रैडक्लिफले कोरेको सीमा रेखाको दुवैतर्फ अत्यन्त उत्साहका साथ स्वागत भएको थियो । सामान्यतः भारतीय लेखकको लागि यो दुर्लभ उपलब्धि हो । पन्जाबी भाषा, पन्जाबी साहित्य तथा पन्जाबी संस्कृतिमाथि उनको ज्यादै भरोसा थियो । यसले उनलाई पाकिस्तानका कुनै पनि पञ्जाबीको साथ सम्पर्क जोड्न समर्थ बनाउँथ्यो । उनको निधन हुनु केही हप्ताअघिकै कुरा हो, लाहोरबाट एक युवा सम्पादक दुई देशका बिच आदान प्रदानको क्रममा आएका थिए । बलराजले उसलाई खानाको लागि बोलाए । त्यो भोजमा उनले एउटा नारा दिएका थिए, “संसारभरका पन्जाबी एक होऔँ ।” निश्चितरूपमा उनी पन्जाबी भाषाका पक्षधर थिए । फेरि पनि जवाहरलाल नेहरूजस्तै उनी सबै भारतीय भाषाहरूको लागि रोमन लिपि अपनाउन वकालत गर्दथे । ताकि उनीहरूमा एकता तथा एकरूपता ल्याउन सकियोस् ।
जब उनी सुटिङमा जान्थे उनको साथ गुरुमुखीका टाइपराइटर हुन्थ्यो । यसैमा उनी दिउँसोको ब्रेकको क्रममा आफ्नो लेख, कथा, निबन्ध, नाटक र यहाँसम्म कि उपन्यासको अंश पनि लेख्थे । सबै पन्जाबीमा हुन्थ्यो । उदाहरणको लागि जतिबेला उनी आगरामा सुटिङ गरिरहेका थिए । उनी आफ्नो खालि समय मुस्लिम जुत्ता बनाउनेहरूको जिन्दगीको बारेमा जान्न लाग्दथे । किनभने, उनी जुन पात्रको अभिनय गर्दै थिए त्यो यही समाजभित्रबाट आएको थियो । यदि पञ्जाबको कुनै गाउँमा बसे भने उनी आफ्ना गाउँलेहरूको बिच उनीहरूकै बोलीचाली तथा गीतहरू टेपरेकर्ड गर्दै हिँड्थे किनभने जनताका भाषाका आफ्नो शब्दावली थप विस्तृत र समृद्ध बनाउन सकियोस् ।
उनलाई साहित्यको प्यास थियो । उनलाई रङ्गमञ्चसँग माया थियो । उनलाई सिनेमामा आत्मीयता थियो । उनलाई राजनीतिमा सबै प्रगतिशील पक्षधरप्रति गम्भीर संलग्नताको भावना थियो । उनी सोभियत सङ्घलाई प्रेम गर्थे । उनी चीन, भियतनाम, क्युवा र अरब देशहरू र त्यसका जनतालाई माया गर्दथे । तर, ती सबैलाई भन्दा बढी उनी भारतीय जनतालाई माया गर्दथे । भारतीय जीवन, सङ्घर्ष, समस्या, कमजोरी तथा शक्तिका साथ आफैँलाई जोडेर हेर्ने गर्दथे । के आश्चर्यको विषय थिएन भने उनको अन्तिम शब्द थियो, “मेरा मानिसहरूलाई मेरो माया सुनाऊन् ।”

स्रोत : इप्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *