भर्खरै :

सहकारीले पछाडि परेका वर्गको हित र सेवा गर्नुपर्ने

सहकारीले पछाडि परेका वर्गको हित र सेवा गर्नुपर्ने

भक्तपुर, २१ पुस । सहलह बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन शनिबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सहकारीले व्यापार, व्यवसाय, नाफा घाटा नहेरी समुदायको पछाडि परेका वर्गको हित र सेवा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले आर्थिक पारदर्शिता कायम राख्न सहकारी संस्थाले लेखा प्रणाली तालिम सञ्चालन गर्नुपर्ने, सहकारी ऐन, नियमको अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिराख्नुपर्ने आवश्यकता औँल्याउँदै सहकारी संस्थाका वृद्धवृद्धाहरूको लागि आदर निकेतन स्थापना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले देश र विदेशका राजनीतिक विषयमा जानकारी राख्नुपर्नेमा जोड दिँदै देशमा खराब शासक दल र मन्त्रीहरूले गर्दा दिनप्रतिदिन युवाहरू बिदेसिरहेको र देशमा युवा जनशक्ति अभाव भएको स्पष्ट पार्नुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सहकारीहरूको गतिविधि समाजवादी अभियानको लागि सहयोग सिद्ध हुनुपर्ने, सहकारी सदस्यहरूले सहकारीका गतिविधिबारे चासो राख्नुपर्ने र सहकारी धनीवर्गको लागि नभई गरिब वर्गको लागि हुनुपर्ने विचार राख्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका प्रतिनिधि बालकृष्ण ध्वजुले सहकारीको साधारणसभामा उपस्थित भएर लाभांश तथा उपस्थिति भत्ता लिएर फर्किने सदस्यहरूको कारणले धेरै सहकारीहरूलाई ठग्ने वातावरण बनेको स्पष्ट पार्दै समुदायमा आधारित सहकारी संस्थामै बचत गरे बचत सुरक्षित रहने बताउनुभयो ।
संस्थाका सल्लाहकार शिवनारायण ग्वाछाले सरकारले ठगी गरेका सहकारीहरूलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । कानुनी सल्लाहकार पुरुषोत्तम ग्वाछा, उपाध्यक्ष एण्डिज ग्वाछा, सचिव रामेश्वर मचामसीले पनि बोल्नुभएको सो कार्यक्रम संस्थाका अध्यक्ष श्याम तजलेको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा एसईई र प्लस टु उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा सचिव रामेश्वर मचामसी, कोषाध्यक्ष श्रीप्रसाद ग्वाछा, लेखा सुपरिवेक्षण संयोजक केशरीमैया ग्वाछाले प्रस्तुत गरेको प्रतिवेदन अनुमोदन भएको थियो । बन्द सत्रले श्याम तजलेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *