नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
दोस्रो भ्रमण
वैशाख १–१६, २०४९ (Apr. 13-28, 1992)
“सन् १९८८ को अक्टोबर १९ मा दुइटा सङ्ग्रहालय बनाइयो । एक नं. भवनमा १२ कोठा छन् । का. किम इल सङले दिनुभएको निर्देशन, पठाउनुभएको उपहार, साहित्य र चलचित्र छायाङ्कन गर्ने कोठाहरू प्रदर्शित गरिएका छन् । चलचित्रहरू राजनैतिक घटनाहरूमा आधारित छन् । प्रजातान्त्रिक सुधारको विषय, जापानविरोधी लडाइँ, संरा अमेरिकी आक्रमणको विरोधमा लडिएका लडाइँ र गतिविधि, कला र चलचित्रले जनतालाई शिक्षित पार्ने काम हुन्छ ।”
तिनले भन्दै गइन्, “राष्ट्रिय गीत छनोटको निम्ति ८०० भन्दा बढी गीतहरू दर्ता भएका थिए र त्यसमध्ये महान् नेताले नै हेर्नुभयो र लेख्नुभयो । त्यसका नक्कलहरू पनि यहाँ प्रदर्शित छन् ।”
“‘मेरो जन्मभूमि’, ‘फेरि मोर्चामा’, ‘जवान लडाकु’ आदि सुरुका लोकप्रिय चलचित्रहरू हुन् । केही चलचित्रहरूले अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएका छन् । घोडाको टापको आवाज, आँधी आदिको ध्वनि निकाल्ने कोठा, जुछे कोठा र समय समयको मुख्य मुख्य चलचित्र निर्माण गर्दा महान् नेताले निर्देशन दिनुहुँदाका कोठाहरू अलग–अलग थिए । एउटा चलचित्रको छायाङ्कनमा १५ पटकसम्म उहाँले स्थलगत निर्देशन दिनुभएको थियो र ‘पार्टीका दुई छोरी’ र ‘फूल बेच्ने केटी’ उहाँकै रचना हुन् । उहाँको भनाइमा सैद्धान्तिक पक्ष भएको कला र साहित्य तथा क्रान्तिकारी भावना सुनभन्दा मूल्यवान हुन्छ ।”
स्टुडियोका निर्देशिकाले का. किम जोङ इलबारे भन्दै गइन् – दुई नम्बरको प्रदर्शनी भवनमा १५ कोठाहरू छन् । सन् १९६४ देखि १९८७ सम्म प्रिय नेता किम जोङ इलले विभिन्न चलचित्र निर्माणको सिलसिलामा जम्मा ८९४१ वटा निर्देशन पठाउनुभयो र १६४३ पटक स्थलगत निर्देशन दिनुभएको थियो ।
‘रगतको समुद्र’ (The Sea of Blood) भन्ने जापानविरोधी चलचित्रको छायाङ्कन हुँदा उहाँले २८ अगस्ट १९६९ मा ६ घण्टासम्म कार्यस्थलमै बसेर निर्देशन दिनुभएको थियो ।
बस्ती र घरहरूसमेतको सहरको छायाङ्कन गर्न हवाईजहाजको प्रयोग गर्नुपर्दथ्यो, तर हवाईजहाज हल्लिने भएको हुँदा टी. भी. टावर (धरहरा) बाट छायाङ्कन गर्नुपर्ने भयो । उहाँकै निर्देशनमा ५ जून १९६३ को दिन आफैँले ठुलो क्यामरा बोकेर छायाङ्कन गर्नुभयो ।
का. किम इल सङ पात्र भएको दृश्य र पाठ भएको भाव उहाँ आफ्नै निर्देशनमा छायाङ्कन गराउनुहुन्थ्यो । कोठाहरूमा प्रिय नेताको आफ्नै र आफूलाई उपहार दिइएका राम्रा राम्रा वस्तुहरू उहाँले स्टुडियोमा पठाई दिनुभयो । अति राम्रो टेलिफोन, पियानो, जर्मनीले दिएको पन्नाको बाकस, दुर्लभ तस्बिरहरू सबै उहाँले यसै सङ्ग्रहालयमा पठाई दिनुभयो । कार्टुन फिलिमको कोठा, गीतहरू रेकर्ड र सिफारिस पत्रहरू आदि राखिएका विभिन्न कोठाहरू हेरियो । ‘फूल बेच्ने केटी’ भने चलचित्रको निम्ति ३०० वटा गीतहरू आएकोमा ३८ गीत स्वीकार गरियो । एक वर्षमा उहाँको निर्देशनमा ५ वटासम्म क्रान्तिकारी अपेरा तयार भएका छन् ।
गीत, चित्रकला, एक्रोबेटिक आदि विषयमा दिनुभएका निर्देशनहरू र वस्तुहरू अलगअलग कोठाहरूमा प्रदर्शित थिए । उहाँले एउटा गाउँमा ८०० जना अर्थात् सम्पूर्ण गाउँलेहरूलाई सङ्गीत गतिविधिमा सामेल गराउनुभएको थियो ।
‘फूल बेच्ने केटी’ र ‘राष्ट्र र भाग्य’ नामक चलचित्रको निर्देशन उहाँले नै गर्नुभएको थियो । साहित्य, कला, चलचित्र, अपेरा, गीत आदि उहाँले ४० वटा रचनाहरू लेख्नुभएको छ । उहाँको भनाइमा ‘साहित्य मानवजातिको विज्ञान हो ।’
त्यसपछि हामी स्टुडियोका गाउँ, सहर, रेलवे, चीन, जापान, दक्षिण कोरिया, पश्चिमी देशहरू, पहाड, नदी, नाला, दरबार, कोरियाको हावा लाग्ने उत्तरी क्षेत्र आदि छायाङ्कन गर्न बनाइएका घर र बस्तीहरू हेर्न गयौँ । बाहिर नगई स्टुडियोभित्रै विभिन्न देश र विभिन्न अवधिको चलचित्र बनाउँदा समय र खर्च बच्ने हुन्छ । त्यस उद्देश्यको लागि घरहरू मात्रै ८००० वर्गमिटर छ भने त्यो स्टुडियो जम्मा ३००० वर्गमिटरमा फैलिएको छ । त्यहाँ जम्मा २७० वटा घरहरू बनेका छन् । प्रसङ्गवश स्टुडियोका इन्चार्ज (प्रमुख) को भनाइमा सन् १९७० तिरै प्रजग कोरियामा फुसको घरमा जनता बस्नु परेन ।
कोरियाको जम्मा १२० देशसँग सांस्कृतिक सम्बन्ध अर्थात् कोरियाली सांस्कृतिक टोली गएर नाचगानको कार्यक्रम प्रदर्शन गरिसकेका छन् । विदेशबाट धेरै पुरस्कारहरू पनि प्राप्त गरिसकेका छन् ।
स्टुडियोका इन्चार्ज (प्रमुख) ले फेरि फेरि आउनु होला र स्वागत गर्न पाउने आशा व्यक्त गरे । उनलाई धन्यवाद दिएर हात हल्लाउँदै बिदा लिएँ ।
अन्तर्राष्ट्रिय बैठक र उपहार
अपराह्न ३ बजे जनताको सांस्कृतिक दरबारमा The International Liaison Committee For Peace and Reunification in Korea (कोरियाको शान्ति र पुनःएकीकरण निम्ति अन्तर्राष्ट्रिय सम्पर्क समिति) को तर्फबाट पार्टी, सरकार, कोरिया पुनःएकीकरणका राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूको संयुक्त बैठक भयो ।
अति भव्य त्यस भवनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका धेरै देशका प्रतिनिधिहरूले मन्तव्य दिए ।
त्यहाँ मैले कोरिया पुनःएकीकरण निम्ति एक राष्ट्र, एक देश, दुई व्यवस्था– दुई सरकारमा आधारित महासङ्घको प्रस्ताव अति न्याययुक्त (Reasonable) र उचित (Rational) भएको अभिव्यक्ति दिएँ ।
त्यसपछि जापानका प्रतिनिधिले एउटा अपिल पढे ।
कार्यक्रमको बिचमा १० मिनेट जति चिया खाने समय राखिएको थियो । त्यसपछि बैठक निरन्तर चल्यो र साँझ ६ बजे ‘उपत्यका अतिथि सदन’ फक्र्यौँ ।
राती ९ बजे का. किम इल सङ र कोरियाली सरकारको तर्फबाट उपहार प्रदान गर्न कोरियाली कामरेडहरू आउनुभयो । का. किम इल सङको ८० औँ शुभजन्मोत्सवको उपलक्ष्यमा हाम्रो पार्टीको तर्फबाट दिइएको शुभकामनाको धन्यवाद पत्र औपचारिकरूपले हस्तान्तरण उहाँहरूले गर्नुभयो । त्यसपछि राम्रो र चिप्ले पत्थर (Gem) को बिगुल बजाइरहेको भालु, का. किम इल सङको संस्मरण ‘यस शताब्दीसँग’ २ भाग, का. किम जोङ इलको ‘समाजवादको ऐतिहासिक पाठ’, कोरियाली गीतहरूको एउटा क्यासेट, जापानी वनस्पतिशास्त्रीले विकास गरेको ‘किम इल सङ फूल’ अङ्कित र इन्डोनेसियाका एक वनस्पति शास्त्रीले विकास गरेको ‘किम जोङ इल फूल’ अङ्कित २ वटा लकेट (बाय्च) पनि हस्तान्तरण उहाँहरूले गर्नुभयो ।
का. किम इल सङको दीर्घायु, कोरियाली जनताको सुख र समृद्धिको कामना गर्दै टोस्ट प्रस्ताव राखियो र एकछिन दुई देशका जनता र दुई पार्टीको समसामयिक कुराकानीपछि कोरियाली कामरेडहरूलाई बिदा दिएँ ।
पानमुनजोममा (६ वैशाख, २०४९/18 Apr., 1992)
बिहान ८.३० बजे हामी प्योङयाङबाट १६० कि.मि. टाढा कोरिया युद्धमा युद्धविराम भएको पानमुनजोमको ३८ औँ अक्षांश रेखा (युद्धविराम रेखा) भएको कोर्यो राज्यको प्राचीन राजधानी कैसोङ (Kacsong) तिर ४७० मिटर, ६०० र १०४० मिटरसम्मका लामा र स–साना सुरुङे बाटो छिचोल्दै मोटर रफ्तारमा बढ्दै गयो ।
बिच बाटोमा चिया खाएर हामी फेरि कैसोङतिर लाग्यौँ । राजमार्ग नयाँ हो, बिचमा स–साना रुखहरू रोपिएका थिए, दायाँ–बायाँ २–३ वटा मोटर हिँड्न सक्ने धर्को कोरिएका लामा र चौडा लम्पसार परेका सडकमा हामी चढेको मोटर १२०–१५० कि.मि. प्रतिघण्टाको बेगले दौड्दै थियो । बिहान १०ः१५ बजे हामी कैसोङ होटल पुग्यौँ ।
एकछिन आराम गरी हामी पानमुनजोम अर्थात् असैनिक क्षेत्रमा गयौँ ।
पानमुनजोम युद्धविराम सन्धि गरेको ठाउँ हो । त्यहाँ आज पनि ७ वटा घरमध्ये उत्तर र दक्षिण कोरियाले प्रयोग गर्ने र बैठक बस्ने एकतले घरहरू छन् । युद्धविराम रेखाको पारिपट्टि अमेरिकी सेना संयुक्त राष्ट्र सङ्घको झण्डामुनि बसिरहेको छ । धेरै देशका साथीहरू त्यहाँ जाँदा अमेरिकीहरू हाम्रो फोटो लिँदै थिए र सबै कराए ‘Yankee Go Home !’ (अमेरिकीहरू घर फर्क !)
कोरिया सन् १९४५ मा मुक्त भयो– जापानी साम्राज्यवादबाट । तर, १९५० जून २५ मा संरा अमेरिका र उसका सहयोगीहरूले संरा सङ्घको झन्डा राखेर कोरियामाथि हमला गर्यो । १९५३ जुलाई २७ मा युद्धविराम भयो– साम्राज्यवादी अमेरिका कोरियाको अगाडि झुक्नुपर्यो ।
ऐतिहासिक स्थलको रूपमा युद्धविराम भएको ठाउँमा घरहरू बनाउने प्रजग कोरियाको प्रस्तावलाई संरा अमेरिकाले अस्वीकार गर्यो र पालहरूमात्र राख्ने कुरा ग¥यो । पालहरूमात्र राख्दा कुनै चिह्न नहुने तथा तिनीहरू नैतिकरूपले डराएको हुनाले नै त्यसो भनेका हुन् ।
एउटा कोठामा कोरिया र संरा सङ्घको झन्डा थियो, युद्धविराममा हस्ताक्षर भएको बेलाको कागजपत्रहरू त्यहीँ राखिएको छ ।
अर्को कोठामा लडाइँको बेला अमेरिकीहरूले मारेका जनताका टाउकाका तस्बिरहरू समेत प्रदर्शन गरिएका छन् । ३० जून १९५१ मा संरा सङ्घको कमान्ड (फौज) का कमान्डर–इन–चिफ मान्टबिरिडिङले हस्ताक्षर गरेको युद्धविरामको चिट्ठीपत्रको फोटोकपी राखिएको छ ।
युद्धविरामपछि पनि दक्षिणबाट अनेक जासुसी हवाईजहाज, गुप्तचर दलहरू, U-2 विमान र १९६६ अक्टोबरमा अमेरिकी गुप्तचर जहाज पाब्लो पठाएको थियो जसलाई कोरियाली सेनाले पक्राउ गरेको थियो । त्यसको तस्बिर पनि प्रदर्शनमा राखिएको छ ।
सन् १९७० देखि प्रजग कोरियाकै अगुवाइमा उत्तर–दक्षिणको वार्ता सुरु भएको हो । मुख्य कुरो त ५ वर्षको कोरियाली सेनाले कसरी ३०० वर्षको इतिहास भएको अमेरिकी सेनालाई हरायो भन्ने हो ।
दिउँसो १ः४५ मा हामी कैसोङ होटल फर्की खाना खायौँ र दक्षिणका अधिकारीहरूले युद्धविराम रेखाको असैनिक क्षेत्रमा बनाएको कङ्क्रिट पर्खाल हेर्न गयौँ । त्यो पर्खाल ८५० किलोमिटर लामो र ५ देखि ८ मिटरसम्म अग्लो छ ।
सन् १९७१ मा बनेको त्यो पर्खाल पहाड र नदीनाला हुँदै गएको छ । नदीमा जाली राखी छेकेको छ । हामीले दूरविनले पारिपट्टि हे¥यौँ– संयुक्त राष्ट्र सङ्घको झन्डा फहरिरहेकै थियो । तर, सबै हुकुम संरा अमेरिकाको चल्छ । कतै कतै तोपहरूलाई र ट्याङ्कहरूलाई तम्तयार राखिएको देखिन्थ्यो ।
त्यससम्बन्धी डकुमेन्टरी फिलिम पनि हे¥यौँ । त्यो पर्खाल माथिबाट चराहरू उडेको देखिन्थ्यो, नदीमा माछाहरू त्यो जालीबाट आवतजावत गर्न सक्छन् । तर, मानिसहरू उत्तर र दक्षिण गर्न सक्दैनन् । दक्षिण कोरियाका धेरैधेरै विश्वविद्यालयका छात्रछात्राहरू उत्तर जान आन्दोलन गर्दै गरेको डकुमेन्ट्रीमा हे¥यौँ ।
यी सबै कुरालाई हेर्दा अमेरिकीहरूले कोरियाली जनतामाथि अत्याचार थोपरेकै हो भन्ने प्रस्ट देखिन्छ । अमेरिकीहरू दक्षिणबाट हट्नासाथै समस्या सुल्झाउन गा¥हो पर्ने छैन । यसकारण, त्यहाँबाट अमेरिका हट्नुपर्छ र कोरियालाई पुनः एकीकरण गर्न दिनुपर्छ भन्ने कुरा जायज हो ।
अपराह्न ४ः४० तिर हामी फक्यौँ । बाटोमा ३०,००० परिवार अटाउने बस्ती, २०,००० परिवार अटाउने छोलिमा बस्ती र ५०,००० परिवार अटाउने पुनः एकीकरण तोङली बस्ती हेर्दै ७ बजेतिर ‘उपत्यका अतिथि सदन’ पुग्यौँ ।
शिल्पकला केन्द्रमा (३ वैशाख, २०४९/19 Apr., 1992)
बिहान ९ बजे हामी Comprehensive Fine Art Center अर्थात् विविध कला केन्द्र हेर्न गयौँ । १२० जना गनिएका कलाकारहरूमध्ये ८० जनाले काम गर्ने त्यस केन्द्रका प्रबन्धकले हाम्रो स्वागत गर्दै परम्परागत चित्र र अन्य कलाकृति राखिएको पानी रङ्ग, तेल रङ्ग, कार्चोपी र बुट्टा भरेका मूर्ति बनाउने आदि कोठाहरूमा लगे ।
हरेक कोठामा का. किम इल सङ र का. किम जोङ इलका विभिन्न ऐतिहासिक बेलाको मजदुर, किसान, बुद्धिजीवी, खेत र कारखानाका ठुल–ठुला र सजीव चित्रहरू राखेको देखेँ । पुनःएकीकरण निम्ति सङ्घर्ष गरेका युवक, विद्यार्थी र जनताका चित्रहरू सा¥है सजीव थिए ।
त्यस्तै ख्यातिप्राप्त कलाकारहरूको चित्र र परिचयसमेत टाँगिएको देखेँ । देशका सहिद, अन्य सङ्घर्षशील व्यक्तित्वहरूका परिचय र चित्रहरूका साथै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका चित्रहरूसमेत प्रदर्शित थिए ।
पहाड, नदी–नाला, झरना, फूल, पशुपंछीका चित्रहरू, मूर्ति र दुवैतिर उस्तै देखिने बुट्टा भरेका कलाकृति सबै हेर्दा ‘कोरिया कलाकाहरूको देश हो’ भन्ने मेरो ठम्याइले अझ पुष्टि पाएको देखेँ ।
केही चित्रहरू पत्थर (Gem Stone) का धुलाहरू राखेर बनाइएका अति आकर्षक थियो । चित्रकलामा यो पहिलो प्रयोग प्रजग कोरियाले नै गरेको देखियो । त्यस्तै माटाका भाँडाहरू र धातुका भाँडाहरू, सिंहमर्मरका मूर्ति, भाँडाकुँडा, पशुपन्छी र अन्य सामान हेर्दा साँच्चै माया लाग्ने खालका थिए । नेपाली कलाकारहरूले हेर्न पाए तिनीहरू कत्ति खुसी हुने थिए !
तर, आश्चर्य, पेक्डु हिमालका सेतो भालु, सेतो हरिण, सेतो बाघ, सेतो गौँथली र सेतो डाँफेका चित्रहरू हेरेर सोधे– ‘के साँच्चै, सबै सेतै पशुपन्छी छन् ?’ साँचो रहेछ । नयाँ कुरा थाहा पाएँ । कोरियाको उत्तरतिर सेतै पशु–पन्छी हुँदा रहेछन् ।
‘समुद्री छाल’ (Wave of the sea) नामको तैलचित्र र कोरियाली शैलीको चित्रकलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको रहेछ । बडो सुन्दर थियो– त्यो चित्र ! कलाको क्षेत्रमा काम गर्न चाहने सबैलाई सामान उपलब्ध गराइदिने त्यहाँ बन्दोबस्त रहेछ । यसबारे का. किम इल सङ र प्रिय नेता का. किम जङ इल आफैँ चाख राख्नुहुने कुरा प्रबन्धकले बताए ।
क्रान्तिकारी सहिद स्मृति स्मारक
बिहान १० बजे हामी क्रान्तिकारी सहिद स्मारक स्थल (The Revolutionary Martyrs Cementary) मा गयौँ । यासोङ पहाडमा ११ अक्टोबर १९७५ मा बनेको यस स्मारक स्थलमा ११० जना सहिदहरूको पार्थिक शवलाई राखिएको छ । १९८५ मा २००० मानिसहरूले २ वर्षमा यसलाई अझ ठुलो बनाए ।
यहाँ राखिएका सालिकहरूमध्ये एक का. किम इल सङका भाइ किम होल चुलको छ । उहाँ १९ वर्षको उमेरमा सहिद हुनुभएको हो । काका किम स्योड कोङ १५ वर्षसम्म जेलमा बन्दी बनाइनुभयो र त्यही शहादत्त प्राप्त गर्नुभएको थियो । ‘कम्युनिस्ट आमा’ भन्ने एकजना बज्यै पनि यही हुनुहुन्छ र उहाँको छोरो मातोङ ही पक्राउ पर्दा, यातनाले पार्टीको गुप्त कुराहरू ओकल्ने डर हुँदा उहाँले आफ्नो जिब्रो काट्नुभयो र पछि जापानी साम्राज्यवादीहरूले उहाँको हत्या नै गरे ।
का. किम इल सङकी जहान र का. किम जोङ इलकी आमा किम जङ सुक जापानविरोधी लडाइँमा सा¥है दुःखकष्टले काम गर्दा गर्दै बिरामी भई ३२ वर्षको उमेरमा सन् १९४९ मा बित्नुभयो । उहाँको पनि सालिक राखेर कोरियाली सरकारले क्रान्ति र मुक्तिको निम्ति काम गर्ने मानिसहरूको कदर र सम्मान गरेको देखियो ।
जापानविरोधी सङ्घर्षमा गुरिल्ला युद्ध गरेका सिपाहीहरू र गुप्तरूपले काम गरेका पार्टी कार्यकर्ताहरूको समेत ठुलठुला मूर्ति कुँडेर कलालाई अमर पनि बनाएका छन् । यहाँका सबै नमुना र मूर्तिहरू कुँड्ने काम शिल्पकला केन्द्रबाट भएको हो । झन्डाहरू रातो ढुङ्गाको हो भने कति मूर्तिहरू धातुका छन् र केही ग्रेनाइटका छन् । १५० टनसम्मको ढुङ्गामा मूर्ति कुँडिएको छ ।
नेपाली भाषामा भन्नुपर्दा सहिद स्मृति स्थल भनिने विशाल स्मारक सा¥है भव्य र विशाल छ । प्योङयाङ सहर नै देखिने र अति सफा र रमाइलो वातावरणमा सहिदहरूका बयानहरू सुन्दा कोरियाली क्रान्तिमा संसारका कुनै पनि क्रान्तिभन्दा कम देशभक्तहरूले आफूलाई बलिदान गरेका छैनन् भन्न कर लाग्छ । सहरको उत्तरतिरको उचाइमा रहेका यस सहिद स्मारकमा ‘अगाडि’ बढ्दा र रक्षा गर्दा अनि लडाइँमा सहिद भएका र भूमिगत काम गर्दा गर्दै सहिद भएकाहरू भनेर दायाँबायाँ छुट्याइएको छ । कोरियाली वास्तुकलाको शैलीले निर्मित सहिद स्मृति स्मारक अविस्मरणीय छ ।
कैसोङ मनोरञ्जन स्थल
बिहान ११ बजेतिर हामी सूर्यविनायक, गोदावरी, स्वयम्भुजस्ता मनोरञ्जन स्थलहरूमा गयौँ । आइतबार बिदाको दिन थियो । सयौँ हजारौँ केटाकेटी, युवकयुवती र परिवारका परिवार नै घुम्न आइरहेका थिए । केही आफ्नो खाना बोकेर आएका थिए भने केहीले त्यहाँ पसलमा किनेर खाए ।
त्यहाँ जेट कोप्टर भन्ने बिजुलीले चल्ने सानो रेल, बिजुलीले चल्ने कार, घुम्ने पिङ, फूलजस्तो घुम्ने घोडा आदि अनेक मनोरञ्जनका साधनहरू राखिएका छन् । हामीले पनि मनोरञ्जनमा भाग लियौँ । जीवराज आश्रितजीले भन्नुभयो, “खतरनाक खेल त बन्दै गर्नुपर्ने, मेरो त मुटु नै बाहिर निस्कन लागेको जस्तो अनुभव भयो ।” झरना, पोखरी, डुङ्गा आदिको राम्रो बन्दोबस्त गरिएको छ । वनभोजको राम्रो थलो !
Leave a Reply