नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
गाजा युद्धमा चासो राख्ने सबैले ध्यान दिएर पढ्नुपर्ने र छापेर सबैतिर बाँड्नुपर्ने अत्यन्त महत्वपूर्ण दस्तावेजलाई उजिल्याउँदै यो लेख्दै छु ।
म यहाँ गाजामा प्यालेस्टिनी जनताविरुद्ध जातिसंहार मच्चाइरहेकोमा इजरायललाई प्रतिवादी बनाई दक्षिण अफ्रिकाले २०२३ डिसेम्बर २९ मा अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको ८४ पेज लामो ‘निवेदन’ बारे कुरा लेख्दै छु । २०२३ अक्टोबर ७ मा सुरु भएको इजरायली गतिविधिबारे सो दस्तावेजमा भनिएको छ – इजरायली कारबाहीहरू “गाजापट्टीका प्यालेस्टिनका निश्चित राष्ट्र, नश्ल र जातिको उल्लेख्य अंशलाई नष्ट गर्ने नियतले गरिएको छ ।” (पेज १) यो आरोप जेनेभा अभिसन्धिको जातिसंहारसम्बन्धी परिभाषासँग स्पष्टरूपमा मेल खान्छ । जेनेभा अभिसन्धिमा इजरायलको पनि हस्ताक्षर छ ।
दक्षिण अफ्रिकी निवेदनमा गाजामा इजरायली कार्यहरूको गजबको वर्णन छ । निवेदन विस्तृत, सुस्पष्ट, तार्किक र प्रामाणिक छ । यो तीन भागमा विभाजित छ ।
पहिलो, यसमा २०२३ अक्टोबर ७ यता प्यालेस्टिनीहरूमाथि इजरायली प्रतिरक्षा बलले थोपेको आतङ्कको मसिनो वर्णन छ । साथै इजरायली सेनाले किन धेरैभन्दा धेरै मृत्यु र विनाशमा जोड दिइरहेको छ भनी निवेदनले कारणहरू केलाएको छ ।
दोस्रो, प्यालेस्टिनी जनताप्रति इजरायली नेताहरूले जातिसंहारक नियत राखेको विषयमा निवेदनमा पर्याप्त प्रमाणहरू पेस गरिएको छ । (पेज ५९–६९) इजरायली नेताहरूका सबैजसो भनाइहरू निवेदनमा उल्लेख छन् । प्यालेस्टिनी जनताप्रतिको इजरायली नेताहरूको विषवमन विचित्र छ । प्यालेस्टिनी जनताबारे इजरायली ‘उच्चपदस्थहरू’ का अभिव्यक्तिहरू पढ्दा यहुदीहरूसम्बन्धी नाजी भनाइहरू झलझली हुन्छ । (पेज ५९) सारमा, दस्ताबेजले गाजामाथिको इजरायली कारबाही तथा इजरायली नेताहरूका भनाइको अभिप्रायलाई एक साथ राखेर हेर्दा ‘गाजामा प्यालेस्टिनीहरूलाई भौतिकरूपमा नष्ट गर्ने’ नियोजित इजरायली नीति स्पष्ट हुने तर्क गर्छ । (पेज ३९)
तेस्रो, दस्तावेजले गाजा युद्धलाई विहङ्गम ऐतिहासिक पृष्ठभूमिमा राखेर हेरेको छ र गाजाका प्यालेस्टिनीहरूलाई इजरायलले धेरै वर्षदेखि कैद पशुको स्थितिमा राखेको चर्चा गरेको छ । प्यालेस्टिनीहरूप्रतिको इजरायलको क्रूर व्यवहार दर्साउन दस्ताबेजले संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रतिवेदनका अंशहरू उद्धृत गरेको छ । छोटकरीमा, अक्टोबर ७ पछि इजरायलले गाजामा जे गर्दै छ, त्यो उसले अक्टोबर ७ अघि गरेकै कार्यको चरम रूप मात्र भएको निवेदनले प्रस्ट पारेको छ ।
दक्षिण अफ्रिकी दस्तावेजले अघि सारेका धेरै तथ्यहरू यसअघि पनि मिडियामा आएकै हुन् । तर, निवेदनको महत्व कहाँनिर छ भने यसले ती सबै तथ्यलाई एक ठाउँ ल्याएको छ र इजरायली जातिसंहारलाई तथ्यपरक र प्रामाणिक साबित गरेको छ । अर्को शब्दमा, यसले स–साना तथ्यतथ्याङ्क नछुटाई विहङ्गम दृश्य देखाएको छ ।
इजरायली सरकारले यी आरोपहरूलाई ‘मानहानि’ (ब्लड लाइबल) भन्यो र निवेदनमा ‘कुनै तथ्य र न्यायसङ्गत आधार नभएको’ बतायो । साथै इजरायलले ‘दक्षिण अफ्रिकाले इजरायली राज्यलाई नष्ट गर्न आह्वान गर्ने आतङ्कवादी समूहसँग साँठगाँठ गरिरहेको’ दाबी ग¥यो । दक्षिण अफ्रिकी दस्तावेजलाई केलाएर हेर्दा इजरायली दाबीहरू निराधार भएको स्पष्ट हुन्छ । वास्तवमा, अन्तर्राष्ट्रिय अदालतको कारबाही सुरु भएपछि इजरायलले तार्किक र कानुनी ढङ्गले आफ्नो प्रतिरक्षा गर्नसक्ने देखिन्न । त्यसै पनि कठोर तथ्यतथ्याङ्कमा विवाद उठाउन मुस्किलै पर्छ ।
दक्षिण अफ्रिकी आरोपहरूबारे थप चर्चा गरौँ !
पहिलो, दस्तावेजले अन्य युद्ध अपराध र मानवताविरुद्ध अपराधभन्दा जातिसंहार नितान्त फरक रहेकोमा जोड दिएको छ । यद्यपि, ‘यी अपराधबिच प्रायः निकट सम्बन्ध रहने गरेको छ’ । (पेज १) उदाहरणको लागि, युद्ध जित्नको लागि सर्वसाधारण जनतामाथि हमला गर्ने कार्य पहिले पनि भएका थिए । दोस्रो विश्वयुद्धमा बेलायत र संरा अमेरिकाले जर्मन र जापानी सहरहरूमा बमबारी गरेका थिए । यस्तो गर्नु युद्ध अपराधमात्र नभई जातिसंहार पनि हो । बेलायत र संरा अमेरिकाले ती देशका जनतालाई ‘उल्लेख्य अंश’ वा पूर्णतः नष्ट गर्न खोजेका थिए । नियोजित हिंसाको माध्यमबाट जातीय सफाया गर्नु पनि युद्ध अपराध हो । तर, त्यसलाई जातिसंहार भनिहाल्न मिल्दैन । इजरायली मूलका (हिटलरी नरसंहार) होलोकस्टका विज्ञ ओमर बार्तोभले यस्तो कार्यलाई ‘सबै अपराधहरूमाथिको अपराध’ भनेका छन् ।
युद्धको पहिलो दुई महिनाभरि मलाई गम्भीर युद्ध अपराधहरू गरेकोमा इजरायल दोषी छ तर उसले जातिसंहार नै भने गरेको होइन भन्ने लाग्थ्यो । त्यस अवधिमा इजरायली नेताहरूले ‘जातिसंहारक मनसाय’ राखेको कुरा बार्तोभले बताइसकेका थिए र बढ्दो सङ्ख्यामा त्यसका प्रमाणहरू जुट्दै थिए । तैपनि, मैले आफ्नो धारणा बदलेको थिइनँ । तर, २०२३ नोभेम्बर २४–३० को युद्धविराम सकिए लगत्तै इजरायल पुनः आक्रमणमा गयो । त्यसपछि इजरायली नेताहरू गाजाका प्यालेस्टिनीहरूको उल्लेख्य अंशलाई भौतिकरूपमै नामेट पार्न तल्लीन छन् भन्ने कुरामा मलाई दुविधा रहेन ।
दोस्रो, दक्षिण अफ्रिकी निवेदन खासगरी इजरायलमा केन्द्रित छ । यद्यपि, त्यसले संरा अमेरिका, खासगरी राष्ट्रपति बाइडेन र उनका प्रमुख सहयोगीहरूतिर सङ्केत गर्न छुटाएको छैन । किन ? किनभने इजरायली जातिसंहारमा बाइडेन सरकारको सहकार्यबारे उति आशङ्का छैन । ‘जातिसंहार अभिसन्धि’ अनुसार जातिसंहार कार्यमा सघाउनु पनि दण्डनीय हुन्छ । इजरायलले ‘जथाभावी बमबारी’ गरेको स्वीकारे पनि राष्ट्रपति बाइडेनले भने, “इजरायलको रक्षा गर्नेबाहेक हामीले अर्को केही गर्ने छैनौँ; केही पनि गर्ने छैनौँ ।” व्यवहारमा उनले आफ्नो भनाइबाट दायाँबायाँ गरेका छैनन् । इजरायललाई थप हतियार तत्काल उपलब्ध गराउन उनले दुईचोटि अमेरिकी संसद् नै छले । उनको व्यवहारले कस्तो कानुनी परिणाम ल्याउला चर्चाको अर्को विषय हो । तर, बाइडेन र अमेरिकाको नाम जातिसंहारको नजीर बन्दै गरेको घटनासँग सदाका लागि जोडिनेछ ।
तेस्रो, होलोकस्टपीडित र तिनका सन्तानले भरिएको देश इजरायलले जातिसंहारको गम्भीर आरोपको सामना गर्नुपर्ला भनेर मैले सपनामा पनि चिताएको थिइनँ । अन्तर्राष्ट्रिय अदालतमा निष्पक्ष बहस नहोस् भनेर संरा अमेरिका र इजरायलले चलखेल सुरु गरिसकेको विषयमा म जानकार छु । अदालती कारबाही जसरी अघि बढे पनि भविष्यमा सबैतिर इजरायललाई जातिसंहारक नजीरको मुख्य दोषीको रूपमा हेरिनेछ ।
चौथो, दक्षिण अफ्रिकी दस्तावेजले अन्तर्राष्ट्रिय अदालतले हस्तक्षेप नगरेसम्म इजरायली जातिसंहार छिट्टै टुङ्गिएला भनी सोच्नु निराधार छ भनी जोड दिएको छ । दस्ताबेजले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले २०२३ डिसेम्बर २५ मा बोलेको कुरालाई दुइचोटि उद्धृत गरेको छ । त्यो दिन नेतन्याहुले भनेका थिए, “हामी रोकिने छैनौँ, हामी लडिरहनेछौँ र आउँदा दिनहरूमा हामीले लडाइँलाई अझ सघन बनाउनेछौँ । यो लडाइँ लम्बिनेछ र अहिले नै टुङ्गिहाल्ने बिन्दुमा छैन ।” (पेज ८, ८२) दक्षिण अफ्रिका र अन्तर्राष्ट्रिय अदालतले यो लडाइँ रोकोस् भनी कामना त गरौँ । तर, विश्लेषण गर्दै जाँदा अन्तर्राष्ट्रिय अदालतको अत्यन्त सीमित शक्तिले इजरायल र संरा अमेरिकाजस्ता देशहरूलाई रोक्न सक्ने देखिन्न ।
अन्तिम, संरा अमेरिका उदारवादी प्रजातन्त्रसहितको देश हो । यहाँ विश्वव्यापी मानवअधिकारप्रति गहिरो गरी प्रतिबद्ध बुद्धिजीवी, पत्रिका सम्पादक, नीतिनिर्माता, विज्ञ तथा विद्वान्हरू बसोबास गर्छन् । कुनै देशले युद्ध अपराध गरे तिनीहरूले आवाज उठाइहाल्छन् । खासगरी संरा अमेरिका र उसका अन्य साझेदार देशको युद्ध अपराध गर्दा यिनले विरोध जनाउँदै आएका छन् । तर, इजरायली जातिसंहारको हकमा उदारवादी मूलधारका धेरैजसो मानवअधिकार हस्तीहरूले त्यति बोलेको देखिएन । तिनीहरूले गाजामा इजरायलले गरिरहेको पाशविक अत्याचार वा इजरायली नेताहरूको जातिसंहारक वचनहरूबारे थोरै मात्र बोले । भविष्यमा एउटा बिन्दुमा पुगेर उनीहरूले आफ्नो सकसपूर्ण मौनताको कारण खुलाउलान् नै । तर, विश्वभरिका सबै मानिसले देख्ने गरी भइरहेको नृशंस युद्धमा आफ्नो देशले हाकाकाकी सहयोग गरिरहेको बेला तिनीहरूले चुइँक्क नबोलेकोमा इतिहासले तिनलाई माफी दिनेछैन ।
(जोन मेर्सहाइमर सिकागो विश्वविद्यालयमा राजनीति विज्ञानका विशिष्ट प्रोफेसर हुन् । सन् १९८२ यता उनी त्यस विश्वविद्यालयमा अध्यापनरत छन् । उनको पुस्तक ‘द इजरायल लबी’ आजभोलि चर्चामा छ । अमेरिकी सांसद, जनप्रतिनिधि तथा सर्वसाधारण जनतालाई प्यालेस्टिनी जनताविरुद्ध इजरायली जातिवादको पक्षमा तान्न अमेरिकामा सक्रिय इजरायली चलखेल समूह वा सङ्घसंस्थालाई उक्त पुस्तकले उदाङ्गो पारेको छ । प्रस्तुत लेखमा लेखकले उल्लेख गरेका सन्दर्भ सामग्रीहरूको उल्था गरिएको छैन ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply