भर्खरै :

दक्षिण एसियाको प्रजातन्त्र !

पश्चिमी गोलाद्र्धमा संरा अमेरिकाको पुँजीवादी प्रजातन्त्रको कालो छाया जसरी क्यानडा, मेक्सिको र क्यारेवियाली देशहरू एवं मध्य अमेरिकी देशहरूमा परेको छ, त्यस्तै दक्षिण एसियाली देश नेपाल, बङ्गलादेश, श्रीलङ्का, भुटान आदि देशमा पर्दै आएको आधा शताब्दी नाघ्यो ।
‘भारतका ‘हिन्दू सम्राट’ तेस्रो कार्यकाल ताक्दै’ शीर्षकमा भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता शशी थरुरले भने–‘मोदी नेतृत्वको भाजपा धर्मको नाममा हुने चुनावी हतकन्डामा बलियो छ, मोदीको हिन्दू सर्वाेच्चतावादी अस्त्रसामु विपक्षीको धार्मिक प्रत्याक्रमण विजयी हुनसक्दैन ।”
त्यस लेखमा शशी थरुरले लेखे– सन् २००२ मा गुजरातमा झन्डै दुई हजार मानिसको हत्या हुने गरी भएको कुख्यात मुसलमानविरोधी दङ्गामा मोडी आफै जोडिएका थिए । यसकारण सन् २०१४ मा चुनावी प्रचारमा मोदीको हिन्दू राष्ट्रवाद’ त्यति धेरै प्रचारमा आएन । कुख्यात गुजरात मुुसलमानविरोधी विध्वंस (दङ्गा) ले बिगारेको छविलाई सुधार्न सन् २०१४ मा मोदीलाई आर्थिक नायकको रूपमा प्रस्तुत गरिएको थियो ।
सन् १९९२ मा हिन्दू जातिवादी र कैयौँ सारा हिन्दूहरूलाई परिचालन गरी ध्वस्त बनाएको बाबरी मस्जिद क्षेत्रमा विशाल राममन्दिर बनाउने उहिल्यै वाचा गरिएको थियो । त्यस्तै सबैतिरका हिन्दू मन्दिरहरूको उद्घाटन गर्दै मुलुकभर वा उत्तर भारतमा हिन्दूवादी प्रचारबाट अत्यधिक मत बटुल्ने कोसिस गरिने छ । यस्तो धार्मिक र दक्षिणपन्थी निर्वाचन शिक्षाले भारतीय जनतालाई अझै जाति र धर्मको नाममा शासन गरेर व्यापक जनताको चेतनालाई अझै मत्थर पार्ने सम्भावना छ ।
त्यसको पूर्व छाया छिमेकी देश बङ्गलादेशको महानिर्वाचनमा पर्नु स्वाभाविक हो । भारतीय विस्तारवादकै सेना पूर्वी पाकिस्तानमा पुगेर ‘बङ्गलादेशलाई मुक्त गरेको भन्दै त्यहाँको सेना शेख मुजिबुर रहमानको अवामी लिगलाई सत्ता सुम्पेर भारतीय एकाधिकारलाई विजय हासिल गरिएको थियो । त्यहाँको प्रमुख प्रतिपक्ष दल ‘बङ्गलादेश राष्ट्रिय पार्टी’ ले निर्वाचन धाँधलीको निरन्तर विरोध गर्दै आएको थियो । भर्खर टुङ्गिएको महानिर्वाचनलाई सुरुदेखि नै धाँधली गरेको हुनाले प्रम शेख हसिना बाजेदको निर्वाचनलाई सबै विपक्षी दलहरूले बहिष्कार गरेका थिए । एजेन्सीलाई उद्धृत गर्दै २४ पुस २०८० को ‘नयाँ पत्रिका’ ले लेख्यो –‘विवादबिच हसिना विजयी, पाँचौँ पटक प्रधानमन्त्री बन्ने तयारी’ । समाचार लेखिएको छ, धाँधलीपूर्ण निर्वाचनको कुनै अर्थ नभएको प्रमुख विपक्षी बङ्गलादेश नेसनल पार्टी (वीएनबी) को भनाइ ।
७६ वर्षीय हसिना सबभन्दा पहिले सन् १९९६, २००९, २००४, २०१८ को निर्वाचनबाट पनि प्रधानमन्त्री भएकी थिइन् । अहिले पनि धाँधलीपूर्ण निर्वाचन गर्ने भएकोले प्रतिपक्षी दलले बहिष्कार गरेको थियो । त्यस बहिष्कारबाट हसिनालाई पुनः सजिलै प्रधानमन्त्री बन्न सहज निश्चित भएको छ । यसमा भारतको प्रत्यक्ष हात छ ।
२४ पुस २०८० कै ‘नयाँ पत्रिका’ ले लेख्यो– ‘भुटानमा आज आमनिर्वाचन, युवाको विदेश पलायन मुख्य ।’ नेपालमा जस्तै भुटानमा पनि भारतीय एकाधिकार पुँजीकै छाया परेको हुँदा भुटानमा पनि आर्थिक सुस्तता र युवा बेरोजगारीको कारण विदेश पलायन मुख्य समस्या बन्दै छ ।
दक्षिण एसियाको अर्काे छिमेकी देश श्रीलङ्काले पनि विश्व बैङ्ककै कारण र भारतकै आर्थिक असहयोगको कारण दुई वर्षअगाडि आर्थिक सङ्कट झेल्नुपरेको थियो ।
भारत र पाकिस्तानको काश्मिरको कारण भएको सङ्घर्ष र धार्मिक लडाइँको कारण दुई देशको सीमामा तनाव चर्केकै थियो । त्यहाँ पनि विश्व बैङ्कले असहयोग गरेको हुँदा पाकिस्तानमा आर्थिक सङ्कटले गाँजेको थियो ।
पुँजीवादी देशहरूको माझमा व्यापार र अन्य आर्थिक गतिविधिको कारणले देशमा ठुलो पुँजीको ठुलै प्रभाव पर्नु स्वाभाविक हो । भारतीय एकाधिकार पुँजीको कारण नेपाल, पाकिस्तान, श्रीलङ्का, भुटान, बङ्गलादेश आदि सबैतिर नाकाबन्दी थोपरेर छिमेकीहरूलाई विस्तारवादी नीतिले धम्काउँदै गरेको जानकारहरू बताउँदै छन् । यसबारे थप अध्ययनको थप आवश्यकता सबैले अनुभव गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *