भर्खरै :

भक्तपुर नगरपालिकाको पन्ध्रौँ नगरसभा उद्घाटन / सीप र श्रमसँग जोडिएका उद्योगहरूलाई पुनःस्थापना गर्नु आवश्यक

भक्तपुर नगरपालिकाको पन्ध्रौँ नगरसभा उद्घाटन / सीप र श्रमसँग जोडिएका उद्योगहरूलाई पुनःस्थापना गर्नु आवश्यक

भक्तपुर, २५ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभाको मङ्गलबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले भक्तपुरलाई स्वच्छ, सांस्कृतिक नगर र पर्यटकीय गन्तव्यस्थल बनाउने हामी सबैको साझा उद्देश्य भएकोले सफा स्वच्छ सहर बनाउन फोहरमैला व्यवस्थापन, खोला सुधार, सडक हराभरा बनाउनु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरको सीपमा आधारित साना उद्योगहरूलाई प्रवद्र्धन गर्न स्थापना भएको भक्तपुर साना औद्योगिक क्षेत्रमा बहुदल पुनःस्थापनापछि धुवाँ, ध्वनि, रसायन प्रदूषण फैलाउने डाइङ, टेक्स्टाइल, रङ, प्लास्टिकलगायतका उद्योगहरू सञ्चालन गराइयो । यसले स्वच्छ सहर बनाउने जनताको इच्छालाई चोट पु¥यायो । यसकारण, भक्तपुर औद्योगिक क्षेत्रलाई यहाँको सीपमा आधारित साना औद्योगिक क्षेत्रमा रूपान्तरण गर्नुपर्दछ वा औद्योगिक क्षेत्र नै स्थानान्तरण गर्नुपर्दछ ।”
सहर सफा स्वच्छ बनाउन सङ्घीय राजधानीमा भइरहेको तीव्र बसाई सराई रोक्नु जरूरी रहेको र देशको सन्तुलित विकास गर्नको लागि प्रधानमन्त्री, मन्त्री, सांसदहरूलाई आ–आफ्नो जिल्लामा मात्र बसोबास गर्न पाउने कानुनी व्यवस्था गर्नु उपयुक्त हुने सुझाव सांसद सुवालले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सांस्कृतिक नगर र पर्यटकीय गन्तव्यस्थल बनाउन नगरमा विद्यालय र विश्वविद्यालय पनि हुनु जरूरी छ । प्रधानमन्त्री र मन्त्रीहरू स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्ने संवैधानिक व्यवस्था नभएको दाबी गर्छन् । संविधानको साझा सूचीमा शिक्षा उल्लेख भएको र शिक्षाअन्तर्गत विश्वविद्यालय पनि पर्ने हुँदा सक्षम स्थानीय तह भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गराउनु आवश्यक छ । राणा शासनमा जनतालाई पढ्न दिइएन । अहिले बहुदल र गणतन्त्रमा पनि जनतालाई ख्वप विश्वविद्यालयमा पढ्न नदिने सरकारहरू राणा शासकभन्दा फरक हुने छैनन् ।”
देशभक्तिमा पनि नाफा खोज्ने सरकारहरूले शिक्षामा देशभक्ति दिन सकेनन्; बरू सरकारहरूले १२ कक्षा उत्तीर्ण विद्यार्थीहरूलाई घर, खेत बेच्न लगाई विदेश अध्ययनमा पठाउँदै छन्, सांसद सुवालले भन्नुभयो ।
तल्लो वर्गलाई माथि उठाउने योजना बनाउनुपर्ने र यस्तो योजना नबनेकै कारण अहिले देशभरि ‘के देश खस भाषा बोल्नेहरूको मात्र हो र ?’ भन्ने विरोधमिश्रित प्रश्न उठिरहेको तर्फ उहाँले सचेत गराउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “आफू नै सर्वश्रेष्ठ ठान्ने र अरूलाई तुच्छ ठान्ने अन्धराष्ट्रवाद हो† अरूलाई राष्ट्र नठान्ने बडाराष्ट्र अहङ्कारवाद हो । अन्धराष्ट्रवाद र बडाराष्ट्र अहङ्कारवादले फासीवादलाई प्रश्रय दिन्छन् । इजरायली फासीवादले अमेरिकी साम्राज्यवादसँग हतियार लिएर बमबारी गरी प्यालेस्टिनी भूमि कब्जा र नरसंहार गरेको यहुदीहरूको अन्धराष्ट्रवाद र बडाराष्ट्रवादको परिणाम हो ।”
स्वतन्त्रतापछिको अमेरिकी सरकारहरूले विश्वका ५०० भन्दा बढी ठाउँमा सैन्य हस्तक्षेप गरेको र अमेरिकी सरकारलाई पाठ सिकाउन नै चीनले विश्वव्यापी सभ्यताको अगुवाइ अघि बढाएको सांसद सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “केही दिनअघि न्युयोर्कका जनताले बाइडेन र नेतन्याहुको पुत्लाको हात रगतमा लतपतिएको देखाई प्यालेस्टिनी भूमि कब्जा र नरसंहारको विरोधमा प्रदर्शन गरे ।”
“कर्मचारीहरूले हाजिरीलगत्तै तलब पाकेको ठान्नु हुँदैन, तलबअनुसार काम गरेपछिमात्र तलब पाकेको ठान्नुपर्दछ, भक्तपुर नगरपालिकाका कर्मचारीहरूमा यो भावना छ, यसलाई अझ बढाउनु आवश्यक छ”, सांसद सुवालले सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरका जनताको सार्वजनिक सांस्कृतिकस्थल चोङा पा, रानी पोखरी, सिद्धपोखरी र ५५ वर्षदेखि दुग्ध सङ्कलन केन्द्र रहेको क्षेत्र पञ्चायती सरकारको निर्णयअनुसार २०४२ सालमा नेपाली सेनाको नाममा दर्ता गरियो । नेपाली सेना र जनताबिच विवाद खडा गर्न पञ्चायती सरकारले त्यस्तो निर्णय गरेको हुँदा अब बहुदल र गणतन्त्रको सरकारले नेपाली सेनाको नामबाट सो क्षेत्र सार्वजनिक सांस्कृतिक स्थल नै हुने निर्णय गर्नु उपयुक्त छ ।”
सांसद सुवालले भन्नुभयो, “चीनका राष्ट्रपति सि चिनफिङले नयाँ वर्ष २०२४ को शुभकामनामा ‘बीस वर्षदेखि चीनमा अन्न उत्पादन वृद्धि भएको’ उल्लेख गर्नुभयो । नेपालमा दाल, चामल, तरकारीसमेत भारतसँग किनेर खानुपर्ने अवस्था भयो । यसले नेपालका प्रमहरूमा देश विकासको खाका नभएको पुष्टि गर्छ ।”
“जुनसुकै कारणबाट सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भए पनि मालपोत ऐनअनुसार पुनः सार्वजनिक हुने व्यवस्था छ तर, मालपोत कार्यालयका अधिकारीहरू ललिता निवासको २४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गएको पुनः सार्वजनिक गर्न मानेका छैनन् । व्यक्तिको नाममा दर्ता गरिएका थँ बहीको कमलपोखरी र सार्वजनिक बगैँचासमेत २६.५ रोपनी, अन्य ठाउँको सार्वजनिक पोखरी, पर्ती, जङ्गल व्यक्तिको नाममा दर्ता गरिएको पनि पुनः सार्वजनिक गरिएन । यसले मालपोत कार्यालयका कतिपय अधिकारीहरू नै इमानदार नभएको देखायो”, उहाँले भन्नुभयो ।
सांसद सुवालले सहकारी संस्थामा देखिएको अनियमितता हटाउन कानुन संशोधन गरेर सहकारी संस्थाले नै उत्पादन र वितरण गर्न पाउने व्यवस्था आवश्यक भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०८० साउन १ गतेपछि भक्तपुर नगरपालिकाले गरेका विभिन्न कार्य तथा गतिविधिहरूबारे सङ्क्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय जनताको लागि छिटो छरितो सेवा सुविधा प्रदान गर्न अधिकार सम्पन्न स्थानीय तहबाट मात्र सम्भव भएको बताउनुभयो ।
उहाँले स्थानीय तहको स्वायत्ततामाथि कर्हीं कतैबाट हुने हस्तक्षेप स्वीकार्य नभएको उल्लेख गर्दै स्थानीय तह बलियो भएमात्र प्रजातन्त्रको जग बलियो हुनाले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “संविधानले स्थानीय तहलाई प्रदान गरिराखेका अधिकारहरू समेत सङ्घ र प्रदेश सरकारहरू विभिन्न बहानामा फिर्ता लिन चाहिरहेका छन् । संविधानले सङ्घीय राज्य घोषणा गरे पनि स्थानीय तहले सङ्घीयता कार्यान्वयनमा निकै चुनौती भोग्दै आएको छ । सङ्घ र प्रदेश सरकार सञ्चालन गर्नेहरूले एकात्मक र केन्द्रीकृत सोच नत्यागेसम्म सङ्घीयताको राम्रो कार्यान्वयन हुनसक्नेछैन ।”
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेको नयाँ पुस्ता सुसंस्कृत जीवनको खोजीमा रहेको धारणा राख्दै नयाँ पुस्ताले परिकल्पना गरेको समाज नेपालमै निर्माण गर्न सकेको खण्डमा उनीहरूले आफ्नै देशमा परिवर्तनको आभास गर्ने बताउनुभयो ।
भक्तपुरको सम्पदा संरक्षण सँगसँगै नगरको सुन्दरीकरण, हरियाली व्यवस्थापन, पार्क निर्माणलगायतका विषयमा पनि नपाले ध्यान दिनु आवश्यक भएको चर्चा गर्दै उहाँले समाजवादी विचार र व्यवस्थाबारे व्यापक जनतामाझ प्रचारप्रसारबाट नै नेपालमा समाजवादी व्यवस्था स्थापनामा टेवा पुग्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य गोसाईले भन्नुभयो, “भक्तपुरमा समाजवादको अभ्यास भइरहेको चर्चा व्यापक छ । भक्तपुर अहिले अध्ययनको केन्द्रको रूपमा सकारात्मक सन्देश गइरहेकोले भक्तपुरका वाचनालय र पुस्तकालय व्यवस्थित गर्नु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “भक्तपुर नपाले आफ्ना गतिविधि र समयसान्दर्भिक लेखहरू समावेश गरी नियमितरूपमा पुस्तक प्रकाशन गरी सुन्दर र सुसंस्कृत अभ्यासको थालनी गरिरहेको सराहनीय कदम हो । विचार र अनुभव आदानप्रदान गर्ने संस्कृतिको विकाससँगै समाज र नगर विकासमा समेत यसले उल्लेखनीय भूमिका खेल्नेछ ।”
वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले नगरसभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका विविध गतिविधिबारे सिंहावलोकन गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपाललाई आर्थिक, सामाजिक र राजनीतिकरूपमा अगाडि बढ्न भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीति बाधक रहेको बताउनुभयो ।
नगरपालिकालाई स्वायत्त निकायको रूपमा विकास गर्ने भनपाको लामो समयदेखिको प्रयास प्रशंसनीय रहेको चर्चा गर्दै सांसद सैंजूले प्रदेश सरकारहरू अहिले भागबन्डा र ठेक्कापट्टाको अखडाको रूपमा रहेको प्रस्ट पार्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले यहाँका सम्पदा, संस्कृति र सभ्यतासँग जोडिएका मूल्य, मान्यता र धरोहरबारे विज्ञहरूमार्फत अनुसन्धान र अन्वेषण गराई नयाँ पुस्तालाई सिकाउंदै जानुको साथसाथै ज्ञान विज्ञानको केन्द्र बनाउने आधारहरू तय गर्दै जाने दिशामा अग्रसर भइरहेको बताउनुभयो ।
उपप्रमुख जोशीले सभ्य समाज निर्माण कार्यमा भनपा समयसापेक्ष ढङ्गले अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनपाले शिक्षा र स्वास्थ्यजस्ता विषयलाई प्राथमिकता राखी गरेको लगानीबाट नगरवासीहरू लाभान्वित भइरहेको चर्चा गर्दैै नपाले गरेको व्यवस्थित बस्ती विकास यहाँको अर्को विशेषता रहेको बताउनुभयो ।
नपाभित्र रहेका सहकारी र सहकारी पीडितहरूको अनुगमन र समस्या समाधानतर्फ पनि भनपा क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउँदै पर्यटकमैत्री पूर्वाधार विकासतर्फ पनि नपाले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त नगरसभाको उद्घाटन कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो ।

भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा सुरु

भक्तपुर नगरपालिकाका प्रमुख एवम् पन्ध्रौँ नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको पन्ध्रौं नगरसभाको पहिलो बैठक बुधबार बस्यो । बैठकले नगरसभा सफलतापूर्वक सम्पन्न भएको अवसरमा धन्यवाद ज्ञापन प्रस्ताव सर्वसम्मतिले पारित ग¥यो ।
बैठक सुरू गर्दै सभाध्यक्ष प्रजापतिले भक्तपुर नगरपालिकाको १५ औँ नगरसभाको उद्घाटन समारोहमा उपस्थित कार्यक्रमका अतिथि नेमकिपाका सचिव प्रेम सुवाल, वाग्मती प्रदेशसभा सदस्यहरू सुरेन्द्रराज गोसाई र सृजना सैंजू, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, भक्तपुर नपाका पूर्वजनप्रतिनिधि, राजनैतिक तथा सामाजिक अगुवाहरू, बुद्धिजीवी, सञ्चारकर्मी एवम् नगरवासीहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।
नगरसभाको अर्को बैठक बिहीबार १ बजे बस्ने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *