यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
धेरै दिनपछि भाजु पुखुमा मङ्गलबार पुग्दा पानीले भरिएछ ! साँच्चैको पुखु अर्थात् पोखरी बनिसकेछ । खुसी लाग्यो, घाम ताप्दै फन्को मार्दा आनन्द लाग्यो ।
आजभन्दा झन्डै साढे पाँच दशकअगाडि भक्तपुर कलेजमा पढ्न गएदेखि अहिले जति त्यस पुखुमा पानी देखिएको थिएन । नाममात्रको पुखु थियो, यथार्थमा घाँसे मैदान, बिचमा थुम्को । वर्षायाममा केही पानी जम्थ्यो, विस्तारै छिपिछपे पानी नै त्यो पुखुको अस्तित्व थियो । त्यसैले त्यो पुखुको उपयोगिता केटाकेटीलाई बल खेल्न, युवाहरूलाई क्रिकेट खेल्न, डीलमा धान सुकाउन, कुनै बेला व्यापार मेला आयोजना गर्न, वरपरका बासिन्दाका डम्पिङ साइट हुँदै गएको र महाभूकम्पमा पीडितहरूको अस्थायी आश्रयस्थल बनेको थियो । सारमा, नामको मात्र पुखु वा पोखरी थियो र पानीविनाको पोखरीको पर्याय भाजु पुखु थियो ।

पुनर्निर्मित भाजु पुखुको आकर्षक दृश्य
तर, आजको दिनमा त्यो साँच्चैको पुखु वा पोखरी बनेको छ । भक्तपुर नगरपालिकाले पर्तीजग्गा संरक्षण, सम्पदाहरूको जीर्णाेद्धार, पुनः निर्माण र संरक्षण गर्ने क्रममा एकपछि अर्काे पोखरीको जीर्णाेद्वार र पुनःनिर्माण गरिरहेको छ । जानकारी भएअनुसार २०५८ साल अर्थात् २२ वर्षदेखि भाजु पुखुको सरसफाइ गरियो र जीर्णाेद्धार गर्ने प्रयास गरिरहेको थियो तर सम्पन्न भएको थिएन । डेढ दशक त नपा जनप्रतिनिधिरहित नै बनेको थियो । अहिले हेर्दा भाजु पुखुको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । बाँकी भनेको पुखुमा पानी भर्ने हो, त्यो पनि ९५ प्रतिशत जति भरिएको छ ।
स्थानीय लक्ष्मीनारायण राजलवटले जानकारी दिएअनुसार विगतमा भाजु पुखुको पानी चुहिएर जान्थ्यो । त्यसैले, वर्षामा जम्मा भएको पानी पनि अडेको थिएन र हिउँदसम्म हुँदा पुखु घाँसे मैदानमा परिणत हुन्थ्यो । हरेक वर्ष दोहोरिने यो क्रमलाई तोड्न यसपटक पुखुको पूर्व–दक्षिण कुनामा गहिरो खाडल खनेर कालीमाटी भरिएको छ, इँटा बिछ्याइएको छ । त्यसैले, पानी अड्ने आशा र विश्वास गरिएको छ । तः पुखुमा पनि पानी चुहिएकोलाई यसरी नै रोकेको थियो र त्यो अनुभव भक्तपुरले काठमाडौँको रानीपोखरीमा सफलता साथ प्रयोग गरेको थियो । कामना गरौँ, पानी चुहिन नदिने परम्परागत नेपाली प्रविधि भाजु पुखुमा पनि सफल होस् !

क्याम्पसको फलामेबारमा ठोक्किने सिँढी
भाजु पुखुमा अन्य पुखुमा भन्दा घाँस अति धेरै उम्रने रहेछ । विगतमा नगरभरिको जनसहभागितामा घाँसलगायत सफा गरियो, नपाले पटक पटक घाँसको रासका रास फालिसक्यो, अहिले पनि पुखुमा भरिएको पानीमाथि घाँस देखिएको छ । अझै घाँस उखेलिरहेको छ । यसबारे सम्बन्धित विज्ञहरूबाट केही उपाय खोज्नुपर्ने हो कि ?
विज्ञहरूको कुरा आउँदा एउटा कुरा सम्झेँ । भाजु पुखुबारे नपाले अध्ययन गराएको प्रतिवेदनबारे एक कार्यक्रममा भाजु पुखु १२ औँ शताब्दी अर्थात् ८०० वर्ष पुरानो, काठमाडौँको रानीपोखरीभन्दा झन्डै ५०० वर्ष पुरानो, काठमाडौँको रानीपोखरीबाट नक्कल गरिएको नभई भाजु पुखुबाट नक्कल गरिएको रानी पोखरीजस्ता धेरै कुरा आएको थियो (‘भक्तपुर’ सङ्ख्या २६७/२०७५ चैत) । भाजु पुखुको निर्माणकाल आधिकारिकरूपमा कहिले हो ? मलाई लाग्छ, यसबारे थप जानकारी प्रकाशमा आएको छैन । लाय्कुमा उत्खनन गर्दाको वस्तुको वैज्ञानिक परीक्षण गराएर समग्र निर्धारण गरेको थियो । भाजु पुखुको उत्खननबाट पनि धेरै सामग्री, थुम्कोको इँटा, नागस्तम्भको काठ आदि फेला परेका थिए । के ती वस्तुको वैज्ञानिक परीक्षण गर्दा निर्माणकाल निक्र्याेल हुँदैन ? हुन्छ भने किन विलम्ब ? सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।

पोखरीबाट घाँस निकालिँदै र निकालिएको घाँसको रास
सन्दर्भमा भाजु पुखु पुनर्निर्माण भयो तर त्यो अतिक्रमणमा परेको प्रत्यक्ष देख्न सकिन्छ । पुखुको पूर्व र पश्चिमको माथिल्लो डील बाटो बनेको छ, त्यो ठिक्कै भयो । तर, उत्तर र दक्षिणको माथिल्लो डील कहाँ छ ? डीलबिनाको पुखु पक्कै बन्दैन, तब नपाले पुखुको डील किन कायम नगरेको ? सर्वत्र जिज्ञासाको विषय भएको छ ।
त्यहाँ पुग्दा अर्काे रोचक दृश्य के देखिन्छ भने पोखरीको डीलबाट दक्षिणतर्फ उक्लने सिँढी बनाउँदै छ । सिँढी उक्लिँदै गयो भने क्याम्पसको बारमा ठ्याम्मै ठोकिन्छ । त्यो सिँढी पोखरी हेर्ने भ्यु टावर त पक्कै होइन होला ! पुखुको उपल्लो डील कायम नगरी बनाइएको सिँढीको कुनै औचित्य देखिएन ।
पुखुको पूर्वमा जाने बाटो छ, पश्चिममा उक्लने सिँढी छ, दक्षिणमा क्याम्पसको फलामे बारमा ठोक्किने सिँढी छ । तर, उत्तरमा किन सिँढी छैन ? नबनाएको हो वा बनाउन नदिएको हो अथवा हुँदै नभएको हो ? जिज्ञासा स्वाभाविक छ ।
Leave a Reply