भर्खरै :

भक्तपुर नगरको पहिचान उच्च राख्न सबैको सहयोग आवश्यक

भक्तपुर नगरको पहिचान उच्च राख्न सबैको सहयोग आवश्यक

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वर्षमा कम्तीमा दुईपटक नगरसभा बैठक बस्नुपर्ने प्रावधानअनुरूप आज हामी स्थानीय सरकारको दोस्रोपटकको चुनावपछिको तेस्रो अर्थात् पन्ध्रौँ नगर सभाको उद्घाटन कार्यक्रममा सरिक छौँ ।
सर्वप्रथम, देशको निम्ति आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु । साथै भक्तपुरका जनताको जीवन रूपान्तरणमा महत्वपूर्ण योगदान गर्नुहुने समाजका अग्रज व्यक्तित्वहरूमा सम्मान व्यक्त गर्न चाहन्छु । भनपालाई एक उत्कृष्ट नमुना नगरको परिचय दिलाउन मार्ग निर्देशन गर्नुहुने नेपाल मजदुर किसान पार्टीका अध्यक्षलगायत सम्पूर्ण अग्रज कार्यकर्ता महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
भक्तपुर नगरपालिकाले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रलाई मार्गदर्शनको रूपमा लिँदै सोहीअनुरूप कामहरू गर्दै देश र जनताको सेवामा समर्पित भई अघि बढिरहेको यहाँहरूमा विदित्तै छ । जनताका आधारभूत आवश्यकता परिपूर्तिबाट मात्र २१ औँ शताब्दीको समाज अघि बढ्न सहज हुन्छ । त्यस्ता आवश्यकताहरू शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संस्कृति संरक्षण गरी देश र भक्तपुर नगरको पहिचानलाई उच्च राख्ने काम जनप्रतिनिधिहरूले जनताको सहभागितामा कर्मचारीको साथमा गर्दै आइरहेको स्मरण गराउन चाहन्छु । समाजको सन्तुलित विकासको लागि यसका सबै पक्षहरूलाई मूलधारमा ल्याई परिचालन गर्नुपर्ने आजको आवश्यकता हो । महिला, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, सिमान्तकृत वर्ग, अति विपन्न जनसमुदाय आदिलाई सामाजिक र आर्थिक विकासको मूल धारमा ल्याउन विशेष पहलको आवश्यकता महसुस गरेको छु । नगरपालिकाले यस्ता लक्षित र जोखिमपूर्ण समुदायको रूपमा रहेका वर्गलाई लक्षित गरी विभिन्न योजना तथा कार्यक्रम र गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यो स्थानीय सरकारको कर्तव्य हो भन्ने हाम्रो बुझाइ छ । समाजमा लुकेर बसेका लागु पदार्थ दुव्र्यसनी, मानसिक रोगी, अति विपन्न परिवार आदिको समस्यालाई सम्बोधन गरेर समाजको समग्र आर्थिक र सामाजिक विकास सम्भव छ भन्ने मान्यताका साथ यी र यस्ता वर्गहरूलाई समावेशीताको सिद्धान्तअनुसार स्थानीय सरकारको हैसियतले भक्तपुर नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरी सम्बोधन गर्दै आएको यहाँहरू सबैमा विदित्तै छ । यसरी समाज निर्माण कार्यमा भक्तपुर नगरपालिका निरन्तर समय सापेक्ष ढङ्गले अघि बढिरहने प्रतिबद्धता जाहेर गर्दछु ।
भक्तपुर नगरपालिकाले यहाँका सम्पदा, संस्कृति र सभ्यतासँग जोडिएका मूल्यमान्यता धरोहरबारे विज्ञहरूमार्फत अनुसन्धान र अन्वेषण गराई नयाँ पुस्तालाई सिकाउँदै जानुको साथसाथै ज्ञान विज्ञानको केन्द्र बनाउन आधारहरू तय गर्दै जाने दिशामा अग्रसर भइरहेको यहाँहरूसमक्ष राख्न चाहन्छु ।
भक्तपुर नगरपालिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिहरूलाई पनि नजिकैबाट नियालेर जनतालाई सुसूचित गर्ने कामहरू गरिरहेको यहाँहरूमा अवगतै छ । यो वर्ष विश्वमा अनगिन्ती घटना÷दुर्घटना हामीले पढेका छौँ, सुनेका छौँ । त्यस्ता घटनाहरूमध्ये मानव जीवनमाथिको निर्मम, नृसंश हत्यामध्ये पूर्वी एसियामा अवस्थित प्यालेस्टिनी जनताले भोगिरहेका छन् । संयुक्त राज्य अमेरिकाको आडमा इजरायली सेनाले गाजापट्टीमा २२,००० भन्दा बढी प्यालेस्टिनीको ज्यान लिइसकेको छ । जसमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । यस्तो जातीय सफाया गर्ने हेतुले इजरायलले गरिरहेको प्यालेस्टिनीहरूमाथिको अमानवीय÷क्रूर हत्याको विरोध गर्न र युद्ध तत्काल रोक्नको लागि हामी जनप्रतिनिधि÷कर्मचारीहरूले नेपाल मजदुर किसान पार्टीद्वारा आयोजित विरोध एवम् भत्र्सना कार्यक्रममा सरिक हुँदै आइरहेका छौँ । यसरी कसैलाई यस्तो क्रूर अवस्थाबाट जोगाउने मानवीय गतिविधिमा नयाँ पुस्तालाई सरिक गराउनुपर्ने आवश्यकता छ । भक्तपुर नगरपालिका आफ्नो देश र समाजको साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका गतिविधिहरूबारे जनतालाई सुसूचित गर्दै समष्टिगतरूपमा सर्वाङ्गीण विकासको लागि अग्रसर भइरहेको छ । आगामी दिनहरूमा पनि भक्तपुर नगरपालिकालाई मार्गनिर्देश, सल्लाह प्राप्त हुने विश्वासका साथ सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्दै बिदा हुन्छु । धन्यवाद !

(बुधबार सम्पन्न भएको भक्तपुर नगरपालिकाको १५ औँ नगरसभामा व्यक्त स्वागत मन्तव्य – सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *