भर्खरै :

ठुलो हुँदैमा सच्चा पार्टी नहुने

हरेक सच्चा कम्युनिस्ट पार्टीको उद्देश्य देशमा आमूल परिवर्तन ल्याउनु हो । पुँजीवादी व्यवस्थालाई फालेर समाजवादी व्यवस्था ल्याउनु नै कम्युनिस्ट पार्टीको उद्देश्य हो । तर, समाजवादी व्यवस्था कुनै नेताले फुकेर, गर्जेर र जुलुस सभा गरेर स्थापना हुने होइन । यसको लागि आम जनतालाई राजनीतिक, सैद्धान्तिक र वैचारिकरूपले शिक्षित गर्नुपर्छ, सचेत र सङ्गठित गर्नुपर्छ । दल ठुलो भए पनि जनता सचेत र सङ्गठित भएनन् भने परिवर्तन सम्भव हुँदैन; सम्भवै भए पनि त्यो क्षणिक हुन्छ । माओवादीले गरेको दसवर्षे ‘जनयुद्ध’ बलिदानमा टुङ्गिनुको कारण जनता सचेत र सङ्गठित नहुनु हो । आफूलाई कम्युनिस्ट भनिने एमाले एक समय देशकै ठुलो पार्टी बनेको हो, माओवादी पनि ठुलै दल बनेको हो । तर, ठुलो दल भएर जनता सचेत, सङ्गठित या सिद्धान्तनिष्ठ हुने होइन । दल ठुलो भए पनि, सरकारको नेतृत्व गरे पनि श्रमजीवीवर्गको हितमा काम गर्न सकिएन, जनतालाई राहतको अनुभूति दिन सकिएन । यो यथार्थ हो ।
कम्युनिस्ट पार्टीको महत्वपूर्ण कार्यहरूमध्ये जनतालाई वैज्ञानिक समाजवादबाट शिक्षित गरी व्यवहारिक बनाउनु हो । हरेक कम्युनिस्ट पार्टीको उद्देश्य नेता, कार्यकर्ता, शुभचिन्तक र नागरिकलाई सिद्धान्तनिष्ठ बनाउनु हो; कर्तव्यपरायण बनाउनु हो; निःस्वार्थरूपले देश र जनताको सेवा गर्नुपर्छ भन्ने भावना जगाउनु हो । हरेक कार्यकर्ता र नागरिकलाई अनुशासित, देशभक्त, क्रान्तिकारी बनाउन नसकेसम्म पार्टीको उद्देश्य पूरा हुनेछैन । पटक–पटक सत्तामा रहेका एमाले, माओवादी र एकीकृत समाजवादी साँच्चै सच्चा कम्युनिस्ट पार्टी भएका भए दलमा आबद्ध नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, कर्मचारी, विभिन्न पेसामा आबद्ध व्यक्ति र समर्थक कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारबाट भिजेका भए देशको स्थिति अर्कै हुन्थ्यो; विकासको फड्को माथ्र्याे; भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण हुन्थ्यो, अनियमितता कममात्र हुन्थ्यो, भ्रष्टाचारी, अपराधी, दोषी, कमिसनखोर, कालाबजारी, जालीफटाहा जेलमा कोचिएर बस्थे । जनता सुरक्षित हुन्थे; जनताको सम्पत्ति सुरक्षित हुन्थ्यो; चोरीचकारी हुँदैनथ्यो । नागरिकहरूले न्याय निसाफ पाउँथे । भेदभाव या पक्षपात हुँदैनथ्यो । काममा ढिलासुस्ती हुँदैनथ्यो । देशको सन्तुलित विकास हुन्थ्यो । जनताका आधारभूत आवश्यकता परिपूर्ति हुन्थ्यो । शैक्षिक स्तर उठ्थ्यो । स्वास्थोपचारको समस्या हुँदैनथ्यो ।
हाल देशमा रहेको लोकतान्त्रिक सङ्घीय गणतन्त्र पुँजीवादी प्रजातन्त्र हो । यसले बहुमत कामदार जनताको हित गर्दैन । समाजवादी गणतन्त्रले मात्रै व्यापक श्रमजीवी जनताको सेवा गर्छ । यसकारण, नेमकिपा नेपाली समाजलाई जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापनाको निम्ति जुटिरहेको हो । यो हरेक सच्चा कम्युनिस्ट पार्टीको दायित्व र जिम्मेवारी हो । यसरी देश र जनताप्रति समर्पित कम्युनिस्ट पार्टीले व्यक्तिगत र दलगत स्वार्थ हेर्दैन; जातीय साम्प्रदायिकता, र क्षेत्रीय स्वार्थ त्याग्छ; सत्ता स्वार्थमा भुल्दैन; सिद्धान्त र विचार तिलाञ्जली दिएर भागबन्डामा लाग्दैन; पैसाको राजनीति गर्दैन, जनतामाझ झूटको खेती गर्दैन; लोभलालच देखाएर, पैसा बाँडेर, भोज खुवाएर, सामान बाँडेर जनताको मत तान्ने गलत राजनीति गर्दैन । तर, विडम्बना ! पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने पुँजीवादी पार्टीले झैँ आफूलाई कम्युनिस्ट भनिने एमाले र माओवादी केन्द्रले गर्न नहुने सबै काम गरे । ती दलका नेताहरूले कम्युनिस्ट पार्टीको सिद्धान्त, विचार, आचरण, मूल्य र मान्यताअनुसार काम गरेनन्† माक्र्सवाद र लेनिनवादको मार्ग निर्देशक सिद्धान्तलाई व्यवहारमा लागु गरेनन् । त्यसकारण, नेपालमा कम्युनिस्ट भनिने ठुला ठुला पार्टी भए पनि नेपालको कम्युनिस्ट आन्दोलन अघि बढेन, कम्युनिस्ट पार्टी बलियो भएन । यसले थाहा हुन्छ, कुनै दल ठुलो हुँदैमा सही हुन्छ भन्ने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *