भर्खरै :

माघ १ गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुने

माघ १ गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुने

काठमाडौँ, २८ पुस । यही माघ १ गतेदेखि काठमाडाँैमा मेलम्चीको पानी वितरण गरिने भएको छ ।
मेलम्ची खानेपानीको आपूर्ति निर्वाधरूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समिति गठन गरिएको थियो ।
मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरूङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिनेछ ।”
सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिने र दुई दिनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरले बताउनुभयो ।

बाढी तथा पहिराका कारण अवरूद्ध भएको मेलम्चीको पानी बुधबार साँझबाट फेरि आपूर्ति सुरू गरिएको हो ।
यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबिच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी भएको सहमतिअनुसार बुधबार साँझबाट सुन्दरीजलमा पानी आउन सुरू भएको सुन्दरीजल पानी प्रशोधन शाखाका प्रमुख दीपेश ढकालले जानकारी दिनुभयो ।
२८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरू गरिएको भए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजल पानी पथान्तरण गरिएको उहाँको भनाइ छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *