भर्खरै :

भक्तपुरको अमूर्त सम्पदाहरूको संरक्षणविना भक्तपुरको मौलिकता रहन्न

भक्तपुरको अमूर्त सम्पदाहरूको संरक्षणविना भक्तपुरको मौलिकता रहन्न

भक्तपुर, २९ पुस । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लिको १६ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन शनिबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सभाको उद्घाटन गर्दैै संस्थाबाट प्रकाशित ‘झीगु ख्वप’ बुलेटिनको पहिलो अङ्क सार्वजनिकीकरण गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा हजारौँ विद्यार्थीहरूले शिक्षा हासिल गर्ने अवसर प्राप्त भइरहेको उल्लेख गर्दै ख्वप विश्वविद्यालय स्थापनाको कार्यलाई मूर्तरूप दिन नगरपालिका लागिपरेको बताउनुभयो ।
विदेशीहरूले समेत भक्तपुर नगरपालिकाको गतिविधिलाई चासोको विषय बनाएको चर्चा गर्दै उहाँले सुसंस्कृत समाजसहितको नयाँ पुस्ता तयार गर्न भनपा लागिपरेको छ भन्नुभयो । सिंहध्वाका दरबारलाई मौलिक स्वरूपमै पुनः निर्माण गर्ने कार्य गर्न लागिरहेको उल्लेख गर्दै उहाँले स्थानीय सिकर्मी, डकर्मीको सीप, ज्ञान, क्षमताको प्रयोग भएको हो, त्यसरी नै पुनः निर्माण कार्यमा पनि स्थानीय सीपको उपयोग गर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले सम्पदा र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने कार्यमा झीगु ख्वप साकोसजस्ता थुप्रै सहकारी संस्थाहरूले पनि हातेमालो गर्न सकिने कुरा बताउनुभयो ।
भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले सहकारी बैङ्कले जस्तै काम गर्ने हो भने बैङ्क र सहकारीमा के भिन्नता रहन्छ भन्ने प्रश्न उठाउँदै हामीले समुदायमा आधारित सहकारीलाई प्राथमिकता दिने हो, बजारिया सहकारीले गर्दा सहकारीकै बदनाम भएको हुँदा समुदायमा आधारित सहकारीमा संलग्न हुन आग्रह गर्नुभयो ।
उहाँले संस्थाद्वारा आयोजित सेल्फ मेकअप तालिम र झोल तथा डल्ला साबुन बनाउने तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र र उपहार प्रदान गर्नुभएको थियो ।
सभामा संस्थाका संस्थापक अध्यक्ष एवं आदर्श आजाद मा.वि./कलेजका प्राचार्य श्रीकृष्ण किसीले संस्थामा सम्मानित स्नात्तकोतर तह, एमडीलगायत विषयमा थुप्रै शेयर सदस्यहरूलाई सम्मानित गरिरहँदा संस्थासँग थुप्रै बौद्धिक सदस्यहरू पनि रहेको स्पष्ट पार्दै संस्थाले यस्ता बौद्धिक सदस्यहरूलाई पनि ध्यान दिएर कार्यक्रम बनाइनु पर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले एसईई २०७९ मा उत्तीर्ण भएका संस्थाका शेयर सदस्यहरूका छोराछोरीहरूमध्ये उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिका सचिव जगन्नाथ प्रजापतिले समुदायमा आधारित सहकारीहरू समाजबाट कुनै पनि प्रकारले अलग हुनसक्दैन, कुनै चिनजान नभएका मान्छेहरूले चलाएको सहकारीप्रति सजग रहन आग्रह गर्नुभयो । उहाँले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था समुदायमा आधारित सहकारी संस्थाहरूको छाता सङ्घ हो भन्नुभयो ।
सभामा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष रुद्रनारायण लाखाले पनि साधारणसभाको सफलताको गर्नुभयो । सचिव हरिकृष्ण दनेगुलुले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुवन गोसाईले संस्थाको आर्थिक प्रतिवेदन, लेखा सुपेरिवेक्षण समितिका संयोजक रत्नवीर किसीले लेखा सुपेरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
वार्षिक साधारणसभामा उपाध्यक्ष नारायणप्रसाद कवांले स्वागत र सदस्य इन्द्रमाया लागेले धन्यवाद ज्ञापन गर्नुभयो भने सभाको सभापतित्व संस्थाका अध्यक्ष बलराम गोसाईले गर्नुभयो । निर्वाचन प्रकृयाअनुसार निर्वाचन समितिका संयोजक उकेश कवांले नारायणप्रसाद कवांको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र अनिता सिंख्वालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । घोषणापछि निर्वाचित पदाधिकारीहरूलाई संयोजक कवांले शपथग्रहण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *