भर्खरै :

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको प्रजग कोरियाको दाबी

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको प्रजग कोरियाको दाबी

प्योङयाङ, १ माघ (सिन्ह्वा) । प्रजातान्त्रिक जन गणतन्त्र (प्रजग) कोरियाले हाइपरसोनिक युद्धाभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको सोमबार बताएको छ । उक्त परीक्षण दक्षिण कोरियाली र अमेरिकी हमलाकारी सेनालाई चेतावनी दिनको लागि उन्नत हतियारको खोजीमा पछिल्लो सफलता भएको उसको भनाइ छ ।
प्योङयाङको यस वर्षको पहिलो ज्ञात हतियार परीक्षण र ठोसइन्धन हाइपरसोनिक मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र (आइआरबीएम) को पहिलो परीक्षण दक्षिण कोरियाको सेनाले आइतबार दिउँसो पत्ता लगाएको थियो ।
प्रजग कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) को सङ्क्षिप्त रिपोर्टले ठोसइन्धन आइबीआरएमबी हाइपरसोनिक युद्धाभ्यास नियन्त्रित वारहेडयुक्त भएको बताएको छ । परीक्षणको उद्देश्य हतियारको ‘ग्लाइडिङ र कौशलता विशेषताहरू’ तथा ‘नयाँ विकसित बहुचरण उच्च थ्रस्ट ठोसइन्धन इन्जिनको विश्वसनीयता’ लाई प्रमाणित गर्नका लागि भएको केसीएनएले बताएको छ ।
केसीएनएले आइतबारको प्रक्षेपणबाट कुनै पनि छिमेकी मुलुकको सुरक्षामाथि कुनै असर नगरेको र यसको क्षेत्रीय अवस्थासँग कुनै सरोकार नभएको बताएको छ ।
यद्यपि, प्योङयाङले दक्षिण कोरियासँगको मुलुकको तनावपूर्ण सामुद्रिक सीमा नजिकै लात्–फायर अभ्यास आयोजना गरेको केही दिनपछि यो परीक्षण भएको छ । यसले जवाफी अभ्यास र केही दक्षिण कोरियाली सीमावर्ती टापुहरूलाई खाली गर्ने आदेशलाई प्रेरित गरेको छ ।
गत साता प्रजग कोरियाको राष्ट्रिय मामिला आयोगका अध्यक्ष नेता किम जोङ उनले सोललाई आफ्नो ‘प्रमुख दुश्मन’ को संज्ञा दिनुभएपछि र प्रमुख हतियार कारखानाहरूको भ्रमण गर्दा दक्षिण कोरियाली कठपुतलीहरूलाई नष्ट गर्न आफूले कुनै सङ्कोच नमान्ने चेतावनी दिएपछि यस्तो परीक्षण भएको छ ।
ठोसइन्धन क्षेप्यास्त्रहरूलाई लुकाउन सजिलो हुन्छ र यसलाई फायर गर्न छिटो हुन्छ । हाइपरसोनिक क्षेप्यास्त्रहरूले सामान्यतया प्रयोगकर्ताहरूलाई लक्ष्यमा प्रहार गर्नका लागि उडानमा कौशलता देखाउन सक्षम पार्छ । दुवै प्रविधि लामो समयदेखि प्रजग कोरियाको उद्देश्यहरूको सूचीमा छ ।
कोरिया रिसर्च इन्स्टिच्युट फर नेसनल स्ट्राटिजीका क्षेप्यास्त्र विशेषज्ञ चाङ यङ–क्युनले भन्नुभयो, “प्रजग कोरिया एकै समयमा ठोस इन्धन रकेट बुस्टरको प्रयोग गरेर हाइपरसोनिक क्षेप्यास्त्र तथा आइआरबीएमको विकासको लागि अगाडि बढिरहेको छ । मध्यमदेखि लामो दूरीका हाइपरसोनिक क्षेप्यास्त्रहरू अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट बच्न र गुआमस्थित अमेरिकी सेनाको आधारमा हमला गर्न विशेषरूपमा उपयोगी हुनेछन् ।”
प्रजग कोरियाको अन्तिम क्षेप्यास्त्र परीक्षण डिसेम्बर १८ मा ह्वासोङ–१८ ठोसइन्धन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसीबीएम) को थियो ।
केसीएनएले आफ्नो सोमबारको रिपोर्टका साथ क्षेप्यास्त्र परीक्षणको एउटा तस्बिर पनि जारी गरेको छ जसमा परीक्षणको निरीक्षण गर्न मार्शल किम उपस्थित हुनुभएको उल्लेख गरिएको छैन ।
गत वर्ष प्योङयाङले एउटा जासुसी उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेको थियो । यसलाई दक्षिण कोरियाले युक्रेनमा मस्कोलाई युद्धको लागि हतियारको खेपको बदलामा रुसी सहयोग प्राप्त भएको दाबी गरेको थियो ।
कठिन आर्थिक स्थिति भए पनि प्योङयाङले सन् २०२३ मा आफ्नो पहिलो ठोस–इन्धन आइसीबीएमयुक्त हतियारहरूको परीक्षणको रेकर्डब्रेकिङ शृङ्खला आयोजना गरेको थियो । यसलाई विश्लेषकहरूले ठुलो प्राविधिक सफलता भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *