भर्खरै :

शासक दलका नेताहरूमा द्वैध चरित्र

सत्ताको निम्ति सिद्धान्त, विचार, आदर्श मूल्य र मान्यता तथा नैतिकता छोड्ने कुनै पनि दलले सही ढङ्गले मार्गनिर्देश गर्न सक्दैन या देशलाई सही दिशानिर्देश गर्न सक्दैन । सत्ता गठबन्धनको कारण राम्रो काम गर्न नसकेको सरकारको दाबी सटिक जवाफ होइन । सरकार बहुमत, अल्पमत या संयुक्त भए पनि सरकारको आफ्नो दायित्व पूरा गर्नुपर्छ†, जिम्मेवारी पूरा गर्नुपर्छ । सरकारको नेतृत्व गर्नुको अर्थ सिंहासनमा बस्नुमात्र होइन देशलाई अगाडि बढाउनु पनि हो । गठबन्धन सरकार टिक्दैमा या यो सरकारले पूरा कार्यकाल सम्हाल्दैमा नै जिम्मेवारी बहन गरेको मानिँदैन । कमजोर धरातलमा उभिएर, डराई डराई सरकार चलाएर जनताको माग पूरा गर्न सकिँदैन ।
माघ १ गते प्रकाशित विभिन्न पत्रपत्रिकामा ‘सुकमवासीको जग्गामा हुकुमवासीको पुर्जा’, ‘सत्तामा सङ्कटको राजनीति’, ‘सुक्न थाले हिउँदे बाली : भोकमरी बढ्ने चिन्ता’, ‘दिनमै डेढ सय मुद्दा’, ‘भूकम्प प्रभावित क्षेत्रलाई १० अर्ब दिने नीतिगत निर्णय धरापमा’, ‘तस्करीले बदनाम मधेस प्रदेश : जहाँ प्रहरी त्यहीँ तस्करी’, ‘जनस्वास्थ्यमा संवेदनशील बन, राजनीतिक हस्तक्षेप रोक’ जस्ता शीर्षकले देश कतातिर जाँदै छ, देशमा कसको हालीमुहाली छ र पीडितले न्यायमात्र होइन राहत पाएका छैनन् भन्ने सङ्केत गर्छ । लोकतान्त्रिक देशमा अलोकप्रिय काम हुनु, भ्रष्टाचारी, कमिसनखोर, कालाबजारी, अपराधीहरूले ठाउँ पाउनु राम्रो लक्षण होइन, यो देश अगाडि बढ्ने बाटो होइन ।
हजारौँ युवाहरू बिदेसिनु के देशमा रोजगारीको समस्या होइन ? देशको अर्थतन्त्र कमजोर हुनु के सरकारको लापरबाही होइन ? समानता र न्यायको नाउँमा दलगत र व्यक्तिगत स्वार्थमा तल्लीन हुनु, सरकार देश र जनताप्रति जिम्मेवार नहुनु के स्वेच्छाचारी होइन ? सत्तारूढ दलमा सामेल नेता र मन्त्रीहरूले सरकारमा बस्दा एक थोक र पार्टीमा रहँदा अर्को थोक गरेर द्वैधचरित्र अपनाउने होइन । पार्टी भेला, बैठक सम्मेलनमा कहिले समाजवादी मोर्चा, कहिले कम्युनिस्ट एकता त कहिले समाजवादी क्रान्तिको कुरा गर्ने र सरकारी कार्यक्रम या सरकारी भेला र बैठकमा देश र अगाडि बढाउन नेकासँग मिल्नैपर्ने, नेका छोडेर अन्त जान नसकिने दोहोरो चरित्र नेताहरू किन देखाउँछन् ?
अतः सरकार संवेदनशील र गम्भीर हुनुपर्छ । सरकार या सत्तासीन दलका नेताहरू गम्भीर नभएकै कारण देशमा अराजकता र अस्थिरता निम्तिएको हो । देशमा बेथिति बढेको हो । बेथिति निम्त्याउने, भ्रष्टाचार, अनियमितता बढाउने, अपराधीहरूलाई स्थान दिने, आफ्ना नेता र कार्यकर्ता भर्ती गर्नेजस्ता कार्यले पनि जनतामा असन्तोष बढेको हो । सत्तासीन दलका नेताहरूको नै आफ्नो सरकारप्रति असन्तोष बढेको छ । सत्तारूढ दलहरूभित्रै एकले अर्कोलाई विश्वास नभएको हो या आशङ्का बढ्दै गएको छ । सरकारको यो पुँजीवादी कार्यशैलीको कम्युनिस्ट पार्टीले कसरी समर्थन गर्न मिल्छ ? कम्युनिस्ट पार्टी भाइकाङ्ग्रेस बनेपछि देशमा कसरी कम्युनिस्ट आन्दोलन अघि बढ्छ र देशमा परिवर्तन हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *