भर्खरै :

दक्षिण अफ्रिकाले गाजा नरसंहारमा संलग्न भएका अमेरिका र बेलायतलाई मुद्दा हाल्ने

दक्षिण अफ्रिकाले गाजा नरसंहारमा संलग्न भएका अमेरिका र बेलायतलाई मुद्दा हाल्ने

द हेग, १६ डिसेम्बर (टेलिसुर) । अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) मा इजरायलविरुद्ध नरसंहार मुद्दा हेरिरहेका दक्षिण अफ्रिकी वकिलहरूले संरा अमेरिका र संयुक्त अधिराज्य (बेलायत) विरुद्ध गाजामा भइरहेको युद्ध अपराधमा संलग्नताको लागि छुट्टै मुद्दाको तयारी गरिरहेको घोषणा गरेका छन् ।
नयाँ कानुनी कारबाहीले नरसंहारमा संलग्नहरूलाई देवानी अदालतमा ल्याउने लक्ष्य राख्नेछ, विकस भान रेन्सबर्गले भने । रेन्सबर्गले दक्षिण अफ्रिकी वकिलहरूको टोलीले नयाँ न्यायिक कारबाहीलाई अन्तिम रूप दिन अमेरिकी र बेलायती वकिलहरूसँग सम्पर्क राखेको बताए ।
यदि संरा अमेरिकाले आईसीजेको निर्णयलाई स्वीकार गर्दैन भने कम्तीमा जर्मनीलाई भएको जस्तै कारबाहीहरू सामना गर्नुपर्नेछ । जर्मनीले अझै विश्वयुद्धको क्षतिका लागि क्षतिपूर्ति तिरिरहेको छ ।
संरा अमेरिकाले अब आफूले गरेको अपराधको लागि जवाफदेही हुनुपर्छ, ४७ जना वकिलहरूको टोलीको नेतृत्व गरिरहेका भान रेन्सबर्ग भन्छन् ।
“हामी अमेरिकी सरकारसँग इजरायल र इजरायली रक्षा बलहरूलाई भौतिक सहायता र साधनहरू प्रदान गर्ने, प्रोत्साहन गर्ने र समर्थन गर्ने, निहत्था नागरिहरूको हत्या गर्न प्रोत्साहन गर्ने वा हतियार उपलब्ध गराउने प्रचुर प्रमाणहरूका आधारमा अमेरिकी सरकारविरुद्ध कानुनी कारबाही अघि बढाउन चाहन्छौँ । अमेरिकी सरकारको यो आचरणले इजरायललाई प्यालेस्टिनी जनताविरुद्ध अन्तर्राष्ट्रिय अपराधमा लाग्न सक्षम बनाएको छ र जारी राखेको छ,” दक्षिण अफ्रिकी वकिलहरूले जनवरी २ मा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाएको पत्रमा भनेका छन् ।
“यी अपराधहरूको परिणामस्वरूप प्यालेस्टिनी जनतालाई उनीहरूको घर र सम्पत्तिबाट विस्थापित, प्यालेस्टिनी सम्पत्तिको विनाश, पुरुष, महिला, बालबालिका र शिशुहरू साथै वृद्ध र अशक्तहरूसहित निर्दोष नागरिकहरूको जानाजानी हत्या र प्यालेस्टिनी भूमिको चोरीलगायत कदमले जारी वर्तमान युद्ध अपराध, मानवताविरुद्धको अपराध र नरसंहारलाई पुष्टि गर्दछ ।”
“अमेरिकी सरकारले हालै कङ्ग्रेसको अनुमतिबिना इजरायललाई १४००० वटा ट्याङ्क शेलहरू प्रदान गर्न कथित आपत्कालीन प्राधिकरण प्रावधानहरू प्रयोग गरेको छ । विशेषगरी, अमेरिकी सरकारले हतियार निर्यात नियन्त्रण ऐन प्रयोग गरेको सङ्केत गरेको छ । डिसेम्बरको प्रारम्भमा इजरायलमा डेलिभरीको लागि लगभग १०६.५ मिलियन अमेरिकी डलर बराबरको क्षेप्यास्त्रहरू प्रदान गरेको छ ।” उनीहरूले थपे ।
“अमेरिकी सरकारले इजरायललाई प्रदान गरेको ट्याङ्क र क्षेप्यास्त्रहरू ठूलो मात्रामा हतियार बिक्रीको हिस्सा हो जसको लागि ५०० मिलियन अमेरिकी डलरभन्दा बढी मूल्यको ठूलो हतियार प्याकेजको लागि काङ्ग्रेसको स्वीकृति खोजिनेछ र अन्यहरूमध्ये, इजरायलको मार्काभा ट्याङ्कका लागि ४५००० वटा क्षेप्यास्त्रहरू प्रदत गर्ने समावेश छन्, गाजामा इजरायलको आक्रमणमा मार्काभा ट्याङ्कहरू नियमितरूपमा परिचालन गरिएका छन्, ती ट्याङ्कको आक्रमणले हजारौँ सर्वसाधारणको ज्यान लिइसकेको छ र जसले दिनहुँ सर्वसाधारणलाई मारिरहेको छ,” वकिलहरूले औँल्याए ।
दक्षिण अफ्रिकाका अर्थमन्त्री एनोक गोडोङवानाले आफ्नो देशका वकिलहरूले संयुक्त राष्ट्र सङ्घद्वारा स्थापित अन्तर्राष्ट्रिय न्यायिक संस्थामा गएर ‘कानुनको शासन’ को पालना गरिरहेको कुरामा जोड दिए ।
“निस्सन्देह, बेलायतलगायत इजरायलका समर्थकहरूले हाम्रो अनुरोधलाई बकवास भनेका छन् । यद्यपि, हाम्रो विचारको लागि विश्वव्यापी समर्थन छ र हाम्रो मुद्दा बलियो रहेको छ,” उनले भने ।
त्यसप्रति प्रतिक्रिया दिँदै बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले आरोपहरू ‘बकवास’ हो भने । यसैबिच, ह्वाइट हाउस होमल्यान्ड सेक्युरिटीका प्रवक्ता जोन किर्बीले मुद्दा ‘प्रतिउत्पादक र पूर्णतया निराधार’ भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *