भर्खरै :

कक्षा कोठामा सूचना तथा प्रविधिको उपयोगसम्बन्धी गोष्ठी सम्पन्न

कक्षा कोठामा सूचना तथा प्रविधिको उपयोगसम्बन्धी गोष्ठी सम्पन्न

भक्तपुर, ५ माघ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, सूर्यविनायक नगर समितिले शुक्रबार शिक्षकलाई कक्षा कोठामा सूचना तथा प्रविधिको उपयोगसम्बन्धी एक गोष्ठीको आयोजना गरेको छ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा आयोजित गोष्ठीमा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले विद्यार्थीलाई सूचनाको आधारमा विश्लेषण गर्न सिकाउनुपर्ने विचार राख्नुभयो ।
उहाँले विवेक नभएको ज्ञानको अर्थ नहुने भन्दै विद्यार्थीलाई विवेकयुक्त बनाउन मेहनत चाहिने धारणा राख्नुभयो ।
सूचनाको बाढी आएको बेला सही सूचना के भन्ने छुट्याउन नसक्दा विद्यार्थीमा अनेक भ्रम हुनसक्नेमा सचेत बनाउनुपर्ने भन्दै अध्यक्ष गोसाईले साम्राज्यवादी देशहरूले सूचना प्रविधिमा एकाधिकार कायम गर्दा संसारमा ठुला युद्धहरू भएको विचार राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतूले देशभक्त विद्यार्थी तयार गर्नु आवश्यक भएको भन्दै विद्यालयको शिक्षकहरूले सूचना प्रविधिको प्रयोगबाट विद्यालयको प्रगति हुनेमा आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले प्रस्तुत शिक्षा विधेयकमा शिक्षकलाई देश र जनताको हितको लागि लेख रचना प्रकाशन गर्न बञ्चित गरेको बताउँदै योग्य र क्षमतावान शिक्षक उत्पादनको लागि समयसापेक्ष विभिन्न तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष केपी छुस्याकीको सभापतित्वमा सम्पन्न भएकोे उक्त गोष्ठीमा इन्जिनियरिङ समाजका रमेश प्रजापतिले सूचना र प्रविधिको विषयमा तालिम दिनुभएको थियो ।
कार्यक्रममा शिक्षक उत्तम सञ्जेलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *