भर्खरै :

अध्ययनमा जोड दिँदै क्रान्तिको निम्ति जनतालाई प्रकाशनमार्फत विचार बाँड्नुपर्ने

अध्ययनमा जोड दिँदै क्रान्तिको निम्ति जनतालाई प्रकाशनमार्फत विचार बाँड्नुपर्ने

काभ्रे, ६ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबार ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तक अध्ययन गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
गोष्ठीमा नेमकिपाका सचिव प्रेम सुवालले कार्यक्रममा अध्ययन संस्कृतिलाई अझ फराकिलो र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
उहाँले युवाहरूले इतिहास, भूगोल र राजनीति विषयको अध्ययनमा जोड दिँदै क्रान्तिको निम्ति जनतालाई प्रकाशनमार्फत विचार बाँड्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय पुँजीपतिवर्ग देशभक्त हुने भएकोले भारतीय एकाधिकार पुँजी र अन्तर्राष्ट्रिय शक्तिविरुद्धको लडाइँ सँगै लानुपर्ने भन्दै उहाँले मितव्ययिता, अपनत्व र पारदर्शिता नै भक्तपुर मोडेल भएकोले यसलाई विकासको मोडेलको रूपमा लिनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेमकिपा काभ्रे जिल्ला अध्यक्ष कृष्णकुमार वैद्यले कुनै पनि परिवर्तन हुनुको पछाडि शोषण, दमन, अन्याय र अत्याचारको पराकाष्ठा रहेको हुन्छ भन्नुभयो । उहाँले पार्टीको केन्द्रीय परिषद्बाट पारित भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दा बोकेर युवाहरू गाउँ गाउँमा गएर सङ्गठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मीनबहादुर बाटाले कुनै पनि सङ्घर्ष सफल हुन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति तयार हुनुपर्ने भएकोले हामीले अन्तर्राष्ट्रिय घटना र परिस्थितिबारे सूक्ष्म अध्ययन गर्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीको भविष्य हामी युवाहरूको भएकोले आ–आफ्नो जिम्मेवारीलाई इमानदारीसाथ दत्तचित्त भएर पूरा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेक्रायुसङ्घका केन्द्रीय सदस्यहरू महेन्द्र बखुन्छे, राजकुमार लघु, ओम मानन्धर, जगतराम धुख्वा, सुरेन्द्र थाश्रेष्ठ, मुना बासुकला, रणबहादुर रानाका साथै सरिता नेपाली, हरिसुन्दर सुवाल, सुतेज दुवाल, राजु तामाङलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *