भर्खरै :

पहिचान र हरेक देशको सांस्कृतिक प्रश्न

नेपालका विभिन्न जातजाति र भाषाभाषी एवं सरकारका ठेकेदारहरूले ‘पहिचान’ र ‘राष्ट्र एवं राष्ट्रियता’को फलाको गर्दै गरेको देख्दा उदेक लाग्छ । पहिचानवादीहरूमध्ये धेरै पश्चिमी देशका रकमबाट सञ्चालित गैरसरकारी संस्था (एनजीओ) हरू छन् । विदेशी धर्म प्रचार गर्नेहरूमा पहिले हिन्दू धर्म मान्ने ब्राह्मण र पण्डितहरू नै संलग्न छन् । यो तुलनात्मक अध्ययनको भावना र तर्कबाट प्रेरित भएरै ती पेसा अँगालेका हुन् वा एक जाल वा छद्म रूप मात्रै हो, समयले उत्तर दिनेछ ।
आखिर पहिचान के हो त ?
काठमाडौँ उपत्यकाका सहर र बस्तीहरूमा उमेर पुगेका लोग्नेमानिसहरू वाग्मती, विष्णुमती, हनुमानघाट र अनेक ढुङ्गेधारामा गएर स्नान गर्थे र त्यहीँबाट मन्दिर वा विहारमा जान्थे ।
महिला वा बुहारीहरू बिहानै उठेर बढारकुँढार, लिपपोत र आँगनमा बत्ती बाल्थे र पूजा गर्थे । हिन्दू र बौद्ध धर्म मान्नेहरू समानरूपले आआफ्ना मन्दिर र विहारहरूमा जान्थे । विभिन्न भाषाभाषी र जातजातिले आ–आफ्नै धर्म र संस्कृति मान्दै दुःख सुख गरेर जीवन डुङ्गा चलाउँदै आए ।
तर, भारत र एसियाली देशहरूमा पश्चिमी देशहरूको प्रभाव बढ्दै गएपछि अङ्ग्रेजी, फ्रान्सेली र युरोपका अन्य देशहरूको शासन चल्न थाल्यो । एसियाली वा खास गरेर दक्षिण एसियालीहरूको जीवनमा ‘१० देखि ४ बजेसम्मको’ जीवन पद्धतिको जग हाल्दै गयो । युरोप र अमेरिकी शासनबाट मुक्त भएका केही एसियाली र ल्याटिन अमेरिकी देशहरूमा ‘१० देखि ४ बजेसम्म’ र अन्य रीतिरिवाजमा पश्चिमको सिको नगरी आफ्नै परम्परा कायम गरी आआफ्नै देशको रक्षाको भावनाबाट प्रेरित भएर नयाँ जीवन पद्धति अँगालेका छन् ।
माओ त्सेतुुङको देहावसानमा
चीनमा १४ वटा साम्राज्यवादी देशहरूले उपनिवेश बनाएका थिए । विभिन्न नगर र क्षेत्रहरूमा त्यसका प्रभावहरू अहिले पनि होलान् र अझ एक दुई पुस्ता कायम हुन सक्छ, जसरी नेपाल, भारत र दक्षिण एसियाली देशहरूमा क्राइस्चेली नयाँ वर्ष र जन्मदिन मनाइन्छन् । नेपालमा बिस्केट, मोहनी (दसैँ), तिहार (भाइटीका) आदि अनेक पर्व मान्ने परम्परा छ । आफ्नै धर्म र जातअनुसार अन्तिम संस्कार गर्ने गरिन्छ ।
चिनियाँ जनताका शीर्षस्थ नेता माओ त्सेतुङको शोक मनाउँदा चीनका सबै गाउँ, सहर, पहाड, मैदान, समुद्र र हिमालमा एउटै समयमा शोक मनाए; अन्तिम संस्कारमा महिलाहरूले कालो पहिरन आदि चिनियाँ परम्परालाई चालु राखे । चिनियाँ क्रान्ति अहिले पनि चालु रहेको अर्थमा सबैजसो नेताहरूले सैनिक शैलीमै आ–आफ्ना नेतालाई अन्तिम सलामी दिने गर्छन् ।
पेचिङको मध्यमा थेनानमेन चोकमा विदेशीहरूको उक्साहटमा सोभियत सङ्घमा जस्तै शान्तिपूर्ण ढङ्गले समाजवादको ठाउँमा पुँजीवादको पुनः स्थापना गर्ने असफल प्रयास गरिएको थियो । त्यसबेला चीनमा समाजवादी व्यवस्था पल्टाउने उद्देश्य लिएर सन् १९८९ मा संरा अमेरिका, बेलायत, अन्य युरोपेली नेता र कूटनीतिज्ञहरू तथा रुसकै नेता र कूटनीतिक व्यक्तिहरू पुगेका थिए । तर, पश्चिमी साम्राज्यवादीहरू र सोभियत संशोधनवादीहरूको कुत्सित इच्छा चिनियाँ पार्टी र जनताले पूरा हुन दिएनन्† त्यो एक अन्तर्राष्ट्रिय पुँजीवादी षड्यन्त्र भएको चिनियाँ जनताले बुझे ।
नेपाल सचेत हुनुपर्ने
नेपालीहरूले आफूसित भएको खुकुरी छोडेर विदेशीले दिएको खोटपूर्ण आधुनिक हतियारलाई विश्वास गरेमा देश शत्रुको हातमा पुग्नेछ । २० वर्षपछिका सवारी साधनलाई नचलाउने मुख्र्याईँ पहिले पनि डाक्टर महतले सदनमा ल्याउँदा विरोध भएको थियो । यस्ता विदेशी एकाधिकार पुँजीका एजेन्टको काम गर्ने सल्लाहकारहरू, देश चलाउने शासक वा पदाधिकारीहरूलाई प्रहरीको वा सरकारको ‘मुख्य शत्रु’ वा ‘मोस्टवान्टेड’को स्तरको सूचीमा राख्नु आवश्यक छ । यो विषय व्यापारी र मोटर मालिकको सरोकारभन्दा देशको अर्थतन्त्रसँग सम्बन्धित विषय हो । यसको चासो अर्थ मन्त्रालयले लिने हो । यहाँ उल्टो काम हुँदै छ ।
प्रधानमन्त्री र वरिष्ठ नेताहरू विदेश गएर ग्यारेज नभएको व्यक्तिले निजी मोटर किन्न नपाउने कानुनबारे किन सोच्दैनन् ? त्यसो नगर्दा ठाउँ ठाउँमा सडकमा जथाभावी मोटर बिसाउँदा ‘मोटर जाम’ हुने गर्छ ।
फेरि समाजवादी देशकै उदाहरण
के विदेशीलाई रिझाउन र रक्सी खानमात्र विदेश जाने हो ? यस्ता समाजवादी देश पनि छन् जहाँ देशको हितअनुसार ‘१० देखि ४ सम्म’ होइन बिहान र राति पनि कार्यालय र विद्यालय चलाउँछन् । कार्यालय र विद्यालयमा नास्ता र बिहानको भोजको खाने बन्दोबस्त हुन्छ । त्यसले सडकमा मोटर जाम हुँदैन । पालैपालो गरेर २४ घण्टा विकास निर्माणको काम हुँदा देश छिटो अगाडि बढ्छ । माथिल्ला हाकिमहरू र ठुलाबडालाई समेत सैनिक अनुशासनमा जस्तै राखे नेपालमा छिटो विकास हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *