भर्खरै :

“चुनावमा भाग लिएर जनताको सेवा गर्नु पनि एक राजनैतिक आन्दोलन हो”

“चुनावमा भाग लिएर जनताको सेवा गर्नु पनि एक राजनैतिक आन्दोलन हो”

भक्तपुर, ९ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अवलम्बन गर्दै आएको नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि सामन्तवाद, पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादविरुद्ध अविचलितरूपमा सङ्घर्षरत रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुसार नेमकिपा (तत्कालीन सङ्गठन) ले पञ्चायती चुनावलाई पनि उपयोग गर्दै आएको बताउनुभयो । उहाँले चुनावमा भाग लिएर जनताको सेवा गर्नु पनि एक राजनैतिक आन्दोलन भएको विचार व्यक्त गर्नुभयो ।
“सशस्त्र क्रान्तिबाट मात्र समाजवादी क्रान्ति सम्भव हुन्छ । तर, शान्तिपूर्ण अवस्थामा जनताको राजनैतिक चेतनास्तर उठाउन र सङ्गठित गर्न निर्वाचनमा भाग लिएर जनताको सेवा गर्नु समाजवाद स्थापनाको लागि आवश्यक छ,” उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले एमाले र माओवादी कम्युनिस्ट विचारधाराबाट बिमुख भएका नक्कली कम्युनिस्टहरू हुन् भन्दै कम्युनिस्ट पार्टीको नाउँमा पुँजीवादी सरकारमा सहभागी भई पुँजीवादको जगलाई बलियो बनाउने शासकहरूको विरुद्ध नेमकिपाले सैद्धान्तिक सङ्घर्ष जारी राखेको बताउनुभयो ।
नेमकिपाले स्थापनाकालदेखि देश र जनताको हितमा काम गर्दै आइरहेको बताउँदै उहाँले युवा जनशक्ति विदेश पलायन हुँदा देश आर्थिक र राजनैतिकरूपले पछाडि पर्दै गएको बताउनुभयो ।
उहाँले नेमकिपाले ‘अँध्यारो रातमा चम्किलो तारा’ को रूपमा काम गरिरहेको बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले नेमकिपाको नीति र निर्देशनअनुरूप काम गर्दै आइरहेको बताउँदै निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको बचनअनुसार भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले निःस्वार्थरूपमा जनताको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले राजनीतिकरूपमा महिलाहरूलाई सचेत र सङ्गठित बनाउनु आवश्यक भएको बताउँदै नेमकिपा पद र पैसाको लागि नभई जनताको सेवाको लागि स्थापना भएको कम्युनिस्ट पार्टी हो भन्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नेपाल मजदुर किसान पार्टीले पार्टी स्थापनाकालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका खोटा विचारहरूको खण्डन गर्दै आएको बताउँदै नेमकिपाले सैद्धान्तिक, वैचारिक तथा राजनीतिक सङ्घर्षमार्फत देशलाई सही दिशानिर्देश गर्न प्रयासरत रहेको बताउनुभयो ।
कामदारवर्गलाई शासकवर्गको रूपमा उठाउने उद्देश्यका साथ नेमकिपाले जनताको सेवामा समर्पित भएर इमानदारीपूर्वक काम गरिरहेको बताउँदै उहाँले नेमकिपा विचार र सिद्धान्तको आधारमा स्थापना भएको नेपालको सच्चा कम्युनिस्ट पार्टी भएको स्पष्ट पार्नुभयो ।
कर्मचारी समाज नेपालका अध्यक्ष गौतमप्रसाद लासिवाले विदेशी पुँजीको हित गर्ने, देशका गुह्य विषय विदेशीलाई बताउने र दोहोरो तलब खाने राजनीतिक दल, तिनका नेता र सरकारी कर्मचारीहरू जनताका शत्रु भएको बताउँदै त्यस्ता शत्रुहरूलाई निर्मूल गर्न नेमकिपा सधैँ क्रियाशील भइरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पार्टी स्थापनाका सैद्धान्तिक आधारबारे जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *