भर्खरै :

पेचिङतिर – ३

पेचिङतिर – ३

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

जनकाङ्ग्रेस हल (Great Hall of the People) चिनी क्रान्ति र चिनियाँ ऐतिहासिक म्युजियम १९५६ मा ११ महिनाभित्र बनाइएको थियो । जनसभा भवन अथवा ग्रेट हल अफ दी पिपुलले १,७१,८०० वर्ग मिटर ढाकेको छ । सभा भवनमा १२ भाषाहरूले अनुवाद गर्ने एरफोन (कानले सुन्ने यन्त्र) लगाइएका १०,००० सीट छन् । हल सा¥है सुन्दर ढङ्गले बनाइएको छ । माथि बरण्डा अथवा बाल्कोनी तह तह उठ्दै गएको छ । हलको ठीक बिचमा माथि एउटा गोलाकार घेराभित्र रातो पाँचतारा चम्किरहन्छ । ताराको चारैतिर कमलका पातहरूको घेरा छ र त्यस पातहरूलाई ताराबाट आएका धर्कोहरूले जोडिएका छन् । रातो तारा कम्युनिस्ट पार्टीको प्रतीक हो र कमलका पातहरू चीनका विभिन्न जातिहरूको प्रतीक हो । बिचमा तारा र जातिहरूलाई जोड्ने रेखाहरूको मतलब यो सबै जातिहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको समान निर्देशन हो । यसलाई ग्रेट हल पनि भन्ने गरिन्छ । यसको अर्को बयान गर्न लायकको कक्ष हो भोजन कोठा (Banquet Hall) जो सारै भव्य छ । यस कोठामा ५,००० भन्दा बढी मानिसहरू बसेर खान सक्छन् । यसबाहेक भवनमा हरेक जातिपिच्छे आफ्नै सांस्कृतिक तरिकाले सजाइएका भिन्ना भिन्नै कोठाहरू छन् । यस काङ्ग्रेस भवनको भव्यता हेरेर नयाँ चिनियाँ जनताको भवन निर्माण कला र भित्ता, छत र खम्बामा कुँदेका चित्रकलाले देशका नयाँ र पुरानो विभिन्न जातीय कलाको एक राम्रो झलक दिन्छ । काङ्ग्रेस हल साँच्चै आश्चर्यजनक भवन हो ।
म्युजियम – चिनियाँ क्रान्ति र चीनको ऐतिहासिक म्युजियम थेन आन मन चोकको पूर्वपट्टि रहेको छ । यो म्युजियममा चीनको आदिम साम्यवादी समाजदेखि क्रान्तिको समयसम्मका मुख्य मुख्य ऐतिहासिक घटनाहरूको चित्रहरू देखाइएका छन् ।
चीनको ऐतिहासिक म्युजियमले चिनियाँ इतिहास चिनियाँ कामदार जनताको इतिहास हो जो चीनका सबै जातिहरू सामेल हुनुका साथै चीनको इतिहास संसारका सबै जनताको इतिहासको एक भाग पनि हो भन्ने कुरा देखाइएको छ । यसमा चिनियाँ समाजको सुरुआतदेखि १८४० सम्मका कुराहरू देखाइएका छन् । आदिम समाज, दास समाज र सामन्त समाज गरेर तीन भागमा बाँडेका छन् । आदिम समाजको खण्डमा त्यसबेलाका मानिसहरूको हाडखोड, तिनीहरूले प्रयोग गरेका हातहतियारहरू, आदिम समाजको बनावट र त्यहाँ प्रयोग गरिने गहना र ठाउँ ठाउँमा बाँकी भएर पाइएका हाड खोरहरू, ‘पीत’ र याङसी नदीको ब्यासी, उत्तर र तिब्बत पठार, दक्षिण पूर्वी समुद्र तट र ताइवान आदि ठाउँहरूबाट प्राप्त नयाँ पाषाण युगका भाँडाकुँडा उत्पादन गर्ने औजारहरू र त्यसबेलाका कलात्मक वस्तुहरू, उत्पादन शक्तिको प्रदर्शन गरिएको छ ।
त्यस्तै बास र सामन्त युगका अनेक प्रकारका वस्तुहरू पनि देखाइएका छन् । त्यसको साथै प्राचीन चीनको दर्शन, साहित्य, चिकित्सा, गणित, भूगर्भ विज्ञान, भौतिक शास्त्र र अरु ज्ञान विज्ञानका धेरै क्षेत्रहरूको विकासको सम्बन्धमा धेरै लाभदायक वस्तुहरू प्रदर्शित छन् । त्यस बेलाका ठुलठुला दार्शनिक, वैज्ञानिक, साहित्यिक, नेता आदि महापुरुषहरूका चित्रहरू र उनीहरूले आविष्कार गरेका वस्तुका मोडेलहरू पनि प्रदर्शित गरिएका छन् । छोटकरीमा भन्दा चिनियाँ सभ्यताको विकासदेखि १८४० सम्मका सबै कुराहरू या घटनाहरू देखाउन सफल भएका छन् ।
यस्तै प्रकारले चिनियाँ क्रान्तिको अजायब घरमा १८४० देखि १९४९ को क्रान्ति र समाजवादी निर्माणसम्मका सबै ऐतिहासिक घटनाहरूका चित्रहरू त्यस सम्बन्धित वस्तुहरूले देखाइएका छन् । यसमा खास गरेर पुरानो प्रजातान्त्रिक क्रान्ति र नयाँ प्रजातान्त्रिक क्रान्तिमा चिनियाँ जनताले गरेका वीरतापूर्ण कार्य र घटनाहरू प्रदर्शित गरेका छन् । पुरानो प्रजातान्त्रिक क्रान्तिको भागमा १८४० को अफिम युद्धदेखि १९१९ सम्मको साम्राज्यवाद र सामन्तवादको विरुद्धमा गरेको चिनियाँ जनताको सङ्घर्ष र त्यसबेलाको ऐतिहासिक भौतिक र सांस्कृतिक वस्तुहरू पनि देखाइएका छन् । नयाँ प्रजातान्त्रिक क्रान्तिको भागमा १९१९ को क्रान्तिपछि १९४९ को जनवादी क्रान्तिसम्मको ऐतिहासिक महत्वपूर्ण घटनाहरू छन् । यसमा कम्युनिस्ट पार्टीको नेतृत्वमा गरेका ऐतिहासिक सङ्घर्ष, त्यसबेलाका पर्चा, पोस्टर अरु अनेक प्रकारका सामानहरू र क्रान्तिपछिको सबै क्षेत्रमा गरेका उपलब्धिहरू देखाइएका छन् । यस अजायब घरको स्थापनाको मुख्य उद्देश्य १०० वर्ष पहिलेदेखि चिनियाँ जनताले गर्दै आएको सङ्घर्षलाई देखाउनु, खास गरेर कम्युनिस्ट पार्टीको स्थापनापछिको समाजवादको लागि गरेको सङ्घर्षलाई देखाउनु र त्यसबेला प्रयोगमा ल्याइएका अनेकौँ भौतिक र सांस्कृतिक वस्तुहरूको संरक्षण र वैज्ञानिक अनुसन्धान गर्नु हो । यस म्यूजियमले वर्गसङ्घर्ष र साम्यवादको विषयमा आम जनतामा शिक्षा दिने काम गर्दछ ।
जातीय सांस्कृतिक भवन – यो भवन पेचिङको दर्शनीय स्थानहरूमध्ये एक हो, जो पश्चिमी चोङगान भन्ने ठाउँमा छ । यो पेचिङको सबभन्दा अग्लो अथवा उँचो भवनमध्ये एक हो । यसको उचाइ ६७ मिटर र १३ तलाको छ । यसले ३०,००० वर्गमिटर ओगटेको छ । यसमा ६ लाख किताब अटाउने एक ठुलो पुस्तकालय र १,००० भन्दा बढी सीट भएको, बिजुली र ७ भाषाको अनुवाद सुन्न सक्ने कानमा लगाउने यन्त्रको व्यवस्था भएको एउटा सभाहल पनि छ । यो भवन चिनियाँ कलाले मयुरी रङ्गको दुईपङ्खे रूपमा बनाइएको छ ।
भवनभित्र पस्नासाथै रेशमको एउटा ठुलो तस्बिर देखिन्छ । चित्रमा अध्यक्ष माओका वरिपरि चीनका सबै जातिहरू आफ्नो आफ्नो जातीय पोशाकमा सबै नाच्दै गाउँदै रहेका देखिन्छन् । त्यहाँ लेखिएको छ, ‘चीनको जातीय एकता – जिन्दावाद !’ सांस्कृतिक भवनमा हरेक (बहुसङ्ख्यक र अल्पसङ्ख्यक) जातिहरूको प्रदर्शन कक्षहरू छन् । त्यस कक्षमा भिन्नाभिन्नै जातिहरूको आ–आफ्नो सांस्कृतिक भेषभुषा कला र संस्कृति देखाइएको छ । उनीहरूका आफ्ना आफ्ना स्वायत्त प्रदेशहरूको इतिहास, भूगोल, कृषि, उद्योग, खानी, विज्ञान र शिक्षा आदि विभिन्न क्षेत्रहरूको विषयमा मोडेल, चित्र, स्केच, नक्सा र चार्ट अनि धेरै मालसामानहरूद्वारा सम्बन्धित स्वायत्त प्रदेशलाई नै सानो कोठामा प्रदर्शित गरेको छ । यस सांस्कृतिक भवन हेरिसकेपछि दर्शकहरूलाई सारा जातीय क्षेत्रहरूको भ्रमण गरेको अनुभव हुन्छ । यसको पुस्तकालयमा चीनको सबै अल्पसङ्ख्यक जातिहरूको इतिहास र संस्कृति विषयका किताबका बाहेक माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र अध्यक्ष माओ र चिनियाँ कम्युनिस्ट पार्टीका अरु नेताहरूको राष्ट्रिय प्रश्नहरूको सम्बन्धमा लेखिएका किताबहरू पनि छन् । यसबाहेक खेलकुद, सङ्गीत, नाच, अपेरा हेर्ने ठाउँ र अरु विभिन्न कार्यकलापको लागि छुट्टाछुट्टै कोठा र तलाहरू व्यवस्था गरिएको छ । यो भवनको बनावट र व्यवस्था हेरेर दर्शकले आफू कहाँ छु भन्ने कुरो बिर्सन बेर लाग्दैन । यो यति सुन्दर छ ।
अरु केन्द्रहरू
पेचिङको रेलवे स्टेसन, पेचिङ चिडिया घर, जीव र वनस्पति म्युजियमहरूबाहेक अरु कृषि प्रदर्शनी केन्द्र, पेचिङ प्रदर्शनी केन्द्र, चित्र सङ्ग्रहालय, चिनियाँ क्रान्तिको सैनिक म्युजियम, रेडियो र टेलिभिजन स्टेसनजस्ता अनेकन् स्थानहरू, नयाँ र पुराना सडक, बजार र पार्कहरू हेर्न लायक छन् । पेचिङको विविध म्युजियम र चिडियाखाना भवन र प्रदर्शनी र सङ्ग्रहालयहरू हेरेर चीनको जीव र वनस्पति विज्ञान, कृषि र कला आदि क्षेत्रहरूको चौतर्फी ज्ञान र प्रगतिको विषयमा अनुमान गर्न सजिलो पर्दछ, यस्ता कुराहरूको यति राम्रो व्यवस्था हाम्रो जस्तो सानो मुलुकको लागि सा¥है गा¥हो काम होला जस्तो छ ।
तर, सङ्ग्रह र संरक्षण गर्नुपर्ने धेरै वस्तुहरू हाम्रा देशमा छन्, जसलाई सरकारले अलि चाँडो व्यवस्था गरेको खण्डमा धेरै उपयुक्त हुनेछ ।
चीनको राजधानी पेचिङ साँच्चै एक सुन्दर र आकर्षक नगर भएको छ । क्रान्तिभन्दा अघि पेचिङ सहरले साम्राज्यवादी लुटेराहरू र च्याङ काइशेक प्रतिक्रियावादी सरकारको तर्फबाट धेरै नोक्सानी र बर्बादी सहनुपरेको थियो । तर, १९४९ को क्रान्तिपछि पेचिङ सहरमा ऐतिहासिक परिवर्तन भएको छ ।
पेहाई पार्कको पागोडाबाट हेर्दा ठुलठुला भवन र सडकहरूमात्रै होइन कैयन् कारखानाका चिम्नीहरू पनि पेचिङको क्षितिजसम्म देखिन्छन् । स्कूल, कलेज, विश्वविद्यालयजस्ता अनेकौँ ठुला र साना शिक्षण संस्थाहरू, वैज्ञानिक अनुसन्धान शाखाहरू, अरु सांस्कृतिक भवनहरूले व्याप्त पेचिङ एक सांस्कृतिक केन्द्र पनि भएको छ । साथै क्रान्तिपछि अनेकौँ सिनेमा भवन, नाचघर, रङ्गशाला, प्रदर्शनी गृहहरू आदि मनोरञ्जन र सांस्कृतिक स्थलहरूको स्थापनाले जनताको सांस्कृतिक स्तर पनि धेरै माथि उठेको छ । नयाँ चीनको राजनैतिक, आर्थिक र सांस्कृतिक केन्द्रको रूपमा पेचिङ क्रान्तिपछि आफ्नो पुरानो रूप फेरेर नयाँ सहरमा परिणत भएको छ । समय सँगसँगै पेचिङले झन्झन् राम्रो सुन्दरतालाई अँगाल्दै छ, काँचुली फेर्दै गइरहेको छ । पेचिङ सदावहार वा वसन्तजस्तै सधैँ हरियो हुँदै जाने उसको भविष्य छ ।


अन्तर्राष्ट्रिय युवा विद्यार्थी स्वास्थ्य निवास
पेचिङको पश्चिमी पहाडको सुन्दर दृश्यको नजिकै पेचिङ सहरबाट २० किलोमिटर पर आई. यू. एस. सेनेटोरियम अवस्थित छ । १९५० मा भएको ‘विश्व विद्यार्थी कङ्ग्रेस’ को निर्णयअनुसार यो स्वास्थ्य निवास बनेको थियो । १९५४ को २५ नोभेम्बरदेखि स्वास्थ्य निवास खुलेको थियो । १९५६ मा प्रागमा भएको चौथो विश्व विद्यार्थी कङ्ग्रेसले यस स्वास्थ्य निवासमा एसिया र अफ्रिकी विद्यार्थीहरूको उपचार गर्ने निर्णय गरेको थियो । तर, एसिया र अफ्रिकी विद्यार्थीहरूको अन्तर्राष्ट्रिय विद्यार्थी युनियनको स्वास्थ्य निवास (I.U.S. Sanatorium) लाई विदेशी विद्यार्थीहरू पेचिङ स्वास्थ्य निवासमात्रै भन्छन् ।
यस टी.बी. (क्षयरोग) सेनेटोरियमको क्षेत्रफल ९०,००० वर्गमिटर छ । स्वास्थ्य निवासको जम्मा भवनको क्षेत्रफल २०,४०० वर्गमिटर छ, जसमा करिब ३०० बेड अथवा खाट छन् । सेनेटोरियम राम्रा राम्रा हरिया सल्ला र अरु हजारौँ रुख र बिरुवाहरूले टम्म ढाकिएको छ । साथै कृत्रिम फोहरा, झरना, पहाड, बगैँचा र कुञ्जहरूले गर्दा स्वास्थ निवास साँच्चै एक मनोरम स्थल बनेको छ । यहाँ फुल्ने रङ्गीबिरङ्गी फूल र हरियाली अनि पोखरीमा खेलिरहने स–साना सुनौला माछाहरूले स्वास्थ्य निवासको सम्झनालाई झन् ताजा बनाइदिन्छ । स्वास्थ्य निवासको पश्चिमपट्टि नजिकैको सुन्दर हरियाली, पूर्व–पश्चिमी पहाड, पूर्वतिरको मैदान, हरियाली लहरिने कम्युनको खेत र दक्षिणमा कलकल गर्ने नहरले स्वास्थ्य निवासलाई अत्यन्त आकर्षक र आनन्ददायक बनाएको छ ।
स्वास्थ्य निवास सुरु भएको ४–५ वर्षभित्रै नेपाल, भारत, इन्डोनेसिया, बर्मा, इराक, जोर्डन, संयुक्त अरब गणतन्त्र, कोरिया, भियतनाम, मङ्गोलिया, पाकिस्तान, चीन, श्रीलङ्का, युगान्डा आदि एसिया र अफ्रिकाका १४–१५ सय विद्यार्थीहरू स्वास्थ्य निवासमा उपचारको लागि भर्ना भइसके । १२–१३ सय विद्यार्थीहरूले स्वास्थ्य लाभ गरेर आ–आफ्ना मातृभूमि फर्केर आफ्नो देश निर्माणमा लागे या आनन्दसँग साधारण जीवन बिताउँदै छन् । साथै ६०–७० देशका २–३ हजार पाहुनाहरूले स्वास्थ्य निवासको भ्रमण गरेर आ–आफ्ना अमूल्य राय र सुझावहरू दिएर गए । यसरी यस स्वास्थ्य निवासले एक अन्तर्राष्ट्रिय मैत्री भवनको रूप लिइसकेको छ जहाँ एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका मैत्री र शान्ति चाहने युवक–विद्यार्थी, प्रतिष्ठित व्यक्तिहरूले भ्रमण गर्ने गर्छन् ।
स्वास्थ्य निवासका रोगीहरूको मनोरञ्जनको लागि एउटा क्लव (हल) को व्यवस्था छ, जहाँ पियानो, हार्मोनियम, जलतरङ्ग, एकर्डिन, बेला (भ्वाइलेन), गितार, सितार, एकतारे, मैन्डोलियन आदि बाजाहरू, पिङ्गपङ्ग, बिलियर्ड, चेस, क्यारेम र अरु विभिन्न खेलहरूको व्यवस्था भिन्ना भिन्नै कोठामा मिलाइएको छ । त्यस क्लवमा विद्यार्थीहरू आपसमा एक देशका विद्यार्थीले अर्को देशका साथीलाई आ–आफ्नो देश र जातिको गीत र नाच सिकाउँछन्, सँगै खेल्छन् । हप्तामा दुईचोटि सिनेमा शो हुन्छ जसमा चीन र अरु विभिन्न देशहरूको डकुमेन्टरी र फिल्महरूको प्रदर्शन हुन्छ । यसबाहेक पेचिङका सांस्कृतिक केन्द्रहरू र चीन भ्रमणमा आएका विभिन्न देशका सांस्कृतिक प्रतिनिधिमण्डलहरूको पनि सांस्कृतिक कार्यक्रम देखाइन्छ । बराबर मित्र देशहरूको राष्ट्रिय दिवस, वसन्त उत्सव, नयाँ वर्षको उपलक्ष्यमा समारोहहरू गर्छन् र सत्कार र बिदाइ समारोहमा अनेक नाच–गानका गतिविधिहरू पनि हुन्छन् । स्वास्थ्य निवासमा एक टेलिभिजन कोठा र रेडियो सेटका कोठाहरू पनि छन् । टेलिभिजन कक्षमा सारा विद्यार्थीहरू दिनका दिन आ–आफ्नो मन लागेका कार्यक्रमहरू हेर्छन् र रेडियो कोठाहरूमा आ–आफ्ना देश र भाषाका विद्यार्थीहरू भिन्नाभिन्नै कोठाहरूमा बसेर खबर अथवा गीत सुन्दछन् । स्वास्थ्य निवासको आफ्नै एउटा प्रसारण केन्द्र छ जहाँबाट छात्रछात्राहरूको आराम गर्ने बेलामा गीत, खबर र सूचनाहरू भिन्नाभिन्नै भाषामा प्रचार हुन्छ । रोगीहरू खाटमै सुतेर हेड्फोन (कानमा हाल्ने यन्त्र) हालेर खबर, गीत र सूचनाहरू सुन्दछन् ।
स्वास्थ्य निवासमा बास्केटबल, भलिबल आदि बाहिरी खेलहरूको निम्ति कोर्टहरू छन् । यहाँ बराबर ठाउँठाउँका युवक, विद्यार्थी, मजदुर, किसान, महिलाहरूको मैत्रीपूर्ण खेल प्रतियोगिता हुन्छ । साथै रोगीहरूको बिचमै र स्वास्थ्य निवास तथा अरु बाहिरका स्कूल, कारखाना र कम्युनका टीमहरूको बिचमा पनि पिङपङ र अरु खेलहरूको मैत्रीपूर्ण खेलहरू खेलिन्छन् । यसरी स्वास्थ्य निवासमा मनोरञ्जनका सबै साधनहरूले गर्दा रोगी विद्यार्थीहरू आफ्नो रोग बिर्सिदिन्छन् र उनीहरूको प्रसन्नता स्वास्थ्यको लागि लाभप्रद या उपचारमा सहयोग हुन जान्छ । यत्तिमात्रै होइन रोगीहरूलाई हप्तामा एकदिन ‘साँपु’ भनेर पैदल हिँडाएर रमणीय ठाउँ या दृश्यहरू देखाउन लैजान्छन्, जसले मनोरञ्जनको साथै स्वास्थ्यलाई फाइदा पनि गर्छ । त्यस्तै, १५–२० दिनको एक बाजी पेचिङका पुराना पुराना महल, मन्दिर, पार्क, सङ्ग्रहालय, नयाँ निर्माण भएका दर्शनीय स्थानहरू, चिडियाघर, म्युजियम र अन्य प्रदर्शनीहरू देखाउन लैजान्छन् । पेहाई पार्क, ग्रीष्म महल, स्वर्ग मन्दिर र दक्षिणी पार्कका सुन्दर दृश्य र पुराना चिनियाँ कलाकृतिहरू हेरेर विदेशी विद्यार्थीहरू आनन्दले मग्न हुन्छन् । चिडियाघर, जीव र वनस्पति विज्ञान र अरु विषयका प्रदर्शनीहरू हेरेर शिक्षा हासिल गर्छन् ।
स्वास्थ्य निवासमा एउटा ठुलो पुस्तकालय छ । यहाँ देशविदेशका विभिन्न भाषा र विषयका हजारौँ किताबहरू नियमितरूपले उपहार आउँछन् । पुस्तकालयमा बिरामी विद्यार्थीहरू देशविदेशका समाचार र किताबहरू पढेर आफ्नो जिज्ञासालाई तृप्त गर्छन् ।
स्वास्थ्य निवासको उपचार प्रणाली सा¥है प्रशंसनीय छ । उपचारको साथसाथै रोगीहरूको खानामा विशेष ध्यान दिइन्छ । हरेक देशका रोगीहरूलाई उनीहरूकै इच्छा गरेको किसिमको खानाको व्यवस्था मिलाइन्छ जो स्वस्थकर साबित हुन्छ । स्वास्थ्य निवास चिकित्सा विज्ञानले आवश्यक ठानेका नयाँ नयाँ उपचारको सामानले पूर्ण छ । उपचारमा पश्चिमी र पूर्वी (चिनियाँ) दुवै तरिका अपनाइएको छ । पूर्वी अथवा पश्चिमी दुवै तरिकाका उपचार अपनाएर रोगीलाई चाँडै र राम्रोसँग निको पार्ने लक्ष्य राखिएको हुन्छ । यसको एक्सरे (फोटो) विभाग, प्रयोगशाला, चिनियाँ चिकित्सा विभाग, टी.बी. विभाग, नर्सिङ विभाग आदि विभिन्न विभागहरू छन् । यी मुख्य विभागहरूका साथै दाँत, आँखा, नाक, घाँटी, कान (ENT) विभाग, नयाँ औषधि विभाग, प्राचीन चिनियाँ चिकित्सा डिस्पेन्सरी, फिजियोग्राफी विभाग र शल्यक्रिया (अपरेसन) आदि विभाग र कोठाहरू पनि छन् । उपचार गर्ने तरिकामा अरु सरल र वैज्ञानिक बनाउन नयाँ नयाँ सामानहरू बर्सेनि थप गर्दै छन् र जटिल प्रश्नहरूमा पेचिङका अरु कुशल डाक्टर, प्रोफेसर र नामी विशेषज्ञहरूलाई बोलाएर सल्लाह लिन्छन् । डाक्टरहरू हर हप्ता रोग र उपचारको सम्बन्धमा सभा गर्छन् र जटिल प्रश्नहरूमा अरु विशेषज्ञहरूसँग राय सल्लाह लिन्छन् । पेचिङका अरु स्वास्थ्य संस्थाहरूमा अपरेसन आदि गर्न पठाउँछन् । केमोथेरापी, कलाप्सथेरापी, फिजियोथेरापी, चिकित्सा कसरत, चंच्यु, मोहिबुशन र अक्युपन्चरजस्ता परम्परागत उपचार र न्युट्रिसनल व्यवस्था पनि लागू गरिएको छ । चिनियाँ परम्परामा उपचारले पनि प्रशंसनीय सफलता पाएको छ । स्वास्थ्य निवास हरेक प्रकारका उपचार र चिकित्साका मालसामानले युक्त आधुनिक संस्था भएको छ । यहाँको उपचार गर्ने तरिका सा¥है वैज्ञानिक र लाभदायक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *