भर्खरै :

संशोधनवाद र अवसरवादको विरोधमा नेमकिपा स्थापना

संशोधनवाद र अवसरवादको विरोधमा नेमकिपा स्थापना

भक्तपुर, १२ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा भक्तपुर नगरपालिका ४ नं. वडा खेलकुद समितिको आयोजनामा शुक्रबार जिल्लाव्यापी खुला फुटसल प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको आतिथ्यमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा सचिव सुवालले नेपाल मजदुर किसान पार्टीको स्थापना नेपाल कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद र अवसरवादको विरुद्धमा भएको र स्थापनाकालदेखि नेपाल मजदुर किसान पार्टीले समाजवाद र साम्यवादी व्यवस्थाको लागि निरन्तर जनतालाई शिक्षित गर्दै आएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले खेलकुदलाई मौलिक अधिकारभित्र राख्नुपर्नेमा जोड दिँदै आएको चर्चा गर्दै उहाँले सरकारमा जानेहरूले त्यसबारे चासो नराखेको कारण देशमा खेलकुदको विकास हुन नसकेको बताउनुभयो ।
हरेक खेलाडीहरू देश र जनताको बारेमा चिन्तित हुनुपर्ने बताउँदै उहाँले शिक्षित भएको खण्डमा देश परनिर्भर नहुने विचार व्यक्त गर्नुभयो । इजरायलले प्यालेस्टिनी देश कब्जा गरेर प्यालेस्टिनी जनतालाई सफाया गर्न लागेजस्तै नेपालमा पनि भारतले विस्तारै सफायाको नीति अपनाइरहेकोले खेलाडीहरू राजनीतिकरूपमा सचेत हुनुपर्छ भन्नुभयो ।
आयोजक वडा खेलकुद समितिका अध्यक्ष पशुपति प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर वासी, आयोजक समितिका उपाध्यक्ष विजय लोहलाले बोल्नुभएको थियो ।
कार्यक्रममा राजेन्द्र माकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *