जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
नेपालीहरू जतिजति अमेरिकाको नजिक नजिक पुग्दै छन् उतिउति त्यहाँका राम्रा कुरा सिक्नुभन्दा छलकपट र जालीफट्याइँ गर्न जानेको थाहा हुँदै छ । अर्को भाषामा अपराध र अपराधीहरू बढ्दै गएको प्रस्ट छ ।
एउटा समाचारको शीर्षक छ– ‘सूचना प्रविधि सम्बद्ध ठेक्काका (मास्टर माइन्ड) विकल र सुनिलको धन्दा’, ‘नेपालमा भ्रष्टाचार, सिङ्गापुरमा नियुक्ति र अमेरिकामा पीआर’ (नयाँ पत्रिका ११ माघ २०८०) ।
अर्काे शीर्षक छ, ‘गैरकानुनी सम्पत्ति मुद्दामा अख्तियारको अर्को छानबिन, पदको चरम दुरूपयोग’ । विकल पौडेल र सुनिल पौडेलले नेपाल राष्ट्र बैङ्कको स्वीकृतिबिना विदेशी बैङ्कमा विदेशी मुद्रामा खाता खोली १ करोडभन्दा बढी रकम जम्मा गरेको भेटिएको छ । उनीहरूले नेपालको सरकारी सेवामा रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्श दाताको पदमा औपचारिकरूपमा नियुक्ति लिएका थिए । विकलले त अमेरिकाको स्थायी आवासीय अनुमति (पीआर) समेत लिएको देखिएको अख्तियारले जनायो ।
नेसनल पेमेन्ट गेटवे खरिदको २३ करोड २७ लाख २८ हजार घोटाला मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा प्रतिवादीद्वय नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोस्रो अनुसन्धान थालेको छ ।
माथिल्ला पद र परिवारका युवाहरू कसरी देश र समाजको विरूद्ध आर्थिक अपराधहरू गर्न पुगे भन्नेबारे छानबिन गर्दा पढेलेखेका र जे पनि गर्न तयार जोसिला युवाहरूलाई अपराध गर्ने काममा विदेशीहरूले छिटो फसाउन किन सकेका हुन् भन्ने शङ्का गर्ने ठाउँ छ ।
पश्चिमी देशका युवाहरू राजनीति, अपराध र अनेक अपचलनमा फस्ने गरेको बताइन्छ । ‘युवाहरू भावुकतामा जे गर्न पनि तयार’ हुने हुँदा विदेशीहरू तेस्रो विश्वका मुलुकहरूमा सम्भवतः युवाहरूलाई मात्रै प्रोत्साहन गर्छन् किनभने प्रौढहरू पारिवारिक र सामाजिक इज्जतको कारण विदेशसँग सम्बन्धित अपराधमा तुलनात्मकरूपले कम देखिन्छन् । सोभियत सङ्घमा पश्चिमाहरूले ठुल्ठुला लेखक, कवि र कलाकारहरूलाई समेत अपराधमा फसाएर आत्महत्या गर्न बाध्य पार्छन् । नेताहरूलाई समेत मन्द विष (स्लो प्वाइजन) प्रयोग गर्छन् । यो उपाय अमेरिकीहरूले अफ्रिका, ल्याटिन अमेरिका र अरब देशहरूमा पनि प्रयोग गरेको अध्ययनले बताउँछ ।
लाखौँलाख युवाहरू विदेश पस्दा विदेशी अपराधीहरूको चङ्गुलमा फसेका कति युवाहरूले नेपाल र नेपालीहरूको विरोधमा अपराध गर्ने हो ? अहिले नै अनुमान गर्न गा¥हो छैन । सोभियत सङ्घको अन्तिमतिर त्यहाँ ३ लाख विदेशी गैरसरकारी संस्थाहरू थिए । केही एनजीओ र अनेक कन्सल्टेन्सीहरूले पनि कैयौँ राम्राराम्रा र योग्य युवाहरूलाई विदेश लगेका थिए– हुलमुलमा !
युरोपका एकपछि अर्को पूर्वसमाजवादी देशहरू अहिले पश्चिमको उपनिवेश बनेर छटपटाइरहेका छन् । पुराना जालीफटाहा र नयाँ पुँजीपतिहरूमात्रै समाजवादको खरानीमाथि बसेर ‘प्रजातन्त्र’ को गीत गाइरहेका छन्– रक्सीको सिसी बोकेर । बहुमत जनता हाहाकारमा छन् ।
नेपालको भविष्य पनि अन्धकारको खाडलमा डुब्न बेर लाग्दैन । यदि समयमै युवाहरूलाई विदेश पठाउने र फर्केका युवाहरूबारे जाँचबुझ नगरे तथा सरकारी सेवाका जिम्मेवार पदमा बसेका ठुलाबडालाई कडा निगरानीमा नराख्ने हो भने देश बन्दैन । अतः विदेशसँग गरिने अपराधलाई नियन्त्रण गर्ने कडा कानुनको तर्जुमा गर्ने हो भने अत्यन्त डरलाग्दो स्थिति देशले भोग्नुपर्ने देखिन्छ ।
यस कुरालाई गम्भीररूपमा लिइएन र सोअनुसारको कडा कानुन बनाई देशलाई जोगाउने काम गरिएन भने नेपालका आधाभन्दा बढी युवा जनप्रतिनिधिहरू फस्नेछन् र भोलि तिनीहरू नेपालको जेलमा होइन, विदेशी जेलमा पनि बन्दी बन्नेछन् । छलफल गरौँ, अध्ययन र अनुसन्धान गरौँ !
Leave a Reply