रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
सामन्तवादी समाजमा सामन्त, जमिनदार, राजा महाराजाहरू, शासक, सम्पन्न र अधिकार भएका परिवार र परिवारका सदस्यहरूको ठुलो धाक र प्रभाव हुन्थ्यो । तिनीहरूकै परिवार र बाबु बाजेको नाम र जातबाट तिनीहरू पुजिन्थे र तिनीहरूको सुनुवाइ हुन्थ्यो । तर, अन्य साधारण जनता योग्य र बुद्धिजीवी भए पनि नाउँ नचलेका परिवारका छोरा नातिको कुनै मूल्य थिएन । त्यस समाजमा तिनीहरूको घरखेतको स्वामित्व छोरा नातिमा पनि सर्दै गएजस्तै शासनमा तिनीहरूको हैकम पनि सर्दै जान्थ्यो । साधारण परिवारका साना ठुला सदस्यहरू सडक र समाजमा ‘दर्शन’, ‘जदौ’ ‘प्रणाम’ र ‘बिन्ती’ गर्थे ।
त्यही सामन्तवाद र उपनिवेश देशहरूमा उपनिवेशवादीको विरोधमा जनता स्वतन्त्र हुन चाहन्थे, तिनीहरूकै हुकुमबाट मुक्त हुन चाहन्थे । सारा गरिब जातजातिका जनता समान हुन् भन्ने भावनाले प्रजातन्त्रको पक्षमा मतदान हुँदा मत हाल्थे वा समर्थन गर्थे । तर, सामन्ती समाज र उपनिवेशबाट मुक्त भए पनि ती समाजका गल्ती र गाउँ गाउँसम्मको प्रजातन्त्र र मुक्तिको ज्योति नपुग्दा पुरानै हैकमसँग साधारण जनता झुक्थे ।
नेपालमा जस्तै भारतमा सामन्तवाद र उपनिवेशवादको विरोधमा लड्ने हजारौँ लाखौँ राजनैतिक कार्यकर्ता सहिद भए; घाइते भए । उनीहरूको सम्पत्ति जफत गरियो । उनीहरूले दसौँ र बीसौँ वर्ष गोलघर र कालापानीको सजाय पाए । पुँजीवादी व्यवस्थाले राम्रो काम नगर्दा ती राजनैतिक कार्यकर्ता र स्वतन्त्रता सङ्ग्रामीका छोराछोरी पढ्न नपाएर सामन्त र उपनिवेशवादीहरूकै पिछलग्गूहरूभन्दा पछि परे । ती राजनीति सङ्ग्रामीका छोराछोरीहरू सोध्थे, “हजुरबुबा, बुबा ! तपाईँहरूले राजनीतिमा दुःख पाएर हामीले स्वाधीनता पायौँ ?” अलि बुझ्ने हजुरबुबा र बुबाले जवाफ दिन्थे, “बाबु, हामीले देशको स्वतन्त्रता र मुक्तिको निम्ति लडेका हौँ । अब तिमीहरूले समाजवादको निम्ति बुझेर लड्नुपर्छ, लहलहैमा होइन ।”
यसकारण, हाम्रो राजनैतिक कार्यकर्ताको पुस्ताले बाबु र बाजेको नामबाट होइन, आफ्नै कामबाट जनतामा चिनाउने काम वा सेवा गर्नुपर्छ ।
सांसद प्रेम सुवाललाई हाम्रो सलाम
संसद् र सांसदहरूको बारेमा जनताको ‘काम गरेनन्, कुनै विधेयकबारे छलफल गरेनन्, खाली भत्ताको काल’ आदि आलोचना र लाञ्छना लगाइरहेको बेला सांसद प्रेम सुवालले संसदीय समितिहरूमा संशोधन प्रस्तुत गरी सारा नेपाली जनताको स्वास्थ्यमा अत्यन्त खराब असर पर्ने विषादीयुक्त तरकारी विदेशबाट ल्याउने, तर आफ्नै देशका युवाहरूलाई घर खेत अरुको हातमा पु¥याउने गरी विदेशमा पु¥याउने र खेतमा काम गर्ने युवाहरूलाई विदेश पठाउँदा गाउँ खाली भई दैनिक चाहिने हरियो परियोको लागि वर्षको अर्बाैँ रूपैयाँ विदेश पुग्दा देश विकास कसरी हुन्छ भनी सम्बन्धित समितिका सभापतिसँग जिज्ञासा राखे । उक्त जिज्ञासाबारे उपत्यका र देशका गाउँ, सहर एवं चिया पसलहरूमा व्यापक चर्चा छ ।

विदेशी कम्पनीले नेपाली कन्सल्टेन्ट कम्पनीलाई नेपाली युवा वा श्रमिकहरूको आवतजावतको खर्चसमेत दिएको हुने रहेछ । तर, यहाँका दलालहरूले श्रमिकहरूको बाटो खर्चको रूपमा गरिबहरूको घर जग्गा बन्धक वा बेच्न लगाएर युवाहरूलाई दोहोरो शोषण भइरहेको सुन्नमा आएको छ । यसबारे नेपालका सञ्चारमाध्यमहरूमा पत्रकारहरू र दुःख पाएकाहरूले लेखेको तथा दुःख पोखेको बुझ्दाबुझ्दै पनि मौन रहेपछि के नेपाल र नेपाली जनताको दुःख कष्टमा प्रतिनिधिसभा र सांसदहरूले साँच्चै जनताको प्रतिनिधित्व गरेको साबित हुन्छ ?
यस्तो परिस्थितिमा जनताको स्वास्थ्य, खाद्य पदार्थ, विषाक्त तरकारी र अन्य सम्बन्धित विषयमा आवाज उठाउने सांसद सुवाललाई हाम्रो ‘मजदुर’ दैनिक परिवार धन्यवाद दिन चाहन्छौँ । देश र जनताको हितको मामलामा बोल्ने अरू सांसदहरूलाई पनि हामी सलाम गर्नेछौँ ।
कुनै पनि प्रदेश, जिल्ला, गाउँ, नगरबाट निर्वाचित भए पनि उहाँहरू सारा नेपाली जनताकै प्रतिनिधि हुनुहुन्छ, आ–आफ्ना गाउँ र ठाउँका मात्र होइनन् । भारतको संसद्मा एक पटक बम्बईका समाजवादी नेता जार्ज फर्नान्डेस बिहारको मुजफरपुरबाट निर्वाचित हुनुभएको थियो । तर, उहाँलाई कसैले र कहिल्यै पनि ‘मजफरपुर’ को मात्र सांसद ठानेनन् बरु भारतकै सांसदको रूपमा सम्बोधन हुन्थ्यो ।
Leave a Reply