भर्खरै :

भान्साघर औषधालय कार्यक्रम सम्पन्न

भान्साघर औषधालय कार्यक्रम सम्पन्न

भक्तपुर, १७ माघ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुरको संयुक्त आयोजनामा भक्तपुर नगरपालिकाभित्रका १२० जना आमा समूहका महिलाहरूका लागि भान्साघर औषधालय विषयक अभिमुखीकरण कार्यक्रम मङ्गलबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि जोशीले आयुर्वेद औषधिको महत्व र घरमै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्न सके अस्पताल धाउन आवश्यक नहुने बताउँदै गृहिणीहरूले घरका सदस्यहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्नुभयो ।
उहाँले भक्तपुर नगर कला संस्कृतिको राजधानी भएको हुँदा बेला बेलामा हुने सांस्कृतिक चाडपर्वअनुसारको खाद्य सामग्रीहरूले शरीरलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान गर्ने बताउँदै भक्तपुर नगरपालिकाले बेला बेलामा सांस्कृतिक महोत्सवहरूको आयोजना गरी संस्कृति जगेर्ना गरिरहेको बताउनुभयो ।
खराब खानपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले मृगौला, मुटुरोग, क्यान्सर कडा रोग लागेका बिरामीहरूको लागि रु. १५ हजार आर्थिक सहयोग वितरण गर्दै आइरहेको तथा भनपाद्वारा वडावडामा निःशुल्क व्यायामशालाको व्यवस्था गरेको र भनपाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा निरन्तर स्वास्थ्य शिविरहरूको आयोजना गर्दै आएको जानकारी दिँदै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलाई प्राथमिकतामा राखी समाजवादउन्मुख कार्य गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाले मात्रा मिलाएर खाएमा औषधि र नमिलेमा विष हुने बताउँदै भान्छा घर नै औषधिको स्टोर भएकोले विभिन्न खाद्यान्नसम्बन्धी जानकारी राख्नुपर्ने बताउनुभयो ।
जिल्ला आयुर्वेद औषधालयका कार्यालय प्रमुख डा. नरेन्द्र गिरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयुर्वेद औषधिको महत्व दैनिक जीवनमा अपरिहार्य रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *