भर्खरै :

आफ्नै देशका विद्यार्थीलाई छात्रवृत्ति र पढाइ खर्च देऔँ !

‘समाजलाई बुद्धिजीवीकरण’ गर्नेबारे अनेक बैठक, छलफल र प्रवचनमा प्राध्यापक, शिक्षक, नेता र कार्यकर्ताहरूले बोलेकोबारे सबै जनता अवगत छन् । तर, ती छलफल, बैठक र प्रवचनमा के के काम गरेमा वा के के भएमा नेपाली समाज बुद्धिजीवीकरण भयो भनी बुझ्ने हो र बुद्धिजीवीकरणको तस्बिर र मापदण्ड के हो भन्ने विषयमा किन स्पष्ट गर्दैनन् – अन्योलको विषय यही हो ।
के एमए र पीएचडी गरेका हरेक व्यक्तिलाई सुसंस्कृत र बुद्धिजीवी भन्न मिल्ला ? तर, आश्चर्यको विषय हो – एउटा विषयमा विद्यावारिधि गरेका एक व्यक्ति निर्वाचित जनप्रतिनिधि भए । देश वा विदेश जहाँ गए पनि उनलाई बजारमा माल–सामानको भाउको मात्रै चिन्ता र चासो हुन्थ्यो । ‘रातो राहदानी’ भएको विशिष्ट व्यक्ति समेत विदेशमा आफ्नो राजनीतिक कार्यक्रममा भन्दा बढी बजारमा पुग्थे र नेपालको विमानस्थल पुग्दा एक सानो जीप भरी सामान ल्याए । अध्यागमन र विमानस्थलका कर्मचारीहरूलाई त्यति आश्चर्य भएन किनभने नेपालका जनप्रतिनिधि–नेपाली काङ्ग्रेसका हुन् वा राप्रपा, एमालेका होऊ्न वा कुनै एक ‘समाजवादी’ पार्टीका होऊन् सबैको विदेश भ्रमण व्यापार र ‘शुभलाभ’ कै हुन्छ भन्ने थाहा थियो । तर नेपाली मतदाताहरूलाई जनप्रतिनिधिको ‘अर्थ’ ‘नाफाको भोक’ हो भन्ने थाहा थिएन । संसद्मा आ–आफ्ना स्थानमा बस्दा पनि जनप्रतिनिधिहरू व्यापार र ठेक्कापट्टाभन्दा बढी राजनीतिबाट कसरी पैसा कमाउने भनी कानेखुशी गरिरहेका हुन्छन् ।
कोही कोही भन्दछन्, “आखिर हाम्रा जनप्रतिनिधिहरू पनि नेपालकै उत्पादनका ‘बहादुर’ र ‘व्यापारी हुन् ! मान्छे दुःख भोग्न जन्मेका हुन्छन् सुख पाउनै जन्मेका हुन्छन् । पैसाले नै सबै सुख पाउँछन् ।”
प्रस्ट वक्ताहरू भन्छन् – ‘एक रूपैयाँको १०० गुणा बढी भएपछि मानिस मर्न पनि तयार हुन्छन् ।’ नेपाली बेलायती पल्टनमा जान्छन्, किनभने नेपालमा भन्दा सय गुणाबढी पैसा बेलायत र अमेरिकामा पाउँछन् । बेलायती स्टर्लिङ्ग पाउन्ड वा अमेरिकी डलरमा तलब पाउने भएपछि विदेश गइहाल्छन् !
तर, आश्चर्य पढेलेखेकै, स्नातक र स्नातकोत्तर परीक्षा उत्तीर्ण युवाहरूसमेत अगाडि बढेर अध्ययनको निम्ति भनी झूट बोल्छन् । तिमीहरू मनमनै भन्छन् –“हाम्रो नेपाली विश्वविद्यालयको स्तर नै छैन, अनि के गर्ने ? आफ्नो देशमा काम नपाएपछि एक रूपैयाँको सय रूपैयाँ पाएपछि किन विदेश नजाने ? देशमा प्रधानमन्त्री, मन्त्री, ठूलाबडा प्राध्यापक र प्राविधिकहरू पनि त पैसा कमाउँछन्; आफ्नो तलबभन्दा बढी ! भ्रष्टाचारमा पक्राउ पर्ने कर्मचारीहरू कमसेकम स्नातक हुन् र इज्जत एवं प्रतिस्थाको हिसाबले जाँच्ने हो भने गाउँ र जिल्लाका ठुला घराना र बिहान ‘दर्शन’ गर्नुपर्ने इज्जतदार र प्रतिष्ठित परिवारकै त छन् ।
एउटा उखान छ, ‘सय दोब्बर नाफा हुने भए व्यापारी वर्ग फाँसीको फन्दामा पनि झुन्डिन तयार हुन्छन् ।’ यो कुरा नेपालमा मात्रै होइन संसारमै सत्य हो किनभने वर्तमान पुँजीवादी समाज पनि अन्तर्राष्ट्रिय पुँजीवादी संस्कृतिको उपज हो नि ! विदेशमा लागुपदार्थ बेचबिखन र व्यापार गर्नेहरू मलेसिया वा अन्य देशमा ज्यान सजाय पाउने नै हो । उत्तर आउँछ – १०० गुणा नाफा हुँदा !
तर, इतिहास र संस्कृतिमा धनी एवं स्वर्गजस्तो धार्मिक देश नेपालका ७० लाख युवा र बुद्धिजीवीहरू विदेश गए पनि ७० वटा पुस्तक नेपाली, नेवारी तामाङ, मैथली, भोजपुरी वा अन्य भाषाहरूमा प्रकाशन भएको सुन्नमा आएको छैन । के हाम्रा प्रतिष्ठित घरानाहरू, विश्वविद्यालयहरूका टाउकेहरू र सिंहदरबारमा धक्कु लाउने र देशको ‘पीर मान्ने नेताहरू’ लाई लाज पचेकै हो भनी प्रश्न गरिन्छ र गाईजात्रामा व्यङ्ग्य समेत गरिन्छ ।
यसकारण, माध्यमिक विद्यालयको पाठ्यक्रमदेखि विश्वविद्यालयका पाठ्यपुस्तकहरूको पुर्नलेखन गर्नु आवश्यक छ । परीक्षा नक्कल गरी विद्यार्थीलाई उत्तीर्ण गर्ने निजी विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूमा राम्रा राम्रा शिक्षक–प्राध्यापक र योग्य व्यक्तिहरू पठाएर विद्यार्थीहरूको शैक्षिक र बौद्धिक स्तरलाई उठाउन ध्यान दिनु आवश्यक छ । पश्चिमी देशको नक्कल नगरौँ । विद्यार्थीहरूलाई अध्ययन गर्न सस्तो ब्याजमा ऋणको बन्दोबस्त गरौँ, छात्रवृत्ति र ‘स्टाइफेन’ को बन्दोबस्त गरौँ । गाउँ, सहर, जिल्ला र प्रदेशमा छात्रावास र पुस्तकालय पु¥याऔँ । अनिमात्रै देशलाई बुद्धिजीवीकरण सम्भव हुन्छ – केही दसकमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *