भर्खरै :

‘स्मृतिको तरेलीमा स्व.कृष्णप्रकाश श्रेष्ठ’ पुस्तक विमोचन 

‘स्मृतिको तरेलीमा स्व.कृष्णप्रकाश श्रेष्ठ’ पुस्तक विमोचन 
काठमाडौँ, १८ माघ । नेपाल–रुस संस्कृति र साहित्यका सेतु, लेखक, अनुवाद समालोचक, अनुसन्धानकर्ता स्व. कृष्णप्रकाश श्रेष्ठको सम्झनामा समर्पित ‘स्मृतिको तरेलीमा स्व. कृष्णप्रकाश श्रेष्ठ’ पुस्तक विमोचन काठमाडौँको रुसी भवनमा बुधबार कार्यक्रम सम्पन्न भयो ।
‘सम्झनाको तरेलीमा स्व. कृष्णप्रकाश श्रेष्ठ’ ३० जना लेखकहरूको साझा सङ्कलन हो । यसका सम्पादकहरू प्रा. डा. जंगब चौहान, ई. चन्द्रकान्त आचार्य, ई. विष्णुबहादुर सिंह र ई. रामविन्दु श्रेष्ठ हुनुहुन्छ ।
तीस र चालीसको दशकमा उहाँले गर्नुभएको अनुवादको आँखीझ्यालबाट धेरैले सोभियत समाज चियाउने अवसर पाएका थिए ।
नेपाल–रुस साहित्य समाजद्वारा आयोजित उक्त कार्यक्रम रुसी भवनका प्रतिनिधि सुशील सिग्देलको स्वागत मन्तव्यबाट सुरु भयो । साहित्यकार एवम् कृष्णप्रकाशका भाइ तेजप्रकाश श्रेष्ठले उनको पारिवारिक पृष्ठभूमि प्रस्तुत गर्नुभयो ।
लेखक सम्पादक वसन्त थापाले स्व. कृष्णप्रकाशलाई सन् १९७३ मा भेटेको र १४ वर्षअघि पछिल्लोपटक भेट्दा सोभियत सङ्घ नरहेको, रुसमा भएको परिवर्तनसँगै सुरक्षा अवस्था खस्केको विषम परिस्थितिमा पनि उहाँ कलमवीर, सांस्कृतिक दूत र कर्मयोगी हुनुहुन्थ्यो भन्नुभयो ।
प्रा.डा. खेम कोइराला बन्धुले कृष्णप्रकाश नम्र, सरल स्वभावका धनी थिए भन्नुभयो । उहाँले नेपाल र रुस जोड्ने काम गर्नुभयो भन्दै हामीले कृष्णप्रकाशबारे समग्र ग्रन्थ निकाल्न नसके पनि सारांश पुस्तक सङ्कलन प्रकाशन गर्न सक्छौँ र गर्नु ऐतिहासिक हुन्छ भनी बताउनुभयो ।
सन १९५९ को डिसेम्बर २३ मा एउटै जहाज चढेर सँगै मस्को उडेका उहाँको दौँतरी ई. राजेन्द्रबहादुर अधिकारीले रोचक ढङ्गले स्व. कृष्णप्रकाश श्रेष्ठको आनीबानी र सँगै बिताएका पलहरूको संस्मरण प्रस्तुत गर्नुभयो । उहाँले तासकण्डबाट उडेको जहाज मस्कोमा भएको व्यापक हिमपातको कारण फर्केको, सुरुमा कृष्णप्रकाश बिरामी परेको, जस्तोसुकै दुःखमा वा आलोचना गर्दा पनि उहाँ हाँसिदिनुहुन्थ्यो, मुस्कान उहाँको नवरत्न थियो भनी ६५ वर्षअघिको सहपाठीसँगका आफ्ना दिनहरू सम्झनुभयो । हामीले इन्जिनियर पढ्यौँ उहाँले पैसा नकमाउने पेसा चुन्नुभयो , प्रज्ञा पुरस्कार थाप्न जान पनि पैसा छैन भन्नुहुन्थ्यो र तीनचौथाइ जीवन रुसमै बिताउनुभयो भन्दै उहाँको सादगी जीवन शैलीबारे प्रकाश पार्नुभयो ।
उहाँले तयार गर्नुभएको रुसी–नेपाली शब्दकोष, रुसीमा महाकवि देवकोटा र अन्य नेपाली साहित्यका कृति अनुवाद गर्ने योगदान अत्यन्त प्रशंसनीय छ भन्नुभयो ।
कार्यक्रममा त्रिविका पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले कृष्णप्रकाश श्रेष्ठ हाम्रो युगको अत्यन्त क्रियाशील, अनुवादक, लेखक, समालोचक, बहुप्रतिभाका धनी र नेपाल आमाका सच्चा सपुत भएको भन्दै एउटा व्यक्तिले कति धेरै काम गर्नसकेको हो भन्नुभयो । उहाँले रुसी भूमि साहित्यको दृष्टिले पनि अत्यन्त समृद्ध, सौन्दर्य र कलाका दृष्टिबाट पनि विश्वमै अब्बल रहेको भन्दै कृष्णप्रकाशले संसारका सबैभन्दा उत्कृष्ट इतिहास भएको मुलुकमा अध्ययन गर्नुभयो ।
रुसी साहित्यसम्बन्धी विश्लेषण प्रस्तुत गर्दै प्रा. त्रिपाठीले भन्नुभयो, सोभियत शिक्षा पद्धति मूलभूतरूपमा रुसी शिक्षा पद्धति हो र त्यसपछि थपिएका माक्र्सवादी आयाम हो । गद्य होस् या पद्य कृष्णप्रकाश श्रेष्ठले नेपाली रुसी रचनाहरूको उत्कृष्ट सौरभमय अनुवाद गर्नुभयो । समालोचनाको पनि समालोचना रुसी साहित्य चिन्तन पद्धतिलाई आधार बनाएर कृष्णप्रकाशले ‘नेपाली समालोचना र समालोचकहरू’ रच्नुभएको छ, जसमा वस्तुनिष्ठ विश्लेषण छ  । कृष्णप्रकाश श्रेष्ठ भाषाविद् र रुसी साहित्यविद् थिए भने उहाँका कृतिहरू नेपालको अनुसन्धानलाई सही दिशातर्फ दोहो¥याउन उत्कृष्ट छन् ।
नेपाल रुस साहित्य समाजका अध्यक्ष प्रा. डा. जङ्गब चौहानले स्व. कृष्णप्रकाश श्रेष्ठसम्बन्धी आज भएको कुराकानीबाट आफू भावविह्वल भएको बताउँदै सोभियत सङ्घको विघटनपश्चात् मस्कोमा पटकपटक कृष्णप्रकाशसँग भेट भएको सस्मरण गर्नुभयो । प्रतिकूल आर्थिक अवस्था र त्यहाँको सरकारले हात झिकेको बेलामा पनि उहाँले कृतिहरू अगाडि बढाइराख्नुभएको थियो, अनुसन्धान जारी राख्नुभएको थियो । उनी ६ दशकभन्दा बढी मस्कोमा बिताउने साधक थिए र उनको परिवार नेपाल रुस मित्रताको प्रतिक थियो । हामीले उहाँसँगै मिलेर ‘सम्झनामा रुस’ प्रकाशन गरेका थियौँ र विमोचन गरेका थियौँ जुनबेला उहाँ अस्पतालको बेडमा छटपटाइरहनुभएको थियो ।
नेपाल रुस साहित्य समाजका महासचिव एवम् वरिष्ठ साहित्यकार ई. चन्द्रकान्त आचार्यको व्यवस्थापन, संस्थाका उपाध्यक्ष वरिष्ठ साहित्यकार ई. विष्णुबहादुर सिंहद्वारा आतिथ्य स्वागत र वरिष्ठ भूगर्भविद् ई. आमोदमणी दीक्षितबाट उद्घोषित उक्त कार्यक्रम सम्पन्न भयो ।

One response to “‘स्मृतिको तरेलीमा स्व.कृष्णप्रकाश श्रेष्ठ’ पुस्तक विमोचन ”

  1. Ram Bindu Shrestha says:

    धन्यवाद मजदुर अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *