भक्तपुर, १८ माघ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा बैठक संस्थाको समिति, उपसमिति र कर्मचारीहरूको सहभागितामा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रूद्रनारायण लाखाले उचित आन्तरिक लेखा परीक्षण गर्नु एक सबल सहकारीको पहिचान भएको धारणा राख्दै लक्ष्य र वर्तमान प्राप्तिबिचको अन्तर केलाएर लक्ष्य प्राप्तिको लागि रणनीति बनाउन समीक्षा कार्यक्रम आवश्यक भएको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरूले युवाहरू बिदेसीनुको मुख्य कारण बेरोजगारी रहेकोले संस्थाबाट सीपमूलक तालिम आयोजना गरी युवालाई स्वदेशमै बसी कर्म गर्न सक्षम बनाउनु आवश्यक छ भन्नुभयो ।
संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले कर्मचारीहरू सदस्यहरूसँग नजिक हुने भएकाले कर्मचारीहरूमा सहकारीसम्बन्धी सम्पूर्ण ज्ञान हुनुपर्ने र सहकारीमा विकृति फैलन नदिन कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक रामप्रसाद लाखाजुले संस्थाको समिति, उपसमितिभन्दा पनि व्यवस्थापन मजबुत हुनुपर्ने र संस्था विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
संस्थाले २०८० पुस मसान्तसम्ममा १६,६४७ सदस्य, शेयर पुँजी २७ करोड ६ लाख, निक्षेप तथा बचत २ अर्ब २९ करोड ३ लाख, ऋण लगानी १ अर्बं ८३ करोड ८४ लाख, जगेडा कोष २२ करोड १६ लाख तथा कुल सम्पत्ति २ अर्ब ९६ करोड ८२ लाखको सङ्कलन गरी संस्थाको २०८१ असार मसान्तसम्मको कुल लक्ष्यको ६१ प्रतिशत हासिल गरेको संस्थाका व्यवस्थापक शिला गोसाईले जानकारी दिनुभयो ।
कार्यक्रममा बचत उपसमितिका सचिव चिरीमैया लाखाजु, ऋण अधिकृत राजेश लाखाजु र कर्मचारी सरू सितिखुले पनि बोल्नुभएको थियो ।
Leave a Reply