नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
जनवरी १३, आइतबारको चिसो बिहान कफी खाँदै म चिनियाँ मित्र वनहानको फोन आउने प्रतीक्षामा थिएँ । शनिबार भएको कुराकानीअनुसार त्यो दिन हामी बिहानै सानसिङत्वय सङ्ग्रहालय जाँदै थियौँ । त्यसो त त्यहाँ जाने योजना अलि अगाडि नै बनेको थियो । तर, कहिले मेरो परीक्षा, कहिले सँगै जाने भनेका साथीहरूको बेफुर्सदी आदिले साइत जुरिरहेको थिएन । त्यसकारण नोभेम्बरमा बनेको योेजना डिसेम्बर सकेर जनवरीको दोस्रो साता बल्ल पूरा हुँदै थियो ।
विश्वविद्यालयको दक्षिण ढोकाबाट हाम्रो यात्रा थाल्दा बिहानको ११ बजिसकेको थियो । वनहानले सानसिङत्वय जान आफ्ना दुई जना स्कूल पढ्दाका साथीहरूलाई आमन्त्रण गरेका रहेछन् । हामीसँगै सानसिङत्वय सङ्ग्रहालयमा डा. लुई र छन पनि जाँदै थिए । लुई परम्परागत चिनियाँ चिकित्साशास्त्रका चिकित्सक हुन् भने छन सफ्टवेयर इन्जिनियर । हामी डाक्टर साबको कारमा बसेर यात्रामा निस्कियौँ ।
बाटैबाटोको माकुरे जालोजस्तो चिनियाँ सडक सञ्जालमा रैथाने चिनियाँहरूलाई पनि बाटो खुट्याउन सजिलो छैन । धन्न विद्युतीय नक्सा छ र जिन्दगी चलेको छ । वर्षौँ वर्ष सवारी चलाइरहेका चालकहरूसमेत मोबाइल वा गाडीमै जडान गरिएको स्क्रिनको नक्सा नहेरी निर्धक्क सवारी चलाउन सक्दैनन् । अहोरात्र चलिरहेको पूर्वाधार निर्माणको चिनियाँ गतिले महिना दिनमै कुनै पनि ठाउँलाई दोस्रो पटक जाँदा अर्कै बनाइदिएकोे हुन्छ । त्यही भएर दसौँ वर्ष छन्तुमै बसेर पढिरहेका विदेशी विद्यार्थीहरू बरोबर भन्छन्, यो ठाउँ हामी आउँदा कस्तो थियो, अहिले यस्तो भइसकेको छ ।

सानसिङत्वय सङ्ग्रहालय
विदेशीहरूको कुरा छोडौँ, हरेक शुक्रबार हुने इङ्गलिस कर्नरमा आउने छन्तुकै रैथानेहरूसमेत सात आठ वर्षमा आफ्नो सहरले काँचुली फेरेको देखेर अवाक छन् । उनीहरू दस वर्षअगाडिको आफ्नो दैनिक जीवनका ‘पछौटे’ किस्सा सुनाउँदै अहिले रमाइलो गरिरहेका हुन्छन् ।
यस्तै माकुरे जालोजस्तो सडक सञ्जाल छिचोलेर हामी रफ्तारमा सानसिङत्वयतिर हुइँकियौँ ।
गाडीमा चिनियाँ मित्रहरू नेपाल र चीनको सम्बन्धबारे अनेक प्रश्न र धारणा राख्दै थिए । उनीहरू केरुङदेखि काठमाडौँ जोड्ने रेल चाँडै बन्नेबारे आशा पोख्दै थिए । भौगोलिकरूपमा नेपालसँग नजिक र तिब्बतीहरूको बाक्लो सामाजिक उपस्थितिले पनि हुनुपर्छ, छन्तुका अधिकांश मानिसलाई नेपालबारे थाहा छ । उनीहरू नेपाललाई हिमालपारिको चीनको छिमेकी देश भन्न रुचाउँछन् ।

सानसिङत्वयमा भेटिएको पुरातत्व
जाडो छल्न एउटा न्यानो जुत्ता किन्न गएको पसलमा एक जना तिब्बती भेटिए । म नेपालबाट आएको भनेपछि हुरुक्कै भएर उनी कुरा गर्न आए । उनले बोलेको चिनियाँ मैले झण्डै केही पनि बुझिनँ । तथापि, उनको नेपालीप्रतिको सद्भाव भने उनको खुसीले धपक्क बलेको अनुहारमा देखिन्थ्यो । उनले लगातार पन्ध्र मिनेट जति बोले होलान् । म भने त्वय त्वय (हो हो) मात्र भन्दै उभिरहेँ । पछि तिनले जुत्ता पसलेसँग कराएर मलाई निकै सस्तोमा जुत्ता मिलाइदिए । यस्तो पनि हुँदो रै’छ भन्दै आफैसँग हाँस्दै कोठा फर्केँ ।
सानसिङत्वयतिर रफ्तारमा कार हुइँकिँदै गर्दा वरपरको दृश्यले मलाई भने पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेको भान पार्यो । त्यहाँ छन्तु सहरका जस्ता अग्ला अग्ला भवन थिएन । बरु सडक छेउ एक दुईतले घरहरू देखिन्थे । सडक किनारमा केही मानिस अस्थायी पसल थापेर राजमार्गका यात्रीहरूलाई खाजा चमेना गराउन कुरिरहेका थिए ।

बिचबिचमा सडकबाट अलि टाढा केही अग्ला भवनहरू देखिन्थे । वरपर कुनै बजार र बस्ती नभएको ठाउँमा किन र कसले बनाए होलान् यस्ता अग्ला अग्ला भव्य घरहरू ? ती घरमा मानिस पनि बसेजस्तो देखिँदैन । मेरो जिज्ञासा भुइँमा खस्न नपाउँदै अङ्ग्रेजी भाषा बोल्न खुब मन पराउने छनले भने, यो सबै चीनमा फस्टाएको रियल स्टेट (घरजग्गा) कारोबारको कमाल हो । अलि पैसा हुने मानिसहरूले निर्जन ठाउँमा सस्तोमा जग्गा किन्छन्, घर बनाउँछन् र यहाँ सहर विकास भएपछि महँगोमा बेच्न समय कुरिरहन्छन् । यो उनीहरूको अतिरिक्त लगानी हो ।
भौगोलिकरूपमा छन्तु काठमाडाँैजस्तै उपत्यका हो । छन्तु क्षेत्रफलको हिसाबमा निकै ठुलो छ तर वरपरका पहाड भने काठमाडौँका जस्ता अग्ला छैनन् । सानसिङत्वय आँखाले भ्याइञ्जेल विशाल कृषि फाँट देखियो । हाम्रो तराईकै कुनै भागजस्तै ।

सानसिङत्वय सङ्ग्रहालय पुग्दा मध्य दिन भइसकेको थियो । पार्किङ थलो भर्खर बन्दै रहेछ । त्यो विशाल फाँटमा झण्डै २५ हजार सवारी साधन अट्ने कुरा गाडीभित्र पस्नेबित्तिकै गन्ती हुने विद्युतीय प्रणालीले देखाइरहेको थियो ।
सानसिङत्वय सङ्ग्रहालय परिसर वरपर मानिसहरूको हुल देख्दा आश्चर्य लाग्यो । सामान्यतः पार्क, सिनेमा हल, जात्रा, मेला आदि मनोरञ्जनात्मक थलोमा बढी मानिसको भीड देखिरहेको बानीले पनि होला, सङ्ग्रहालयजस्तो इतिहास पढाउने थलोमा मानिसको भीड देख्दा म चकित परेँ । अघिल्लो साता छन्तु सहरको सङ्ग्रहालय घुम्न जाँदा पनि मानिसको लामो पङ्क्ति देखेर जिल्ल परेको थिएँ ।
सानसिङत्वय सङ्ग्रहालय परिसरमा पस्ने चिनियाँहरू सबभन्दा पहिला त सङ्ग्रहालय भवनको भव्यता देखेर चकित परिरहेका थिए । विशिष्ट वास्तुको यो भवनको बाह्य रूप देख्दा नै पनि विशाल अनुभव भयो ।

सानसिङत्वय सङ्ग्रहालयको महत्ताबारे मैले धेरैको बखान सुनिसकेको थिएँ । अघिल्लो पटक मेरो कक्षाले आयोजना गरेको भ्रमणमा जान सकेको थिइनँ । एक जना मित्रले भनेका थिए, सानसिङत्वयमा भेटिएका कतिपय पुरातात्विक वस्तुले चीनले आजसम्म पढ्दै आएको प्राचीन इतिहासलाई समेत चुनौती दिएको छ ।
सङ्ग्रहालयको प्रवेशद्वारमा सङ्ग्रहालयबारे व्याख्या गर्न तालिम प्राप्त चिनियाँ युवायुवतीहरू आफ्नो सेवाबारे हामीलाई जानकारी दिइरहेका थिए । तर, ज्यादै महँगो सेवा शुल्क पर्ने भएपछि चिनियाँ मित्रहरूले हामी आफैँ छलफल गरौँ भने ।
सन् १९२७ मा सिचुवान प्रान्तको कुआङहान जिल्लाको युए लियाङ वान भन्ने ठाउँमा किसानहरूले सिँचाइको लागि खाल्डो खन्ने क्रममा केही बहुमूल्य पत्थर भेटाए । सानसिङत्वयको कथा त्यहीँबाट सुरु हुन्छ । तिनै बहुमुल्य पत्थरको आधारमा उतिबेलाको वेस्ट चाइना युनियन विश्वविद्यालयको सङ्ग्रहालयले त्यहाँ उत्खनन थाल्यो । त्यो समयमा चीन राजनीतिकरूपमा अस्थिर र सरकार बलियो नभएको हुनाले त्यहाँ थप गहन अध्ययन भएन । चीनसँग उतिबेला पुरातात्विक अध्ययन र संरक्षणबारे जानकारी, अनुभव र ज्ञान नै पनि कम हुनुपर्छ । केही विदेशी अध्येतासमेतको संलग्नतामा केही अनुसन्धान भए र केही अनुसन्धान पत्रहरू प्रकाशित भए । सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भयो । राजनीतिक स्थिरता र बलियो सरकार स्थापना भएसँगै सन् १९५० र १९६० मा सानसिङद्वे क्षेत्रमा पुरातात्विक अध्ययनले निरन्तरता पायो । विभिन्न प्राज्ञिक तथा सरकारी निकायले विभिन्न चरणमा अनुसन्धानलाई निरन्तरता दिइरहे ।

सन् १९८० को दशकमा भने सानसिङद्वेले वास्तवमै नयाँ फड्को मार्यो । सन् १९८६ मा त्यहाँ दुई वटा उत्सर्ग गर्ने खाल्डो (स्याक्रिफिसिएल पिट) भेटिए । ती खाडलमा जे भेटिए, तिनले चीनमात्र होइन, संसारभर नै ठुलो प्रवाह सञ्चार गरे । आजभन्दा झन्डै तीन हजार वर्षअघिका ती खाडलमा हजारौैँको सङ्ख्यामा धातु, पत्थर र माटोका विशिष्ट कलाकृति भेटिए । सबभन्दा महत्वपूर्ण कुरा त त्यहाँ धातु (सुन र कास्य) का मानवाकृतिका मकुन्डो हजारौँको सङ्ख्यामा भेटिए; धेरै भाव र अर्थ बोकेका प्रतीकात्मक कलाकृति भेटिए ।
ती पुरातात्विक वस्तुहरूले उत्तर नवपाषण युगदेखि चिनियाँ इतिहासको स्या कालखण्डसम्म बनेको ठुलो मानव बस्तीको अस्तित्वबारे प्रमाण जुटायो । शाङ वंशमा सानसिङद्वेमा पर्खालले घेरिएको ठुला भवन भएको सहर थियो र त्यो मानव बस्ती धातुकला, पत्थर कला र रेशम बुन्नेजस्ता काममा निपुण थियो भन्ने कुरा त्यहाँको पुरातात्विक उत्खननले उजागर गर्यो । शु वंशको प्राचीन राजधानीको भव्यताबारे ती कलाकृतिले धेरै कुरा बोल्यो जसले चीनको पाँच हजार वर्ष लामो इतिहासलाई अझ समृद्ध बनायो ।
सन् १९८६ देखि २०१९ सम्म सानसिङद्वे क्षेत्रमा भएको उत्खननको क्रममा थप ६ वटा उत्सर्ग खाडलमा झन्डै बीस हजार पुरातात्विक महत्वका वस्तु भेटिए । चीनको प्राचीन इतिहासमा स्या कालखण्डबारे रहेका केही महत्वपूर्ण अन्योल र अस्पष्टतालाई सानसिङद्वेको उत्खनन र अनुसन्धानले प्रस्ट पार्यो ।
सङ्ग्रहालयमा विभिन्न विषय र प्रसङ्गअनुसार बनाइएका चालिसभन्दा बढी कक्षमा रहेका पुरातात्विक महत्वका वस्तु नियाल्दै जाँदा कतिपय कृति आजभन्दा तीन हजार वर्षअघि बनेको भन्ने कुरा पत्याउन पनि गा¥हो हुने खालका थिए । ती मकुन्डो यति जीवन्त र सजीव थिए, मानौँ अहिले नै केही बोलिहाल्छ कि र केही भनिहाल्छ कि जस्तो भान पार्ने खालका थिए । सुन र कास्यका धातुका ती कृति साधारण विधिमा मात्र बनाइएका थिएनन्, बरु सबैजसो कृतिमा अंश जडानसमेत गरिएको थियो । यसले उतिबेलाको प्राविधिक ज्ञानको झल्कोसमेत दिन्थ्यो ।
सङ्ग्रहालय पसेको दुई घण्टामा हामी थकानले चुर भइसकेका थियौँ । तर, अझै पनि उत्तिकै नवीन र जीवन्त पुरातात्विक रहस्यले हामीलाई हिँड्न कर गरिरहेको थियो । थाकेका चार शरीरलाई मित्र वनहानले झोलामा ल्याएका केही तयारी खाजाले त्राण दिलायो । सङ्ग्रहालयमा राखिएका मानव मुहारका आकृति एकै थरी मात्र थिएनन् । उनीहरूका आँखाका आकार, कपालको शैली, निधार आदि विविध थिए । सम्भवतः धेरै अध्येताले त्यही विविधताको मात्र पनि अध्ययन गरेको हुनुपर्छ । एउटा कक्षामा ती कृतिका कपालका शैलीको विविधताबारे मात्र पनि गहिरो चर्चा गरिएको देखियो ।
सङ्ग्रहालयको एउटा कक्षमा सानसिङत्वयमा भेटिएका प्राचीन पुरातत्वको तुलना झन्डै त्यही काल खण्डको प्राचीन राजधानी आरलीथउ (हाल हनान प्रान्तमा अवस्थित) का कृतिसँग तुलनात्मक अध्ययन गरिएको थियो । कहीँ चिनियाँ सभ्यतालाई संसारभरका विभिन्न सभ्यतासँग तुलना गरिएको भेटियो ।
सङ्ग्रहालयमा भेटिएका वस्तुको विशिष्ट र मिहीनरूपमा संरक्षण गर्न अनेकन प्रविधिको विशिष्ट प्रयोग गरिएको थियो । उत्खननमा भेटिएका वस्तुबारे अवलोकनकर्ताहरूलाई बुझाउन उस्तै प्रभावकारी तरिका र प्रविधिको प्रयोग गरिएको देखियो । विद्युतीय विधिमार्फत कोही पनि अवलोकनकर्तालाई अनुसन्धानमा फेला परेको हरेक कुराको सुस्पष्ट व्याख्या गर्दा सङ्ग्रहालयको भ्रमण वास्तवमा प्राचीन इतिहासको कक्षा नै बन्यो ।
सङ्ग्रहालय र इतिहास उत्खनन र संरक्षणमा इतिहासकार र पुरातत्वविद्हरूको भूमिका वा योगदानमा मात्र सीमित हुँदैन, बरु रसायनशास्त्री, समाजशास्त्री, नृवंशशास्त्री, सौन्दर्यशास्त्री, वास्तुकार, संरक्षणविद्, साहित्यकारदेखि मानव ज्ञानका सबै क्षेत्रका विशिष्ट ज्ञाताहरूले योगदान गरेको हुन्छ । भेटिएका कृतिको आधारमा साहित्यकारले कुनै कथा परिकल्पना गर्छन्, त्यही कथालाई एनिमेसन शिल्पिहरूले विद्युतीय एनिमेसन कथा (चित्रात्मक श्रव्यदृश्य) बनाउँछन् । त्यही एनिमेसनले इतिहासको गहिरो पोथ्रालाई मानिसको दिमाग र मनमा गहिरो गरी बिजारोपण गर्छ । रसायनशास्त्रीको ज्ञानले संरक्षणका धेरै पाटो सम्हालेको हुन्छ । एवंरीतले मानव इतिहासको त्यो सम्पत्तिको संरक्षण भएको देख्दा खुसी नहुने को होला ?
पार्क र सिनेमा घरमा प्रेमालाप गर्ने उमेरका युवायुवतीदेखि, भर्खर संसार बुझ्न थालेका केटाकेटी, घाम तापेर बस्ने उमेरका ज्येष्ठ नागरिकहरूसमेत घण्टौँ घण्टा लाग्ने सङ्ग्रहालयको उत्सुकतापूर्वक अवलोकन भ्रमण गरिरहेका थिए । चिनियाँहरूलाई आफ्नो इतिहासप्रति अझ गौरवान्वित बनाउन ती पुरातत्वले पक्कै भूमिका खेल्नेछ ।
चीनका राष्ट्रपति सी चिनफिङले विश्व सभ्यता पहलकदमी (ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ जीसीआई) को घोषणाको क्रममा गरेको सानसिङत्वयको चर्चाले पनि चिनियाँहरू त्यो इतिहास पढ्न आतुर देखिए जस्ता छन् ।

सङ्ग्रहालयको नजिकै बनाइएको एउटा भवनमा सानसिङत्वयमा पुरातात्विक अनुसन्धान गर्दाका विभिन्न वस्तु, उपकरण र श्रव्यदृश्य प्रदर्शनीमा राखिएको थियो । अनुसन्धानकर्ताहरू उत्खनन र अनुसन्धानको लागि बनाइएका गर्मी, चिसो, ओस आदिले प्रभावित नगर्ने कोठाभित्र पीपीई (कोभिडकालमा चिकित्सक र अन्य स्वास्थ्य तथा आपत्कालीन सेवाका व्यक्तिहरूले लगाउने सुरक्षा पोशाक) लगाएर काम गरेका दृश्य, एउटा मसिनो पुरातात्विक वस्तुको संरक्षणको लागि उनीहरूले गरेको मिहिन मेहनत देख्ने जो कोहीले भन्छन्, कम दुःखले आर्जेको मानव जातिको साझा सम्पत्ति होइन यो ।
झण्डै चार घण्टा सङ्ग्रहालयमा व्यतीत गरेर बाहिर निस्कँदा हाम्रो दिमागमा अझै धेरै प्रश्न र धेरै उत्तर खेलिरहेका थिए । अझै आँखै अघि मानव मुहारका ती धातुका आकृति नाचिरहेका थिए ।
सानसिङत्वय पुरातात्विक क्षेत्रको कुल क्षेत्रफलको भर्खर केही अंशको मात्र उत्खनन कार्य भएको छ । अझै ठुलो भूभाग त अनुसन्धान र उत्खनन गर्न बाँकी नै छ । सानसिङत्वयको जमिनमुनि अझ कति इतिहास सुतेर बसेको होला ।
फर्किँदा म सोच्दै थिएँ, हाम्रो देशमा पनि किसानहरूले खेत, कुलो खन्दा कति पुरातात्विक वस्तु फेला पार्छन् । तर, अधिकांश किसान यस्तो विषयमा सचेत नहुँदा त्यस्ता कुरा त्यसै हराएर जान्छन् । कदाचित सरकारलाई खबर गरिहाले पनि किसानले आफ्नो भएको थोरै सम्पत्तिसमेत गुमाउने भयले गुपचुप गर्छन् । सरकारले थाहा पाइहाले पनि संरक्षण र अनुसन्धानको लागि पुग्दो पहल नहुने भएकोले बरु जमिनमुनि इतिहासका ती पोथ्रालाई सुताएरै राख्दा बढी सुरक्षित हुने तर्क पनि कम बुद्धिमानी होइन ।
छन्तु कतिबेला पुगौँ र केही तातो खाएर थकाई मारुँ भन्ने सबैलाई हतार थियो । छन्तु पुग्दा चारैतिरको बत्तीले झिलिमिली भइसकेको थियो ।
Leave a Reply