नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
सरकारी अगुवाइको विकास मोडलमार्फत चीनले विश्व इतिहासमै अद्भूत आर्थिक प्रगति गरेको छ । चीनमा सरकारी निकायहरूले नै स्वाभाविक एकाधिकार तथा अर्थतन्त्रका ‘हुकुमी चुली’ मा लगाम लगाउँछन् । रणनीतिक उद्योगलाई सरकारी बैङ्कले नै उपयुक्त ऋण दिन्छन् । राज्यको सबल औद्योगिक नीतिले देशको मूल्य चक्रलाई उच्च मूल्ययुक्त उत्पादनतिर अग्रसर गराउन मद्दत गर्छ । (मूल्य चक्र भन्नाले वस्तुमा प्रयोग भएको कच्चा पदार्थ, उत्पादन, उपभोग र बिसर्जन वा पुनः प्रयोग सबै समेटिन्छ । उच्च मूल्ययुक्त उत्पादन भन्नाले वस्तुको गुणस्तरमा वृद्धि गरेर त्यसलाई थप मूल्यवान बनाउनु भन्ने बुझिन्छ । अनु.)
पेइचिङले आफ्नो आर्थिक मोडललाई आधिकारिकरूपमै समाजवादी बजार अर्थतन्त्र भनेको छ । यो मोडल कति सफल छ भने युरोपको एक प्रतिष्ठित थिङ्क ट्याङ्क समूहले दाबीका साथ भन्यो, “अब चीन विश्वको एकमात्र उत्पादक महाशक्ति हो ।”
सन् २०२० मा चीनले विश्वकै कुल (तयारी मालसामान) उत्पादनको ३५ प्रतिशत उत्पादन ग¥यो । संरा अमेरिका (१२ प्रतिशत), जापान (६ प्रतिशत), जर्मनी (४ प्रतिशत), भारत (३ प्रतिशत), दक्षिण कोरिया (३ प्रतिशत), इटाली (२ प्रतिशत), फ्रान्स (२ प्रतिशत) र बेलायतको मिलाउँदा पनि चीनको जत्ति उत्पादन भएन ।
यो तथ्य स्वीजरल्यान्डको लाउजेनस्थित आइएमडी वाणिज्य स्कूलमा अन्तर्राष्ट्रिय अर्थशास्त्रका प्राध्यापक रिचर्ड बाल्डविनको अनुसन्धानले देखाएको हो । बाल्डविन ‘भोक्सइयू’ का प्रधान सम्पादक पनि हुन् । यो पत्रिका युरोपको अर्थनीति अनुसन्धान केन्द्र (सीईपीआर) ले प्रकाशित गर्छ ।
सीईपीआर युरोपेली नीतिनिर्माण वृत्तमा निकै प्रभावशाली संस्था हो । उसले फ्रान्सको केन्द्रीय बैङ्क र वित्तीय मन्त्रालयबाट आर्थिक सहयोग पाउँछ । यसले युरोपेली केन्द्रीय बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष तथा युरोपका विभिन्न निजी बैङ्कबाट पनि आर्थिक सहयोग पाउँछ ।
यस थिङ्क ट्याङ्क समूहले युरोपको राजनीतिक मूलधारलाई प्रतिनिधित्व गर्छ । त्यसकारण, यसलाई कुनै पनि कोणबाट ‘चीनपक्षधर’ संस्था भन्न मिल्दैन ।
यो जनवरीमा भोक्सइयूमा प्रकाशित एक अध्ययनपत्रको शीर्षक थियो – चीन (तयारी मालसामानमा) विश्वको एकमात्र उत्पादक महाशक्ति हो । त्यसमा बाल्डविनले लेखे, “संरा अमेरिका विश्वको एकमात्र सैन्य महाशक्ति हो । उसले सैन्य खर्चको हिसाबले शीर्ष १० देशमा पर्ने अन्य देशहरूभन्दा पनि बढी खर्च गर्छ । चीन अहिले विश्वको एकमात्र उत्पादक महाशक्ति हो । शीर्ष १० उत्पादक देशको उत्पादनलाई जोड्दा पनि उसको उत्पादनले उछिनेको छ ।”
बाल्डविन व्याख्या गर्छन् – उच्च मूल्ययुक्त मालसामानको हिसाबले जोड्दा पनि चीनले विश्व बजारको २९ प्रतिशत ओगट्छ । जब कि यसरी हेर्दा अमेरिकी उत्पादन १६ प्रतिशत, जापानी ७ प्रतिशत, जर्मन ५ प्रतिशत, दक्षिण कोरियाली ३ प्रतिशत, भारतीय ३ प्रतिशत, इटालीको २ प्रतिशत, फ्रान्सेली २ प्रतिशत र बेलायतको २ प्रतिशत मात्र हुन्छ ।
बाल्डविनले लेखे, “चीनको औद्योगीकरण अभूतपूर्व छ । यसअघि ‘उत्पादन चुचुरोको राजा” त्यतिबेला खसालिएको थियो जब अमेरिकाले पहिलो विश्वयुद्धभन्दा ठीक अघि बेलायतको मुकुट खोसेको थियो । त्यो चुचुरोमा पुगेर अडिन अमेरिकालाई लगभग सय वर्ष लाग्यो । तर, झन्डै १५–२० वर्षमै चीनले अमेरिकाको स्थान लियो । त्यसैले चीनको औद्योगीकरण अतुल्य छ ।”
बाल्डविन थप्छन्, “यस तथ्यबाट हामी अमेरिका–चीनबिच चालु व्यापारिक तनावलाई राम्ररी बुझ्न सक्छौँ ।”
सरकारी अगुवाइको विकास मोडलमार्फत चीनमा तीव्रगतिमा औद्योगीकरण हुँदै गर्दा संरा अमेरिका तुलनात्मकरूपमा औद्योगीकरणबाट बाहिरिँदै थियो । यो बहिर्गमन निजीकरण, उदारीकरण, विनियमन, वित्तीयकरण र अनुत्पादक सट्टाबाजीमा आधारित नवउदारवादी आर्थिक मोडलमार्फत हुँदै थियो । चीनको उदयलाई रोक्ने नियतसाथ अमेरिकी सरकारले धेरै खेप एकतर्फी आर्थिक प्रतिबन्ध लगाइसकेको छ । यसै सिलसिलामा वासिङ्टनले चीनविरुद्ध ‘प्राविधिक युद्ध’ ग¥यो । यस युद्धको क्रममा उसले ५ जी, सेमिकन्डक्टर, क्वान्टम कम्प्युटिङ र कृत्रिम बौद्धिकताजस्ता सङ्गीन क्षेत्रसँग सम्बन्धित वस्तुको निर्यातमा प्रतिबन्ध लगायो ।
पश्चिमी देशका सरकारहरूले चिनियाँ अर्थतन्त्रसँग ‘विच्छेद’ गर्ने र सामरिक महत्वका उद्योगलाई ‘जोखिममुक्त’ गर्ने प्रतिज्ञा गरेका छन् ।
यद्यपि, आफ्नो अध्ययनपत्रमा बाल्डविनले तयारी मालसामानका हिसाबले संरा अमेरिका चिनियाँ उत्पादनमा अचाक्ली निर्भर भएको तथ्यमा जोड दिए । यो निर्भरताको दाँजोमा सामान निर्यातका हिसाबले चीन अमेरिकी बजारमा कम निर्भर छ ।
“सन् २०२० मा संरा अमेरिका चिनियाँ मालसामानमाथि (चीन अमेरिकामाथि भन्दा) तीन गुना बढी निर्भर थियो ।” यसलाई बाल्डविनले ‘चक्माकारी अनुपात’ भने ।
सबैलाई सतर्क पार्दै बाल्डविनले भने, “राजनीतिज्ञहरू चीनबाट आफ्नो अर्थतन्त्रलाई विच्छेद गर्ने चाहना राख्न सक्छन् । यी तथ्यतथ्याङ्कले भने त्यो विच्छेदीकरण असाध्यै जटिल, सुस्त, महँगो र हानिकारक हुने देखाउँछ । खासगरी जी७ उत्पादकहरू मारमा पर्नेछन् ।”
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply