भर्खरै :

क्यान्टनतिर – १

क्यान्टनतिर – १

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

क्यान्टनतिर
चीनको रेलको व्यवस्थामा हामीले अलिकति पनि खोट लगाउने कुरो देखेनौँ । ४– ४ सीट अथवा शøया भएको र कम्पार्टमेन्ट हाम्रो लागि व्यवस्था गरिएको थियो । पहिलोमा म, एकजना भारतीय साथी र द्वेभाषी मि ली थियौँ । अर्को कोठा या कम्पार्टमेन्टमा रत्ना, धीरा र कणिका थिए ।
रेल चल्ने सङ्केत दियो । हाङचाउका चिद्यार्थी फेडरेसनका साथीहरूसँग बिदा लियौँ । आँखाले भ्याएसम्म हात हल्लाउँदै बिदा दिए । हामी त्यसको उत्तर दिँदै थियौँ । रेल छकछक गर्दै अगाडि बढ्यो ।
हाङचाउलाई बिर्सन खोजेँ, तर अहँ, बिर्सन सकिन । त्यसलाई बिर्सन किताब पल्टाएँ । तर त्यसमा पनि हाङचाउको पश्चिमी झील, हरियो र मसिनो घाँस, चारैतिरको हरियाली मात्रै देखिरहेँ । किताबलाई एकातिर राखेर झ्यालमा गएर बसेँ र बाहिरको दृश्यहरू हेर्न थालेँ । बाहिर कहिले समतल जमिनमा लहरैका हरियाली देखिन्थ्यो त कहिले सानाठुला नदीहरू र त्यसमा उत्रिरहेका डुङ्गाहरू । कहिले गाउँहरू देखिन्थे त कहिले पार्कजस्ता फूलबारीहरू । ठाउँ ठाउँमा अध्यक्ष माओ–जिन्दावाद’, ‘चिनियाँ कम्युनिस्ट पार्टी–जिन्दावाद,’ ‘समाजवाद–राम्रो छ, जनकम्युन–राम्रो छ’ जस्ता नाराहरू लेखिएका या फूलका बिरुवा मिलाएर रोपिएका देखिन्थे ।
रातको खाना रेलकै भोजनालयमा खायौँ । खुब राम्रो व्यवस्था थियो । रेलमा सुत्ने बानी नभएकोले राति त्यति राम्रो निन्द्रा लागेन । गर्मी चर्कै थियो, तर सुत्ने ओछ्यान नजिकै बिजुली पङ्खा भएकोले गर्मीको त्यति चर्को अनुभव हुन पाएको थिएन ।
भोलि बिहान उठ्नासाथै मुखसुख धोयाँै । मुख धुने आदि कुराको राम्रो व्यवस्था छ । मुख धोइसकेपछि हामीले चिया रेलमै खायौँ । रेलमा खानेपिउने व्यवस्था चीनमा जस्तो मिलाउन भारतलाई त सायद अझ धेरै वर्ष लाग्नेछ । भारतमा हुने रेलको अवगुण चीनमा छैन र चीनमा भएको रेलको राम्रो व्यवस्था या गुण भारतको रेलमा छैन ।
२२ जुलाईको करिब १० बजेतिर हामी क्यान्टनको रेलवे स्टेसनमा पुग्यौँ । रेलवे स्टेसनमा क्यान्टनका विद्यार्थी फेडरेसनका साथीहरू हाम्रो स्वागतको लागि पर्खिरहेका थिए । रेलवे स्टेसनमै एक क्षण आराम गरेपछि हामी होटलको लागि मोटरमा चढ्यौँ ।
मोटर बेजोडले कुड्न थाल्यो । बाहिर पानी परिरहेको थियो । क्यान्टनको हावापानी, मानिसहरूको पहिरन र सहरको ढाँचा अथवा घर निर्माणकला उत्तरको भन्दा फरक पाएँ । फेरि मानिसहरूको मुख पनि अलि भिन्नै ढङ्गको थियो । धेरैजसो मानिसहरू लामा लामा कालो रङको लुगा लगाउँथे, जबकि पेचिङमा मानिसहरू निलो लुगा लगाउँछन् । पेचिङका पुराना घरहरू पूरै आधुनिक ढङको एकै प्रकारको पाइन्छ । तर, क्यान्टनमा धेरै प्रकारका घरहरू र पच्छिमी शैलीको भनूँ या के भनूँ अलि नरमाइलो लाग्ने घरहरू छन् ।
आरामपछि फेडरेसनका अध्यक्षले क्यान्टनको परिचय दिनुभयो र कार्यक्रम पनि बनायौँ । हामी क्यान्टनको एक ठुलो होटलमा पस्यौँ । होटलको पछाडिपट्टि एउटा नदी बगिरहेको थियो, जसले गर्दा होटल खूब आकर्षक देखिन्थ्यो ।

क्यान्टनमा
क्यान्टन मित्रताको पुल हो । यसको ३००० वर्षको इतिहास छ । यो दक्षिणी चीनको राजनैतिक केन्द्र हो । चिनियाँ इतिहासमा क्यान्टन एक उल्लेखनीय ठाउँ रहेको छ ।
क्यान्टन चीनको एक क्रान्तिकारी अड्डा थियो । १८४०–४२ को अफिम युद्धमा बेलायती साम्राज्यवादको विरोधमा क्यान्टनका जनताले वीरतापूर्वक लडेका थिए । डा. सन यात सेन (१८६६–१९२५) ले यही बसेर १९११ को क्रान्तिको तयारी गर्नुभएको थियो । १९२४ देखि अध्यक्ष माओ त्सेतुङले पनि यही आफ्नो चिनियाँ किसान आन्दोलन कलेजको स्थापना गर्नुभएको थियो र यहीबाट चिनियाँ जनसङ्घर्षको महान् कार्यलाई अगाडि बढाउनुभएको थियो । १९२७ मा यही चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनमा सबभन्दा पहिलो पल्ट चिनियाँ सोभियतको स्थापना भएको थियो ।
क्यान्टन यही ठाउँ हो जहाँ सबभन्दा पहिले साम्राज्यवादीहरूले चीनको विरुद्ध हमला गरेका थिए । यही ठाउँ हो जहाँ साम्राज्यवादीहरूको अपराधपूर्ण हमलाको विरोधमा जनताले रणभूमिमा आफूलाई होमे । स्वतन्त्रता र देश रक्षाको निमित्त यहाँका जनताले वीरतापूर्वक शत्रुहरूको मुकाबला गरे । सङ्क्षेपमा क्यान्टनको इतिहास नै जनसङ्घर्षको इतिहास हो ।
क्यान्टन चीनको औद्योगिक क्षेत्रहरूमध्ये एक हो । तर क्रान्तिभन्दा अघि यहाँ भारी (ठुला–ठुला) उद्योगहरूको विकास भएको थिएन । साम्राज्यवाद र प्रतिक्रियावादी च्याङ काईशेक सरकारको बदनियतले गर्दा यहाँ ९० प्रतिशत कारखानाहरू स–साना छन् । ती कारखानाहरूमा जम्मा १०० जवानमात्रै कामदारहरूले काम गर्न सक्थे । क्यान्टनमा पहिले फलामको नाम मात्रै पनि थिएन । तर, क्रान्तिपछि क्यान्टन चीनको उद्योगको मुख्य केन्द्रहरूमध्ये एक केन्द्र भएको छ । यहाँ अहिले भारी (ठुलाठुला), मध्यम (ठीकको) र सानो आकारका उद्योगहरूको ताँती लागेको छ । अहिले क्यान्टिनमा ६०० भन्दा बढी कारखानाहरू छन् जसमा फलाम, इस्पात, कागत, जहाज निर्माण, कपडा र जुटका कारखानाहरू सामेल छन् । हलुका या साना उद्योगहरूमा मेसिनका कलपुर्जा बनाउने कारखानाहरू पनि समावेश छन् ।
क्रान्तिपछि सांस्कृतिक क्षेत्रमा क्यान्टनले धेरै ठुलो प्रगति गरेको छ । अहिले कयान्टनमा कलेज र विश्वविद्यालयजस्ता उच्च शिक्षा हासिल गर्ने शिक्षण संस्थाहरूको सङ्ख्या २२ छ । ती शिक्षण संस्थाहरूमा २८,००० विद्यार्थीहरू अध्ययन गर्छन् । क्रान्तिभन्दा पहिले यहाँ ७ वटा मात्रै उच्च शिक्षालयहरू थिए र ८ हजारमात्रै विद्यार्थीहरू पढ्न सक्थे । अहिले २२ वटा उच्च शिक्षालयहरूमा मेडिकल कलेज, कृषि कलेज, शिक्षण कलेज, औद्योगिक कलेज र मिहीन कला कलेजहरू पनि समावेश छन् ।
क्यान्टनले कृषिमा पनि राम्रो उन्नति गरेको छ । क्वाइटुङ प्रान्तमा जनकम्युनहरू स्थापना भइसकेका छन् । यहाँको जनसङ्ख्या ३० लाख १० हजार छ र नगर एरियाभित्र मात्रै १६ लाख जनसङ्ख्या छ । सहरमा पनि कम्युनको स्थापना भइसकेको छ ।
क्यान्टनको स्थानीय शिल्पकला ज्यादै प्रसिद्ध छ ।
क्यान्टन चीनको व्यापार बन्दरगाह हो । यहाँ हरेक सालजस्तै व्यापारिक प्रदर्शनीमा चीनमा उत्पादन भएका र निर्यात हुने सबै प्रकारका मालसामानहरू प्रदर्शित गरेको हुन्छ । त्यसैले क्यान्टनलाई चीनको व्यापारको केन्द्र र ‘मित्रताको पुल’ भनिन्छ ।
कार्यक्रमअनुसार दिउँसोको खानापछि हामी डा. सन यात सेन मेमोरियल हल, चीन–सोभियत मैत्री भवन, स्टेडियम, ऐस्युपार्क, म्युजियम हेर्न गयौँ ।

डा. सन यात सेनको स्मृति भवन
डा. सन यात सेनको सम्झनामा यो भवन १९२९ मा बनाउन सुरु गर्यो र १९३१ मा निर्माण समाप्त भएको थियो । यस भवनमा ५००० भन्दा बढी सीट भएको एउटा ठुलो सभा भवन छ । यो भवन चिनियाँहरूले नै बनाएका हुन् । त्यस सभा भवनको बिचमा एउटा पनि खम्बा छैन । तर, सभा भवनको माथिपट्टि एउटा ठुलो खम्बा छ । आश्चर्य छ, त्यस खम्बाले तल भुइँ छोइरहेको छैन । तर, माथि त्यस खम्बामा भार परिरहेको देखिन्छ । त्यस खम्बाको तल कागज पठाएर हेर्दा कागज मजासित छिर्छ ।
सभा भवनको स्टेजमा २०० देखि ३०० सम्म कलाकारहरू भएको नाटक देखाउन सकिने अथवा अटाउने ठाउँ छ । यस भवनमै विज्ञान एकेडेमीको अफिस छ । सँगै कलेजमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूको लागि एउटा ठुलो पुस्तकालय पनि छ । नाटक देखाउनको लागि या कुनै सांस्कृतिक कार्यक्रम देखाउनको लागि तयारी कोठा र सिँगार कोठाको पनि राम्रो प्रबन्ध छ ।
यस सन यात सेन मेमोरियल हलमा क्यान्टनमा हुने ठुलठुला सभा, गोष्ठीहरू र भाषणहरू हुने गर्छन् । सभा भवन ठुलो र राम्रो छ । यसको चारैतिर फूलबारी छ । यस भवनलाई दोस्रो विश्वयुद्धको बेलामा जापानी साम्राज्यवादीले हमला गर्दा प्रायः ध्वस्त पारिदिएको थियो ।
चीन–सोभियत मैत्री भवन– क्यान्टनमा हेर्न लायकको एक ठाउँ हो । मैत्री भवनको अगाडि नै एउटा ठुलो सालिक छ । सालिकमा एक चिनियाँ र रुसी युवक आपसमा हात समातेर ठुलो झन्डा लिएर लम्किरहेको देखिन्छ । सालिक अत्यन्त आकर्षक छ । त्यस सालिकले चीन र सोभियत जनता साम्यवादको झन्डा लिएर लम्किरहेको सङ्केत दिन्छ ।
सालिकलाई छोडेर जाँदा सुन्दर मैत्री भवन आउँछ । मैत्री भवन अत्यन्त राम्रो र ठुलो छ । यहाँ प्रदर्शनी, भाषण र गोष्ठी हुन्छ । मैत्री भवनको चारैतिर अनेक प्रकारका राम्रा फूलहरू फुलिरहेका छन् र फोहराहरूले दृश्यलाई झन् आकर्षक बनाइदिएको छ ।
ऐस्यु पार्क– हामी मैत्री भवन हेरिसकेपछि पार्क हेर्न गयौँ । पार्कमा हरेक प्रकारका फूलहरूको प्रदर्शनी या सङ्कलन रहेछ । यस पार्कलाई ‘फूलहरूको संसार’ भने पनि हुन्छ । यहाँ सबै ऋतुमा फुल्ने फूलहरू, पहाड र मैदान, जङ्गल र बगैँचा, उत्तर र दक्षिणमा फुल्ने सबै प्रकारका फूलका बिरुवाहरूको वैज्ञानिक ढङ्गले संरक्षण गरिएको छ । यहाँ करिब एक घण्टा जति घुमिसकेपछि हामी क्यान्टनको स्टेडियम अथवा रङ्गशाला हेर्न गयौँ ।

लेखक द्वेभाषी मिस्टर लिसँग
रङशाला – १९५० मा कलेज र मिडिल स्कूलका विद्यार्थीहरू मिलेर बनाएका थिए । यस रङशालामा ५०,००० मानिसहरू अटाउँछन् या बसेर खेल हेर्न सक्छन् । यहाँ खेलकुद प्रतियोगिताको साथै आमसभा पनि हुन्छ । रङ्गशाला बनाएको ठाउँ क्रान्तिभन्दा पहिले क्रान्तिकारीहरूलाई हत्या गर्ने ठाउँ थियो । यही ठाउँमा च्याङको कोमिङताङ सरकारले हजारौँ क्रान्तिकारीहरूलाई फ्याँकी दिएर या गोली हानेर मारेका थिए ।
रङशालासँगै पौडी खेल्ने पोखरी छ । पोखरी ठुलो छ र आधुनिक ढङ्गले बनाएको छ । पोखरीमा युवकयुवती र विद्यार्थीहरू पौडी खेलिरहेका थिए ।
म्युजियम – १००० वर्ष पुरानो रहेछ, जो दुईपटक जलिसकेको थियो । साथै दुई तीन पटक जीर्णोद्धार गरिसकेको थियो ।
उपर्युक्त ठाउँहरू हेरिसकेपछि मोटर ‘किसान आन्दोलन स्कूल’ तिर दौडिरहेको थियो । करिब १५ मिनेटपछि मोटर ‘किसान आन्दोलन स्कूल’ को अगाडि रोक्यो ।

किसान आन्दोलन स्कूल
यस किसान आन्दोलन स्कूलको स्थापना १९२४ जुलाईमा भएको थियो । यस स्कूलका प्रिन्सिपल अध्यक्ष माओ त्सेतुङ हुनुहुन्थ्यो । यस स्कूलको मुख्य उद्देश्य किसान कार्यकर्तालाई क्रान्तिकारी शिक्षा दिनु थियो । १९२४ देखि १९२६ सम्म त्यस ठाउँमा किसान कार्यकर्ताहरूलाई क्रान्तिकारी शिक्षाको अलावा सैनिक शिक्षा पनि दिइन्थ्यो ।
सबभन्दा पहिले हामी प्रधानाध्यापकको कोठा हेर्न गयौँ । का स्याऊ स्कूलका प्रधानाध्यापकमध्ये एक हुनुहुन्थ्यो । कोठामा दुईवटा खाट र एउटा सुकुल (माल्हा) ओछ्याइएको थियो । प्रधानाध्यापकको कोठा हेरिसकेपछि हामी अध्यक्ष माओको कोठा हेर्न गयौँ । अध्यक्ष माओको कोठा सानो थियो । कोठामा एउटा खाट थियो । खाटमा एउटा चारपाइ ओछ्याइएको थियो । अनि एउटा टेबुल र दुईवटा मेच थियो । टेबुलमा एउटा मसीको भाँडो र होल्डर (कलम) थियो । टेबुलमा केही किताबहरू पनि थिए । किताबहरूमा पहिलो थियो– चिनियाँ किसान समस्या, दोस्रो, चिनियाँ किसान समस्या हल गर्ने तरिका र तेस्रो, सोभियत सङ्घको कृषि नीति । खाटको नजिकै दुईवटा स–साना बाँसको बाकस थियो– टिन आकारको । एउटा बाकसमा अध्यक्ष माओ आफ्नो लुगा हाल्ने गर्नुहुन्थ्यो र अर्कोमा किताब र कागजातहरू । दुवै बाकस अध्यक्ष माओ आफैँ बोक्नुहुन्थ्यो ।
अध्यक्ष माओको कोठा हेरिसकेपछि हामी अध्यक्ष माओ र अरु कम्युनिस्ट नेताहरूको उदीं पोशाकको कोठामा गयौँ । कोठा अलि ठुलो अथवा लामो थियो । कोठामा क्रान्तिको बेलाको सैनिक पोशाक, परालको जुत्ता, एउटा तामचीनको बाटा, एउटा ढाल र पुरानो प्रकारको चार बन्दुकहरू थिए । कोठामा एक दुई खाट पनि थियो । गाइडको भनाइअनुसार अध्यक्ष माओ र अरु सबै नेताहरूले पनि ती सामानहरू प्रयोग गर्नुहुन्थ्यो । ती साधारण सामान र हतियारहरू नै हुन् जसले अध्यक्ष माओ र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनतालाई मुक्त गरे । त्यस्तो साधारण सामानहरू र हतियार लिएर त्यत्रो सङ्घर्षको बाटोमा लम्केकोमा आश्चर्यभन्दा आदरको भाव मनमा उब्जन्छ । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो देश मुक्त गर्न कत्तिको दुःख झेलेको होला भन्ने कुरो यो कोठा हेरेर नै अनुमान गर्न सकिन्छ । एउटा परालको जुत्ता । बन्दुक खूब टल्केको थियो । यसको मतलब बन्दुकले धेरै लडाइँहरू लड्नुपरेको थियो ।
स्कूलको एउटा ठुलो भान्छाघर छ । त्यसमा पनि हामी पस्यौँ । स्कूलमा देशका हरेक भागका हरेक जातिका विद्यार्थीहरू हुन्थे । यस सामूहिक भान्छाघर पहाड र तराई, गर्मी र जाडो ठाउका सबै किसान कार्यकर्ताहरू आफ्ना आफ्ना चलनअनुसारका खाना खान्थे । अध्यक्ष माओ स्कूलका प्रिन्सिपलका रूपमा विद्यार्थीहरूको आफ्नो जातीय र स्थानीय खानामा बहुतै होसियार हुनुहुन्थ्यो ।
स्कूलको कक्षामा गयौँ । कक्षा ठुलै थियो । ३०० विद्यार्थीहरूलाई यसमा तालिम दिन्थे । प्राध्यापकहरू बस्ने सीट अलि उँचो गरी बनाइएको थियो । अलि उँचो गरी मञ्च जस्तो बनाइएको त्यस ठाउँमा एउटा ठुलो टेबुल र दुई तीन वटा मेचहरू राखिएको थियो । कक्षामा एउटा ठुलो बोर्ड थियो – बोर्डको माथि माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र डा. सन यात सेनका फोटोहरू टाँगिएका थिए । विद्यार्थीहरू (किसान कार्यकर्ताहरू) बस्ने स–साना मेच र डेक्सहरूले कक्षा भरिएको थियो ।
कक्षाको अगाडि सानो परेड खेल्ने चोक छ । त्यहाँ विद्यार्थीहरूलाई सैनिक शिक्षा दिइन्थ्यो ।
परेड चोकलाई पार गर्दै हामी एउटा ठुलो बैठकमा गयौँ । त्यस बैठकमा तालिम दिने शिक्षकहरू अथवा प्राध्यापकहरूका तस्बिर टाँगिएका थिए ।
पहिलो तस्बिर थियो का स्याङ छु नीको । उहाँ तालिम विभागका प्रधानहरूमध्ये हुनुहुन्थ्यो र चिनियाँ कम्युनिस्ट पार्टीको नेता पनि । १९२७ मा च्याङ काईशेकको षड्यन्त्रले उहाँ सहिद हुनुभयो ।
दोस्रो तस्बिर थियो – का छ्यु छ्यु पाइको । उहाँ कम्युनिस्ट पार्टीको सदस्य र चिनियाँ क्रान्तिकारी साहित्यकार लु शुनका साथी हुनुहुन्थ्यो । उहाँ १९३५ मा कोमिङताङ सरकारद्वारा मारिनुभयो । उहाँको निधनमा लु शुनले एउटा कविता लेख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *