भर्खरै :

देशभक्त पुँजीपतिहरूले विदेशी पुँजीपतिहरूको दलाली र प्रभावलाई रोक्नुपर्ने

देशभक्त पुँजीपतिहरूले विदेशी पुँजीपतिहरूको दलाली र प्रभावलाई रोक्नुपर्ने

मध्यपुर, २७ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा, मध्यपुर नगर समितिको आयोजनामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
प्रशिक्षण कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एकदिन सबै क्रान्तिकारी जनता मिलेर क्रान्ति गरी समाजवाद स्थापना गर्ने र त्यसलाइै कुनै पनि शक्तिले रोक्न सक्नेछैन भन्नुभयो ।
पुँजीवादी र प्रतिक्रियावादीहरूको प्रचार झूटा हुने चर्चा गर्दै उहाँले देशभक्त र राष्ट्रिय पुँजीपति वर्गसित मिलेर क्रान्ति गर्ने नेमकिपाको नीति रहेको बताउनुभयो ।
अध्यक्ष रोहितले देशभक्त पँुजीपतिहरूले विदेशी पुँजीपतिहरूको दलाली र प्रभावलाई रोक्न काम गर्ने प्रस्ट पार्नुभयो ।
विदेशी बैङ्कलाई रणनीतिक क्षेत्रमा स्थापना गर्न दिनु भनेकै देशको गोपनियता विदेशमा पठाई उपद्रव गराउनु हो भन्दै उहाँले विदेशी बैङ्कले देशलाई ध्वस्त पार्ने काम गर्नसक्नेतिर सचेत पार्नुभयो ।
पुँजीवादी सरकार पुँजीपतिहरूको हितमा काम गर्ने सरकार हुँदा व्यापक कामदार जनताको हित हुने काम नगर्ने प्रस्ट पार्दै अध्यक्ष रोहितले बाँसबारी छाला जुत्ता कारखानाबाट नेपालको प्रहरी, सेनाको जुत्ता निर्माण भइरहेकोमा पुँजीवादी सरकारले बन्द गराई सुरक्षा निकायको गोपनियता भारत पु¥याउने देशद्रोही कार्य गरेको बताउनुभयो ।
ऊर्जाशील युवाहरूलाई विदेशमा पठाई नेपाली कलकारखाना बन्द गरेको र देश युवाविहीन हुँदा नेपाली समाजमा सामाजिक व्यवस्था र संस्कारमा नै सङ्कट पैदा भएको औँल्याउँदै उहाँले विदेशी पुँजीको हातमा देशको उद्योगधन्धा सुम्पनु भनेको देशलाई गरिब बनाउनु र राष्ट्रघात गर्नु हो भन्नुभयो ।
प्राध्यापक समाज नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले नेपालको व्यापार घाटा नेपालको बजेट बराबर हुनु नराम्रो सङ्केत भएको उल्लेख गर्दै कम्युनिस्टको नेतृत्वमा रहेको सरकारले देशलाई जर्जर बनाएको स्पष्ट पार्नुभयो ।
मथिनपा–८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठले प्रतिबद्ध कार्यकर्ता तयार गर्न प्रशिक्षण आवश्यक भएको बताउँदै प्रशिक्षण अभाव भएका कार्यकर्ता पार्टी र सङ्घर्षमा टिक्न नसक्ने बताउनुभयो ।
शासक पुँजीवादी पार्टीहरूले पैसाको छेलोखेलो गरेर कार्यकर्ताहरूलाई स्वार्थी र भ्रष्टीकरण गरेको, सत्तासीन पार्टीहरूले पार्टी चलाउन र चुनाव जित्न भारतबाट पैसा लिएको बदलामा नेपालका नदीनालाहरू भारतलाई बुझाएको प्रमाणित भइरहेको छ भन्नुभयो ।
उहाँले राम्रो काम गर्न खोज्नेलाई प्रतिक्रियावादीहरूले अवरोध गर्नेे उल्लेख गर्दै त्यसविरुद्ध पार्टी कार्यकर्ताहरूले निरन्तर सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो ।
नेमकिपा, मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राध्यापक समाजका सदस्य सुनिल दुवालले ‘नेमकिपा स्थापनाको आधार’ विषयमा र इन्जिनियरिङ समाज नेपालका सचिव नरेश खत्रीले ‘कम्युनिस्ट घोषणापत्रमा के छ ?’ भन्नेबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष वीरकृष्ण प्रजापति र सचिव सुरेन्द्र था श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *