भर्खरै :

युक्रेनी सार्वभौम अमेरिकाको हातमा ?

युक्रेनी सार्वभौम अमेरिकाको हातमा ?

‘चोक्टा खान गएकी बुढी झोलमा डुबी मरी’ भन्ने उखानको अर्थ युक्रेनको अहिलेको अवस्थाले बुझ्न सजिलो बनाएको छ । सार्वभौमिकता रक्षाको लागि भनेर रुससँग युद्धमा होमिएको युक्रेन अहिले आएर सार्वभौम अमेरिकीको हातमा पुगेको छ । युक्रेनको सार्वभौमिकतामा यतिसम्म खिया लागेको छ कि आफ्नो सेना प्रमुख पनि अमेरिकाको मञ्जुरीमा मात्र नियुक्त गर्न सक्ने अवस्था आएको छ । युक्रेनी सेना प्रमुखको बर्खास्तगी पनि युक्रेनी जनतालाई भन्दा अमेरिकी जनतालाई पहिले थाहा भएको थियो । अमेरिकी पत्रिका वासिङटन पोष्टले युक्रेनी सेना प्रमुख हटाइने समाचार छापेपछि युक्रेनमा हल्लीखल्ली मच्चिएको थियो । हप्तौँसम्मको मिडियाबाजीपछि साँच्चै अमेरिकी पत्रिकाले भनेजस्तै केही दिनअघि मात्र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो सेना प्रमुख जालुज्नीलाई हटाएका छन् । युक्रेनको सुरक्षा सेवाले दङ्गा वा विद्रोह निम्त्याउन सक्ने चेतावनी दिँदा दिँदै पनि राष्ट्रपतिले बिहीबार सेना प्रमुखलाई बर्खास्त गरे । जालुज्नीको स्थानमा अलेक्जेन्डर सिर्सकीलाई नियुक्ति गरिएको छ ।
२०२३ को प्रत्याक्रमण (काउन्टर अफेन्सिभ) को असफलताका लागि दोषी ठहर गर्र्दै भ्यालेरी जालुज्नीलाई युक्रेनी सशस्त्र बलको कमान्डर–इन–चीफबाट बर्खास्त गरिएको थियो । खासमा अमेरिकाको अवज्ञा गरेको भन्दै युक्रेनका शीर्ष जनरललाई बर्खास्त गरिएको भनेर अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चर्चा छ । गत वर्ष रसियाविरुद्ध प्रत्याक्रमण कसरी गर्ने भनेर अमेरिकासँग विवाद भएदेखि नै जनरल भ्यालेरी जालुज्नीलाई अमेरिकाले मन पराएको थिएन । अनौपचारिकरूपमा जालुज्नीलाई गत वर्षको काउन्टर अफेन्सिभको समयमा अमेरिकासँग युक्रेनी असहमतिको लागि दोषी ठहराइएको थियो । युद्ध रणनीतिकारका अनुसार धेरै चर्चित प्रति आक्रामक (काउन्टर अफेनसिभ) नामको आक्रमणले कुनै पनि उद्देश्य हासिल गर्न नसकी ठुलो जनशक्तिको हानि निम्त्यायो । त्यसबेलादेखि अमेरिकी कठपुतली जेलेन्स्की र जालुज्नीबिच असहमति सार्वजनिक भएको छ ।
बेलायती र अमेरिकी सेनापतिहरूले युक्रेनको रुसमाथि ठुलो आक्रमणको निम्ति रणनीतिक सल्लाह दिएको थियो । तर, जालुज्नीले चार दिनको क्रूर लडाइँमा युक्रेनको ठुलो क्षतिपछि अमेरिकी रणनीतिलाई छोडेर युक्रेनीहरूले सोभियतकालकै युद्ध रणनीति रोजे । युक्रेनीहरू अमेरिकी सल्लाहमा मात्र चासो राख्दैनन् र हामीलाई सल्लाह दिने अमेरिकी र बेलायतीसँग कुनै पनि कुरा छैन भनेर जालुज्जनीले निष्कर्ष निकाले । अमेरिकाको धेरै सुझावलाई जालुजिनीले पछ्याएन । अमेरिकीहरूसँग यस प्रकारको युद्धको कुनै अनुभव थिएन । हुन पनि भियतनाम, अफगानिस्तान र कोरिया युद्धमा अमेरिकी असफल युद्ध रणनीति विश्व समुदायले देखिसकेकै हो ।
जेलेन्स्कीले सिरस्की नयाँ सेना प्रमुख किन बनाए ?
सर्पको मुखमा रहेको भ्यागुतोले कीरा खान नछोडेजस्तै आफ्नो मुलुक बर्बाद भइसकेको अवस्थामा पनि आगामी चुनावलाई ध्यानमा राखेर राष्ट्रपति जेलेन्स्कीले जालुज्जीनीलाई हटाएको अर्कोे तर्क पनि छ । एक युक्रेनी विश्लेषकका अनुसार जेलेन्स्कीले जालुज्नीलाई राष्ट्रपतिको लागि उम्मेदवार हुन चाहेको शङ्का पनि गरे जसलाई उनको बर्खास्त गर्नु राजनीतिक आवश्यकताको रूपमा हेरिएको थियो । युक्रेनमा जालुज्नीको लोकप्रियताले गर्दा जेलेन्स्कीले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीको रूपमा जालुज्नीलाई देखे । जालुज्नीको ठाउँमा नयाँ सेना प्रमुखको रूपमा रूसी जातको अलेक्जेन्डर सिरस्कीलाई नियुक्त गरे । जातीय हिसाबले रुसी भएकोले उनीबाट राजनीतिकरूपमा जेलेन्स्कीलाई कुनै खतरा छैन । त्यही भएर सेनाभित्र व्यापकरूपमा अलोकप्रिय रहेका सिरस्कीलाई जेलेन्स्कीले राजनीतिकरूपमा सुरक्षित ठानेका छन् । यो सबै पाटोलाई मध्यनजरमा राखेर सिरस्कीलाई नयाँ सेना प्रमुखमा छानिएको अनुमान छ ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भ्यालेरी जालुज्नीलाई पदबाट बर्खास्त गरेपछि बिहीबार सिरस्कीलाई सशस्त्र बलको नयाँ प्रमुखमा नियुक्त गरेका थिए । युक्रेनको नयाँ सशस्त्र सेना प्रमुख जनरल अलेक्जेन्डर सिर्सकी युक्रेनी सेनाको श्रेणीमा निकै अलोकप्रिय छन् । उनलाई सेनाको बलिदान गर्न इच्छुक ‘कसाइ’ को रूपमा हेर्छन् । युक्रेनको नयाँ सेना प्रमुख एक अलोकप्रिय ‘कसाइ’ हुन् । सेना प्रमुख अलेक्जेन्डर सिरस्कीबाट सेनाहरू सावधान छन् र कहीँ उसले जवानहरूलाई ‘निष्फल हमला’ मा फ्याँक्ने त होइन भनेर सेनाहरूमा डर छ ।
गत वर्ष बाखमुतको असफल युद्ध रणनीतिकार सिरस्कीकै कारण युक्रेनले ठुलो क्षति व्यहोर्नुपरेको थियो । उक्त युद्धमा सेनालाई मासुको चोक्तामात्र ठानेर हुलका हुल सेनालाई विपक्षी आगोमा झोस्न आदेश दिने कमान्डरको रूपमा सिरस्कीको कुख्यातिले गर्दा युक्रेनी तल्लो दर्जाका सेनाले उनलाई ‘कसाइ’ उपनाम दिएको हो । सेनाको कर्तव्य युद्धमा डटेर लड्नै हो तर यो सत्य हुँदाहुँदै पनि कमान्डरको कर्तव्य आफ्ना मातहतका सेनाको न्यून क्षतिको प्राथमिकता पनि हुनुपर्छ । तर, यो कुरालाई बेवास्ता गर्दै विपक्ष सेना मजबुत रहेको अवस्थामा पनि तल्लो दर्जाका सेनाको ज्यानलाई जुवामा दाउ हालेजस्तै खेल्ने सिरस्कीको नियुक्ति धेरै विवादास्पद छनोट र खराब निर्णयको रूपमा युक्रेनी सेनाभित्रै लिने गरेको छ । एकै ठाउँमा २ सय जवानलाई विपक्ष सेनाको मजबुतीलाई आकलन नै नगरी शत्रु सेनासामु पठाएर मार्न लगाएको घटनालाई इङ्गित गर्दै युक्रेनी सिपाहीहरूले उनलाई ‘जनरल २००’ भनेर सम्बोधन गर्छन् । युक्रेनी सेनाबिच सिरस्कीको नेतृत्व निराशाजनक मानिन्छ । “उनको उपस्थिति वा उनको नामबाट आउने आदेशहरू निराशाजनक हुँदा सामान्यरूपमा कमान्डमाथिको विश्वासलाई कमजोर पार्छ । यसले हाम्रो बहुमूल्य मानव संशोधनलाई समाप्त पार्छ,” एक युक्रेनी सैन्य अधिकारीले भनेका छन् । यस दृष्टिकोणले सेनाको अमूल्य जीवन समाप्त गर्ने निष्फल हमलाको कहिल्यै अन्त्य नहुने चक्र सिर्जना गर्दछ । आफू मरेपछि डुमै राजाको पारामा जेलेन्स्कीले आफ्नो सत्ता जोगाइदिने आशमा यस्तै कसाइलाई सेना प्रमुखमा नियुक्ति गरेको हुनुपर्छ । आफू नबच्ने भए देश र सेनालाई पनि जेसुकै होस् भन्ने जेलेन्स्कीको विचार हुनुपर्छ ।
फेब्रुअरी २०२२ मा युद्ध सुरु भएदेखि युक्रेनले ३,८३,००० भन्दा बढी मानिस गुमाएको सिरस्कीले मानसिक थकान र मनोवैज्ञानिकरूपमा हार महसुस गरेको सेनालाई इङ्गित गर्दै “जोसुकै सेना प्रमुख भए पनि युद्धको मैदानमा युक्रेनको स्थितिमा द्रुत सुधार सम्भव छैन” बर्खास्त हुनुअघि जालुज्नीले जेलेन्स्कीलाई चेतावनी दिएको थियो भने अर्कोतिर “युक्रेनविरुद्ध रुसको अभियान सिर्सस्कीको नियुक्तिबाट प्रभावित हुने छैन र रुसले आफ्नो उद्देश्य हासिल नभएसम्म जारी रहने” भन्ने रुसका प्रवक्ताको भनाइबाट रुस–युक्रेन युद्ध निकट भविष्यमा समाप्ति होला भनेर आशा गर्न सकिने ठाउँ छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *