भर्खरै :

सरकारहरूले के गर्नुपथ्र्याे र नगर्दा के भयो ?

देशमा आमूल परिवर्तनको अर्थ कुनै व्यक्तिलाई गद्दीमा राख्नु होइन बरु समाजमा नयाँ सकारात्मक हेरफेर ल्याउनु हो । जनताले आशा गरेका केही विषय निम्न छन् –
(क) शिक्षा र स्वास्थ्य सबै जनताले सजिलै पाउनेछन् ।
(ख) रोजगारको निम्ति व्यक्तित्व विकास गर्न समान अवसर पाउनेछन् ।
(ग) हरेक क्षेत्रमा योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउनेछन् ।
(घ) उत्पादनका साधनहरू (उद्योग, कलकारखाना) सीमाभन्दा बढी भूमि जोताहा किसानले जोत्न पाउनेछन् ।
(ङ) देशको उद्योगधन्दाको विकास गर्न देशभक्त साहुमहाजनलाई अर्थात् राष्ट्रिय पुँजीपतिवर्गलाई अगाडि बढाउनेछ ।
(च) आफ्नै देशमा हरेक साल युवाहरूलाई स्वदेशमै रोजगार दिनेछ ।
(छ) सहकारी संस्थाहरूको स्थापनापछि कृषि उत्पादन बढाउन सामूहिक खेती र ठुलो आकारको खेतीलाई विकास गर्नेछ ।
(ज) शिक्षालाई उत्पादन श्रमसँग मिलाउनेछ ।
(झ) गोर्खा भर्तीकेन्द्र र अन्य असमान सन्धि–सम्झौता खारेज गरिनेछ ।
(ञ) ६७ ठाउँमा भारतसँगको सीमा विवादलाई मित्रतापूर्ण र शान्तिपूर्ण छलफलबाट सल्टाउनेछ ।
तर, ती जनताका इच्छा र आकाङ्क्षालाई सरकारले उच्चारणसम्म गर्न चाहेनन् । जनताले वर्षाैँदेखि सरकारहरूलाई मत दिएर सहयोग गरेका थिए । तर, परिणाम उल्टो भयो । किन ?
(१) सार्वजनिक विद्यालयहरूमा विद्यार्थी छैनन् र निजी विद्यालयहरूमा खचाखच विद्यार्थी छन् । सरकारी विद्यालयका शिक्षकहरू धेरैजसो सरकारी नियुक्ति वा शासक दलहरूले अयोग्य र अल्छी शिक्षकहरू नियुक्ति गरेका थिए । यसकारण, सरकारी विद्यालयहरू बन्द हुँदै गए । यसमा शासकहरू नै दोषी छन् ।
(२) रोजगारीको निम्ति सबै योग्य र उमेर पुगेका बिनापक्षपात जिल्ला–जिल्लामा तालिम चलाएको भए पक्षपात हुने थिएन । सबै क्षेत्रका युवाहरूले काम पाउँथे र सीप सिकेर उत्पादन कार्य र निर्माण कार्यमा लाग्थे ।
(३) योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिएको भए सरकारले दिएको काम राम्रो हुन्थ्यो र सडक र सरकारी भवन, चोक र विद्यालयहरू सुन्दर र बलियो हुन्थ्यो । युवाहरूले निरन्तर काम पाउँथे । सरकारको भर नहुँदा सबै विदेश गए ।
देशका अस्पतालहरूमा डाक्टरहरू छैनन्, सरकारले खाली ठाउँमा डाक्टरहरूको नियुक्ति दिएको भए डाक्टरहरू बिदेसिने थिएनन्, त्यस्तै स्थिति नर्सहरूको पनि छ । समयमा उपचार नपाउँदा गाउँ र जिल्लाका रोगीहरू मर्दै छन् ।
(४) सरकारी उद्योगहरू छाला तथा जुत्ता कारखाना, भृकुटी कागज कारखाना, कृषिऔजार कारखाना, चिनी कारखाना, इँटा टायल कारखाना, ट्रली बस, जनकपुर चुरोट कारखाना आदि एसियाका राम्रा राम्रा कारखानाहरू सबै निजीकरण गर्दै बेच्दै गए – कौडीको मोलमा । अनि कामदार जनता बेरोजगार भए ।
(५) देशभक्त र इमानदार साहुमहाजनहरूलाई व्यापार र उद्योगको विकास गर्न दिएको भए पनि धेरैले काम पाउँथे ।
(६) सहकारीको कमीकमजोरी हटाएर खेती उत्पादन, कुटीर उद्योग र घरेलु उद्योगमा लगानी गर्न दिएको भए सहकारीहरू अरबौँ रकम लिएर भाग्ने अवसर पाउँदैनथे, शेयर धनी जनतालाई दुःख पनि हुँदैनथ्यो । कृषिमा देश आत्मनिर्भर हुने थियो । कुटीर व्यवसाय र घरेलु उद्योग फस्टाउने थियो र धेरैले रोजगारी पाउने थिए ।
(७) शिक्षालाई उत्पादन श्रमसँग मिलाएको भए युवाहरूले पढ्नुको साथै आ–आफ्नै रोजगार श्रृजना गर्थे, गाउँ र जिल्लामा खेत बाँझो हुँदैनथ्यो ।
(८) गोर्खा भर्ती र असमान सन्धिहरू खारेज भएको भए, देशको इज्जत बढ्ने थियो – सबै देशले नेपालसँग राम्रो व्यवहार गर्थे ।
(९) भारतसँगको विवादित सीमा मित्रवत् र शान्तिपूर्ण समानस्तरमा समाधान भएको भए चोरी निकासी, अपराध, नक्कली नोट र लागूपदार्थको आयातजस्ता अपराधको काममा नियन्त्रण हुँदै जान्थ्यो ।
(१०) सीमाका समस्याहरूका यी सबै कामहरू युवाहरूलाई काम लगाउन पाउने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *