भर्खरै :

सबै भाषा र संस्कृतिको संरक्षण गर्नु जरुरी

सबै भाषा र संस्कृतिको संरक्षण गर्नु जरुरी

काठमाडौँ । काठमाडौँ टोखाको क्वने लाछी टोलमा १७ औँ नेपालभाषा साहित्य तःमुंज्या सोमबार सम्पन्न भयो । नेपालभाषा साहित्य तःमुंज्या टोखाको आयोजना र बाल विकास क्लव टोखाको सहआयोजनामा १७ वर्षदेखि हरेक वर्ष फागुन ७ का दिन साहित्य सम्मेलन हुँदै आएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भाषा र संस्कृति मानव जातिको सभ्यता विकासको सिलसिला भएको धारणा राख्दै सरकारले सबै भाषा र संस्कृतिको संरक्षण गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भाषा र संस्कृतिलाई सरकारले काखापाखा गर्न मिल्दैन । सरकारले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, स्वास्थ्य उपचार निःशुल्क र स्वदेशमा रोजगारी दिनु आवश्यक छ ।”
“ख्वप विश्वविद्यालयको स्वीकृति नदिने सरकारहरू देश र जनताको हुनेछैन । कृषिमा आत्मनिर्भर बनाउनुपर्ने सरकारहरू दाल, चामल, तरकारीसमेत भारतबाट आयात गर्दै छन् । गोर्खा भर्तीबाट नेपाली युवालाई विदेश पठाउन सुरु गरिएको थियो । अहिले युक्रेन, रुस, इजरायल, फ्रान्स, अमेरिकालगायत देशको सेनामा नेपाली युवालाई पठाइँदै छन् । ८० लाख युवाहरू विदेश पठाएर नेपालको विकास कसरी हुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “प्रजातन्त्रको अर्थ आर्थिक समानता र आर्थिक न्याय हो । १० प्रतिशत धनीहरूसँग ९० प्रतिशत गरिबहरूको भन्दा कैयौँ गुणा बढी सम्पत्ति र भूमि रहेको छ ।”
“सरकारमा गएकाहरूले नै मेलम्ची, ललिता निवास, गिरिबन्धु, बाँसबारीलगायतको सरकारी जग्गा भ्रष्टाचार गरेको सार्वजनिक भयो । सहकारी पीडित, मिटरब्याज पीडित र लघुवित्त पीडित जनता आन्दोलनमा छन् । सरकारले गरिब जनताको समस्या समाधान गर्न सकेको छैन”, उहाँले भन्नुभयो ।
विदेशी पुँजी ल्याउनको लागि लगानी सम्मेलन गर्न स्रोत नखुेलको सम्पत्तिमा अलिकति कर तिराएर वैध बनाउने कानुन पारित गरियो । विदेशी पुँजीसँगै देश नवउपनिवेश हुनेछ । विदेशी पुँजीले नेपाली युवालाई हाम्रै देशमा शोषण गर्ने बाटो खुल्नेछ । देश बेच्ने भनेको माटो उठाएर लाने होइन । विदेशी पुँजीले नवउपनिवेश बनाउनु, विदेशी कानुन र नीति मान्नुपर्ने एमसीसी सम्झौता गर्नु र नेपालको जलस्रोत भारतीय कम्पनीहरू एमआर र सतलजलाई कब्जा गर्न दिनु देश बेच्नुजस्तै हो, सांसद सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “लुम्बिनीमा ध्यान गर्न आएका भारतीय प्रम मोदीलाई तत्कालीन प्रम शेरबहादुर देउवाले अरुण चौथो प्रसाद दिएर पठाए । गएको जेठमा भारत गएका प्रम दाहालले फुकोट कर्णाली मोदीलाई दिए । देशको सन्तुलित विकास गर्न प्रम, मन्त्री र सांसदहरू आ–आफ्नो जिल्लामा जनतासँगै बस्नुपर्ने, बसाइँसराइ गर्न नपाउने कानुन जरुरी छ । निर्वाचनमा सामान र पैसा बाँडेर, भोज खुवाएर धेरै भोट ल्याउने उम्मेदवार र पार्टीलाई कारबाही हुने कानुन जरुरी छ ।”
सचिव सुवालले थप्नुभयो, “युक्रेनमा रुसविरुद्ध अमेरिकाले छद्मयुद्ध गरेको हो । प्यालेस्टिनमा इजरायली फासीवादलाई अघि सारेर अमेरिकी साम्राज्यवादले प्यालेस्टिनी भूमि कब्जा र जातीय नरसंहार गर्दै छ ।”
उहाँले भन्नुभयो, “भारतीय कामदार जनता र अमेरिकी कामदार वर्गका जनता नेपाली कामदारवर्गका मित्र नै हुन् । भारतीय एकाधिकार पुँजी र विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद विश्वकै कामदारवर्गका जनताका शत्रु हुन् ।
स्थानीय ज्येष्ठ नागरिक कृष्णलाल डंगोलले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । नेपालभाषा साहित्य तःमुंज्या टोखाका अध्यक्ष काशीलाल डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाई, नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन र कृष्णकुमार वैद्य, नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनुराधा थापामगर, जलस्रोतविद् रतन भण्डारी, नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरका श्रीकृष्ण महर्जनलगायतले मन्तव्य राख्नुभएको त्यस्तै ख्यातिप्राप्त कवि राजभाइ जकमी, टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, टोखा ३ का वडाध्यक्ष रमेश डंगोल, बाबुलाल डंगोल, नेवा सम्पदा समाजका रमेश नापित, सांस्कृतिक सम्पदा संरक्षण समितिका गणेशमान श्रेष्ठले पनि बोल्नुभएको थियो । सम्मेलनमा स्थापित र नयाँ साहित्य सर्जकहरूले रचना वाचन गर्नुभएको थियो । साँझ सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *